नरेश यादव, पर्सागढी, ४ जेठ/
बुधवार राति वर्षा भएपछि किसानहरू खुसी भएका छन् । वर्षा भएपछि खेतबारी, चौपाया र आँपलाई फाइदा पुगेको छ ।
चर्को घाम लागेको बेला आँपको टिकोरा सानो हुँदा ओइलिएर झर्ने गरेको थियो तर बुधवार राति वर्षा हुँदा रूख भिजेको र यसले टिकौरालाई फाइदा पुगेको एकजना किसानले बताए । त्यस्तै वर्षाले भुसुना, कीराको प्रकोप पनि कम गराएको छ ।
माछा उत्पादन गर्ने किसान जयकिशोर चौरसियाले वर्षा भएपछि पोखरीको पानी चीसो भएको र यसले माछालाई फाइदा पुगेको बताए । उनले पानी नपर्दा पोखरीको माथिल्लो भागको पानी तातो भइरहन्थ्यो जसले गर्दा माछालाई समस्या हुने र उनीहरू पोखरीको तल गएर बस्ने गरेको बताए । माछा तीन तहमा बस्छन् र चर्को घामले पानी तातेको बेला माछाहरू पोखरीको सतहमा बस्ने भएकोले मर्ने सम्भावना बढी हुन्छ । कुलो र बोरिड्ढो सुविधा हुने किसानहरूले कुलो/बोरिड्ढो पानी प्रयोग गर्छन् । उनले कुलो/बोरिड्ढो पानीभन्दा वर्षाको पानीले माछालाई फाइदा पुग्ने गरेको बताए ।
चैतेधान लगाएका किसान आलोककुमार सिंहले वर्षाले अब धानको डाँठ बढ्नुको साथै बाली हरियो देखिने र मल प्रयोग गर्दा काम गर्ने बताए । कुलो र बोरिड्ढो पानीबाट सिंचाई गर्दा जरा मात्र हरियो देखिने तर पात पहेंलो हुने गरेको बताए ।
पशुपालक अकबर देवानले वर्षा भएपछि सरेहमा नयाँ घाँस उम्रिने र गाईलाई एकै ठाउँमा बाँधेर चराउन सकिने बताए । उनले भैंसीलाई धेरैगर्मी हुने भएकोले उनीहरूलाई डुलाएर चराउनुपर्ने बताए । वर्षाले खोलामा पानी बढाएकोले भैंसीलाई नुहाउन पनि सजिलो भएको बताए ।
वर्षाले मकैबालीमा पनि फाइदा पुर्याएको छ । मकैमा दूधेदाना लागिसकेको हुँदा वर्षाले दाना पुष्ट हुने र नसुक्ने तथा उत्पादन पनि बढ्ने बताए । त्यस्तै वर्षाले तरकारी खेतीलाई पनि निकै फाइदा पु¥याएको छ ।
वर्षा नहुँदा ग्रामीण क्षेत्रका अधिकांश कच्ची सडक धूलाम्य हुने गरेकोमा अहिले सफा देखिएको छ । किसानहरूलाई हावाहुरी र असिनासँग मात्र चिन्ता लाग्छ, वर्षा भएपछि उनीहरू खुशी हुन्छन् ।