- सञ्जय साह मित्र
अहिले देशको बजेट धमाधम निर्माण भइरहेको छ । बजेट निर्माण भइरहँदा सबैतिरबाट बजेटमा केही कटौती भइरहेको खबर आइरहेको छ । सरकारले पनि चालू आर्थिक वर्षको भन्दा केही कम बजेट आउने बताइसकेको छ । देशमा राजस्व सङ्कलन कम भएको पाइएको छ । यद्यपि रेमिटान्समा केही वृद्धि भएको पाइएको छ । लगातारको सुख्खाले पनि नेपाली अर्थतन्त्रमा केही हदसम्म प्रभाव पारेको देखिएको छ । चालू आर्थिक वर्षको बजेटको विकासतर्फ निकै कम बजेट खर्च भएको छ । अहिले पछिल्लो समयमा गाउँँमा विकासको बजेट खर्च भइरहेको देखिएको छ । विभिन्न सानादेखि ठूला परियोजनाको शिलान्यास भइरहेका खबरहरू आइरहेका छन् । र अब अर्थतन्त्र केही चलायमान होला भन्ने आशा जागेको छ तर पनि सर्वसाधारण नागरिकलाई अर्थतन्त्रमा तत्काल कुनै चमत्कार भइहाल्ला भन्ने लागेको छैन ।
नेपाल आफैंमा एउटा विशिष्ट देश हो । पूर्व, दक्षिण र पश्चिमतिरबाट भारत र उत्तरतिरबाट चीन रहेको यस देशको सीमाना भारतसित खुला छ । खुला सीमाना भएको कारण नेपाल कहिल्यै पनि श्रीलङ्का हुन सक्दैन भन्ने मान्यता बुद्धिजीवीहरूको रहेको छ । श्रीलङ्का जलपरिवेष्ठित देश हो । श्रीलङ्काको चारैतिर समुद्र छ तर भारतसित सीमाना जोडिएको नेपालको भूभागमा दुवै देशका नागरिकबीच आफ्नै किसिमको सम्बन्ध रहेको छ । यसले गर्दा नै बेटीरोटीको सम्बन्ध भन्ने गरिएको हो । जति धेरै नियन्त्रण गरे पनि नेपालबाट भारततिर र भारतबाट नेपालतिर सामानको अनौपचारिक निर्यात आयात भइ नै रहेको छ वा भइ नै रहन्छ । पूर्णतः यस कारण पनि रोक्न सकिंदैन कि यहाँको भूगोल र जनस्तरको सम्बन्ध अद्वितीय छ । सीमावर्ती क्षेत्रका सर्वसाधारणमा अझै पनि कतिपय अवस्थामा दुर्ई देशका हौं भन्ने भावनाभन्दा एकले अर्कालाई सहयोग गर्ने प्रवृत्ति रहेको छ ।
पछिल्लो समयमा श्रीलङ्कामा आर्थिक सुधार भइरहेको बताइएको छ । केही सूचकहरूले गर्दा श्रीलङ्कामा आर्थिक सुधार भइरहेको बताइएको छ । पहिलेभन्दा पर्यटकको सङ्ख्या बढेको छ । साथै शान्ति सुव्यवस्थामा व्यापक सुधार भएको छ । अब धेरै लामो लाइन बस्नु नपरेको देखिएको छ । अत्यन्त आवश्यक पदार्थको आपूर्ति बिस्तारै सहज भएको छ । यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेकोबाट पनि श्रीलङ्का अब बिस्तारै दुःखको दिनबाट पार पाउँदै गएको मान्न सकिन्छ । आइएमएफका एशिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा व्यवस्था अन्तर्गत समर्थित सुधार कार्यक्रम अन्तर्गत बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको बताएका छन् । आइएमएफले विस्तारित कोष सुविधा व्यवस्था अन्तर्गत श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न करीब तीन अर्ब अमेरिकी डलरको सुविधा अनुमोदन गरेको छ । यस योजनामा चार वर्ष लाग्ने बताइएको छ । श्रीलङ्कामा भइरहेको सुधारको प्रशंसा गर्दै आइएमएफले सरकार र श्रीलङ्काली जनताको बलियो स्वामित्वमा सुधारको गतिलाई अझ व्यापकरूपमा जारी राख्न आवश्यक रहेको बताएको छ । सुधारबाट प्राप्त कठिन लाभ श्रीलङ्काको जनतालाई फाइदा पुग्ने किसिमको रहेको र अझ सुदृढ गर्दै भ्रष्टाचारविरोधी र शासन सुधार आवश्यक रहेको आइएमएफले उल्लेख गरेको छ ।
आइएमएफले श्रीलङ्कामा सुधार भइरहेको बताएसँगै भ्रष्टाचारविरोधी र शासन सुधार आवश्यक रहेको बताउनुको अर्थ हो कि आइएमएफले चाहेजस्तो सुधार हुन अझै बाँकी छ । हुनत श्रीलङ्का निकै कठिन दिनबाट गुज्रेको छ । अहिले विश्वमा आर्थिकरूपमा टाट पल्टेको देशको उदाहरण दिनुपर्दा सबैले श्रीलङ्काकै उदाहरण दिइरहेका छन् । श्रीलङ्कालाई धेरै देशले सहयोग गरेका छन् र गरिरहेका छन् पनि । यस्तै अन्तर्राष्ट्रिय निकायहरूले पनि श्रीलङ्कालाई आर्थिक तथा नैतिक सहयोग गरेका छन् । श्रीलङ्कापछि सर्वसाधारणले पाकिस्तानको आर्थिक अवस्थाको चर्चा गरिरहेका छन् । भारतीय मिडियाहरूले श्रीलङ्काको आर्थिक अवस्था निकै कमजोर भइसकेको र झन् राजनीतिक अस्थिरताले अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको बताएका छन् । पछिल्लो केही हप्तामा पाकिस्तानमा भइरहेको राजनीतिक गतिविधिले त्यहाँको अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव पारेको हुनुपर्छ किनभने लाखौं जनता सडकमा आएको छन् र एक पक्षले देशमा ठूलो विध्वंस मचाएको छ । काम छोडेर सडकमा आउनु तथा सरकारी सम्पत्ति तोडफोड र आगजनी भएको देखिनुले अन्ततः अर्थतन्त्रमा नै प्रभाव पर्ने देखिएको छ । के बताइएको छ भने पाकिस्तानमा महँगी निकै बढेको छ । सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु खरीद गर्न मुश्किल परिरहेको बताइएको छ ।
उता रूस र युक्रेन समस्याले पनि नेपाली अर्थतन्त्रलाई प्रभाव पारेको बताइएको छ । रूस र युक्रेनको समस्याले खाद्यान्न र इन्धन महँगो भएको कुरा सर्वविदितै छ । दुर्ई देशबीचको समस्या समाधान नहँुदा महँगीको असर विश्वमा नै परेको छ । श्रीलङ्कादेखि नेपालसम्म पनि यसको असर परेको सबैले बुझेकै छौं । किनेर खाने वर्गको लागि दुर्ई देशबीच समस्या उत्पन्न हुनुभन्दा पहिले र अहिलेको खाद्यान्नको मूल्यमा तुलना गर्ने हो भने त्यति बेलाको धरातलमा अनुमान गर्नै सकिंदैनथ्यो । यसैगरी इन्धनको मूल्य जुन रूपमा लगातार बढेको थियो त्यो पनि अकल्पनीय थियो । इन्धन र खाद्यान्न दुवै एकापसमा जोडिएका पनि छन् ।
खाद्यान्नको उत्पादनमा लागत बढेको छ र ढुवानी पनि बढेको छ । अन्य सामानको मूल्यमा पनि निकै वृद्धि भएको छ । कोरोनाले राम्ररी नउकासिएको समयमा रूस र युक्रेनको समस्याले झन् थलिएको माथि मुङ्ग्रो प्रहार भएको यथार्थ हो । हुनत कोरोनाकै प्रभावले श्रीलङ्का बढी थलिएको हो । आन्तरिक खाद्यान्न उत्पादन कम भएको र कोरोनाको कारण पर्यटकीय गतिविधि पूर्ण ठप्प भई आयात–निर्यात प्रभावित हुँदा श्रीलङ्कामा गहिरो समस्या उत्पन्न भएको थियो । श्रीलङ्काका मित्र राष्ट्र, सहयोगी देश तथा विभिन्न सङ्घसंस्थाले पनि श्रीलङ्कालाई धेरै किसिमले सहयोग गरेका थिए । अहिले पनि सहयोग जारी नै छ । श्रीलङ्का विस्तारै समस्याबाट उब्रिरहेको देखिएको छ । श्रीलङ्काभन्दा नेपालको भौगोलिक स्थिति उत्पादनको दृष्टिकोणले पनि केही फरक छ । नेपालमा खाद्यान्न उत्पादन हरेक वर्ष बढ्दै गएको पाइएको छ । पछिल्लो समयदेखि नेपालको तराई–मधेसमा मकै खेतीको विस्तार भएको छ । साथै विद्युतीय सिंचाइको पहुँच र सुविधा राम्रो भएको ठाउँमा चैते धान खेतीको पनि व्यापक विस्तार भएको छ । गत पाँच वर्षमा यति बेला उत्पादन हुने मकै र यतिबेला लगाइने धानको खेतीमा निकै धेरै विस्तार भएको छ । अलिकति विद्युत् सुविधा किसानलाई उपलब्ध गराउने हो भने नेपालमा खाद्यान्न सङ्कट आउन नसक्ने पनि किसानहरू बताउँछन् । अब समय आइसकेको छ कि कुनै पनि महीनामा खेत खाली हुँदा किसानमा छटपटी हुन्छ । मकै, धान, गहुँबारे पनि व्यावसायिक उत्पादनको दृष्टिकोणले किसानहरूले हेर्न थालेका छन् ।
अहिले विदेशबाट रेमिटान्स पनि पर्याप्त आइरहेको छ । हुनत आफ्नो नागरिकलाई विदेशमा काम गर्न पठाएर आफ्नो देश समृद्ध हुन सक्दैन भनिन्छ तर वर्तमान अवस्थामा देशमा कहाँबाट बढी आर्थिक लाभ प्राप्त हुन्छ त्यो महत्वपूर्ण कुरो हो, यदि त्यस्तो गतिविधि राष्ट्रियताविरुद्ध छैन भने । हो, माथि नै चर्चा भइसकेको विश्व आर्थिक मन्दीको प्रभाव नेपालमा पनि परिरहेको अवश्य हो तर नेपाल छिटै उकासिनेमा पनि शङ्का छैन । अहिलेको समयमा देशभित्रको उद्योग व्यवसायमा केही प्रभाव देखिएको छ, सर्वसाधारणको हातमा खासै पैसा छैन तर देशमा त्राहिमामको अवस्था भने कुनै पनि क्षेत्रमा छैन । विदेशमैं भए पनि रोजगारका लागि जान सक्षम छन्, स्वदेशमा उत्पादन बढाइरहेका छन् । लामो समयदेखि पानी नपरेको कारण खेत जोत्नै नसक्ने गरी अररो भएको छ, यसमा सर्वसाधारणको दोष हुन सक्दैन । पानी नपरेर कतिपय बाली सुक्न थालेको छ, फलफूल उत्पादन अपेक्षा अनुसार हुने सम्भावना अब कम हुँदैछ । यस्ता कुरामा सर्वसाधारणले केही गर्न सक्दैनन् । यदि अझै एक दुर्ई हप्ता पानी परेन भने मुख्य गरी तराई–मधेसमा अहिले लगाइसकेको बालीको उत्पादनमा निकै कमी आउने सम्भावना बढ्दैछ । आखिरमा खडेरीको असर पनि त पर्ने अर्थतन्त्रमा नै हो । यद्यपि धानको रोपाइँदेखि बाली पसाउने मुख्य समयमा वर्षा हुने र किसानले यसबाट लाभ लिने आशा राखेकै छन् ।
श्रीलङ्काली कृषिको आफ्नै विशिष्टता छ । विस्तारै कृषि उत्पादन त्यहाँ पनि लयमा आउँदै छ । हाम्रो देशको अर्थतन्त्रका अन्य सूचकहरूमा पनि सुधारको लागि सरकारले काम गरिरहेको छ । एउटा कुरा निकै विचारणीय के छ भने देशका राजनीतिज्ञदेखि सर्वसाधारणसम्ममा देशको अर्थतन्त्रबारे चिन्ता र चासो छ । यसबाट यो कुरा एकदमै स्पष्ट हुन आउँछ कि सबैले देशको अर्थतन्त्र खराब नहोओस् र अहिलेको भन्दा अझ राम्रो हुँदै जाओस् भन्ने अपेक्षा गरेका छन् । देशको अर्थतन्त्रप्रतिको यो अपेक्षाले हरेकले केही न केही आफ्नो तर्फबाट गर्नुपर्छ भन्ने रहेको देखाउँछ । देशको अर्थतन्त्र प्रगतितिर जाओस् भन्ने सबैको अपेक्षा रहेको छ ।