- बैधनाथ श्रमजीवी
साङ्ख्य द्वैतवादी दर्शन हो । यसका अनुसार दुर्ईवटा आधारभूत तत्व हुन्छन् – एउटा प्रकृति र अर्काे पुरुष र यिनै दुर्ई तत्वको योगबाट यो सृष्टि बनेको छ । पुरुष चेतन, निष्क्रिय र अपरिवर्तनशील छ भने प्रकृति अचेतन, सक्रिय र परिवर्तनशील छ । पुरुष सत्, रज र तमबाट शून्य छ भने प्रकृति सत्, रज र तमबाट अलङ्कृत छ । त्यसकारण पुरुषलाई त्रिगुणातीत र प्रकृतिलाई त्रिगुणीय मानिन्छ । पुरुष अनेक र प्रकृति एक छ । पुरुष ज्ञाता हो भने प्रकृति ज्ञानको विषय हो । पुरुष कार्यकारणबाट मुक्त छ भने प्रकृति कारण हो । पुरुष विवेकी छ भने प्रकृति अविवेकी छ । पुरुष भोक्ता हो भने प्रकृति भोग्या । पुरुष अपरिणामी नित्य छ भने प्रकृति परिणामी नित्य । पुरुष अपरिवर्तनशील छ तर प्रकृति चञ्चल र परिवर्तनशील छ । प्रकृति जड भएकोले चेतनतत्व वा पुरुषविना यसमा कुनै क्रिया हुँदैन । पुरुष केवल चेतन भएकोले जड माध्यमविना कुनै क्रिया गर्न सक्दैन । त्यसकारण सृष्टिको रचनामा प्रकृति र पुरुषको संयोग अति आवश्यक हुन्छ ।
प्रकृति विश्वको मूल कारण हो तर यो स्वयं कारणविहीन छ । प्रत्येक वस्तुको कारण हुन्छ तर प्रकृतिको कुनै कारण छैन । यो आदि कारण हो । यो सृष्टिभन्दा पूर्व (प्रंकृति) हो । प्रकृति मूलतः भौतिक पदार्थ भएकोले यसलाई जड र अचेतन भनिन्छ । प्रकृतिलाई अव्यक्त भनिन्छ । प्रकृति विश्वको आदि कारण भएकोले नै विश्वका सबै पदार्थ प्रकृतिमा अव्यक्त रूपले विद्यमान रहन्छ । त्यसकारण प्रकृतिलाई अव्यक्त भनिन्छ । प्रकृतिलाई प्रधान मानिन्छ किनकि यो विश्वको मूलभूत कारण हो । यो स्वयं स्वतन्त्र छ तर प्रथम कारण भएकोले विश्वका समस्त वस्तु यसमा आश्रित हुन्छ । प्रकृतिलाई ब्रह्म भनिन्छ । विकास हुने कुरालाई ब्रह्म भनिन्छ । प्रकृति भिन्न–भिन्न पदार्थबाट स्वयं विकसित हुन्छ । त्यसकारण यसलाई ब्रह्म भनिन्छ । प्रकृतिलाई अजा भनिन्छ किनकि यो अनुत्पन्न छ र यसको कुनै कारण छैन । यो सम्पूर्ण जड जगत्को कारण हो तर यसको कुनै कारण छैन । प्रकृतिलाई शक्ति भनिन्छ किनभने यो सदैव गतिशील रहन्छ ।
प्रकृति कुनै पनि अवस्थामा निरन्तर गतिशील देखिन्छ । प्रकृतिलाई अनुमान भन्न सकिन्छ । यसको सत्ताको ज्ञान प्रत्यक्ष, आदि प्रमाणबाट नभएर केवल अनुमानबाट हुन्छ । प्रकृतिलाई माया भनिन्छ । मायाको कार्य वस्तुहरूलाई सीमित गर्नु हो । प्रकृतिले जगत्का समस्त वस्तुलाई सीमित गर्दछ । किनभने यो कारण हो र जगत्का समस्त वस्तु कार्य हुन् । कारणले कार्यलाई सीमित गर्दछ त्यसकारण भिन्न–भिन्न वस्तुलाई सीमित गरेकोले यसलाई माया भनिएको हो । प्रकृतिलाई अविद्या भनिन्छ किनकि यो ज्ञानको विरोधी हो । सांख्य दर्शनले विश्वको मूल कारण जान्ने प्रयासमा प्रकृतिको सत्ताको अनुमान गर्दछ । प्रकृति संसारका समस्त वस्तु विकसित हुने तŒव हो । सम्पूर्ण विश्व प्रकृतिकै परिणाम हो । प्रकृति एक छ, त्यसकारण त्यसबाट विश्वको व्यवस्थाको व्याख्या हुन्छ । विश्वमा स्थूल र सूक्ष्म गरी दुर्ई प्रकारका वस्तु छन् । भौतिक शरीर, जल, माटो, नदी, वृक्ष, पर्वत, आदि विश्वका स्थूल पदार्थ हुन् भने मन, बुद्धि, अहङ्कार, इन्द्रियहरू, आदि विश्वका सूक्ष्म पदार्थ हुन् । जसले विश्वका स्थूल र सूक्ष्म दुवैको व्याख्या गर्न सक्छ त्यसैलाई नै विश्वको कारण मान्न सकिन्छ । प्रकृति जड हुनुका साथसाथै सूक्ष्म पनि हो । त्यसकारण प्रकृतिमा स्थूल र सूक्ष्म पदार्थ रहेको छ र यो सम्पूर्ण विश्वको व्याख्या गर्न समर्थ छ । त्यसकारण सांख्य दर्शनले विश्वको आधार प्रकृतिलाई मानेको छ ।
सांख्यका अनुसार यो प्रकृति सत्, रज र तम तीनवटै गुणको समष्टि हो र भौतिक जगत्को उपादान कारण हो । यसकारण यसलाई त्रिगुणमयी भनिन्छ । यी तीनै गुण प्रकृतिमा साम्यावस्था अथवा शान्त अवस्थामा रहन्छ । यी तीनै गुणका परस्पर विरोधी स्वभावको कारण यिनीहरूको आपसमा सङ्घर्ष भइरहन्छ । तर यी गुणहरूको प्रत्यक्ष ज्ञान हुँदैन, बरु यसको ज्ञान अनुमानको आधारमा हुन्छ । सत् गुण ज्ञानको प्रतीक हो । यसको रंग सेतो हुन्छ । यो गुण लघु, प्रकाशक र आनन्ददायक हुन्छ । यसले सुख र उत्साहको भाव उत्पन्न गर्दछ । सत् गुण प्रकाशको प्रतीक हो । यो स्वयं प्रकाशपूर्ण छ र यसले अन्य विषयलाई पनि प्रकाशित गर्दछ । इन्द्रियहरूमा आआफ्ना विषय ग्रहण गर्ने शक्ति यो गुणबाट आउँदछ । मन एवं बुद्धि यही गुणको कारण विषय बुझ्न समर्थ हुन्छन् । सत् गुणको फलस्वरूप नै सूर्यद्वारा संसारलाई प्रकाशित गर्ने र दर्पणमा प्रतिविम्ब ग्रहण गर्ने शक्ति आउँछ । यसको स्वरूप हल्का र लघु हुन्छ । सबै हल्का वस्तु (धूवाँ, बाफ, आदि) माथि जान सत् गुणकै कारणले सम्भव हुन्छ । सबै प्रकारका सुखका अनुभूतिहरू – प्रेम, आनन्द, सन्तोष, हर्ष, तृप्ति, आदि सत् गुणकै कारण सम्भव हुन्छ । रजोगुण दुःखदायक र गतिशील हुन्छ । यसको रंग रातो हुन्छ । यो दुःखको गुण हो । संसारमा सबै दुःखको मूलमा यही गुण विद्यमान रहन्छ । यो गुण स्वयं गतिशील छ र अन्य वस्तुलाई पनि गतिशील बनाउँदछ । यसरी संसारमा गतिको व्याख्या यही गुणको आधारमा सम्भव हुन्छ । हावा बहनु, मन चञ्चल हुनु, इन्द्रियहरू आफ्ना विषयतिर दौड्नु, आदि रजोगुणकै कारण हो । सत् र तम गुण व्यक्तिगतरूपमा निष्क्रिय छ । रजोगुणको प्रभावमा आएर नै ती सक्रिय हुन्छन् । यो दुःखको कारण हो । सबै प्रकारका दुखात्मक अनुभूतिहरू – चिन्ता, क्रोध, अशान्ति, असन्तोष, अतृप्ति आदि रजोगुणका कारण उत्पन्न हुन्छन् । तमोगुण अज्ञान अथवा अन्धकारको प्रतीक हो । यसको रंग कालो हुन्छ । यसले ज्ञानलाई अवरोध गर्दछ । यो सत् गुणको विपरीत हुन्छ । यो गुण भारी हुन्छ । यसले ज्ञान प्राप्तिमा सदैव बाधा उत्पन्न गर्दछ । यसले सत् गुण र रज गुणका क्रियाहरूको विरोध गर्दछ । यही कारण उदासीनताको भाव उत्पन्न हुन्छ । यही गुणको कारण ईष्र्या, निद्रा आलस्य, निष्क्रियता आदि उत्पन्न हुन्छ । यसरी प्रकृतिका उपर्युक्त तीनै गुण पारस्परिक विरोध एवं सहयोग दुवैमा पाइन्छ । संसारका प्रत्येक पदार्थमा यी गुण कम वा बढी मात्रामा विद्यमान हुन्छ । यी तीनै गुण एक–अर्काका विरुद्ध छन् भने यिनीहरूको संयोग कसरी हुन्छ भन्ने सन्दर्भमा सांख्य दर्शनले एउटा उपमाको सहायताले उत्तर दिन्छ । सत्, रज र तममा त्यही प्रकारको सहयोग रहन्छ, जुन प्रकारको एउटा बत्तीमा बाती, तेल र आगोको हुन्छ । यी तीनै एक–अर्काका विरोधी हुन् । तेललाई बातीले सुकाउँछ र बातीलाई आगोले जलाउँछ । तर एक–अर्काको सहयोगबाट नै प्रकाशको निर्माण हुन्छ । यसरी नै सत्, रज र तम आपसमा मिलेर वस्तु निर्मित गर्दछन् ।
सांख्य दर्शनले प्रकृतिको अस्तित्व सिद्ध गर्नको लागि विभिन्न प्रमाण पनि पेश गर्दछ । अनुभवका वस्तुहरू कारणमा निर्भर हुन्छन्, जसमा ती अव्यक्त अवस्थामा रहन्छन् । कारणमा कम्तीमा त्यति नै सत्यता हुनुपर्दछ, जति कार्यमा हुन्छ । हरेक कार्यमा एक कारण हुन्छ । दृश्य वस्तु अनित्य, नाशवान् र नष्ट हुने भएकोले कारणमा लीन हुन्छन् त्यसकारण जगत्को आदि उपादान कारणको नित्य हुनुपर्दछ । यी परिछिन्न (अलग) हुन्छन्, तिनीहरू कार्य कारणबाट व्याप्त रहन्छन् । तर कार्यबाट व्याप्त रहँदैनन् । कारण कार्यको अपेक्षा धेरै व्यापक हुन्छ । उदाहरणस्वरूप दूध कारण र त्यसबाट मक्खन, घीउ, पनीर, क्रीम, मिठाइ, दही आदि निकाल्नु कार्य हो । दृश्य वस्तु सक्रिय र गतिशील हुन्छन् । यसकारण यिनीहरूको आदि कारण गतिहीन हुनुपर्दछ । जगत्को आदि कारण स्वतन्त्र र अव्यक्त हुन्छ । सांख्य दर्शनका अनुसार आत्माको अस्तित्व स्वयंसिद्ध छ र यसको सत्ता कसैगरी पनि खण्डन गर्न सकिंदैन । सांख्य दर्शनले यसरी पुरुषलाई निर्गुण, विवेकी, ज्ञाता मान्छ र साथै पुरुष प्रत्येक शरीरबाट भिन्न छ भन्ने कुरा मान्छ । पुरुषलाई चेतन, अपरिणामी, अपरिवर्तनशील, निष्क्रिय मान्दछ । सांख्यका अनुसार अनेक पुरुषको अस्तित्व हुन्छ तर अलग–अलग व्यक्तिको जन्म–मरण र इन्द्रियहरू अलग–अलग हुन्छन् । अलग–अलग शरीरमा अलग–अलग आत्मा हुन्छ । सबै पुरुषमा नैतिक गुण पनि अलग–अलग हुन्छ । केहीमा सत्, केहीमा रज र केहीमा तम गुण हुन्छ । सांख्यका अनुसार आत्मा शरीर, इन्द्रिय, मन र बुद्धिबाट भिन्न छ । यो सांसारिक विषय होइन ।
पुरुष साख्य दर्शनको मुख्य तत्व हो । सांख्य दर्शन अनुसार यसलाई प्रकृतिको सर्वथा विपरीत मानिएको छ । पुरुष परम चेतन तत्वको पर्यायवाची हो, यसको कुनै रूप छैन, यो निर्गुण छ । सांख्यले संसारको हरेक प्राणीमा स्वतन्त्र पुरुष (आत्मा) को अस्तित्वमा विश्वास गर्दछ । पुरुष चैतन्य स्वरूप हो । यो चैतन्य आत्माका सबै अवस्था (जाग्रत, स्वप्न र सुषुप्त) मा विद्यमान रहन्छ । पुरुषलाई सांख्य दर्शनले कर्ता र निष्क्रिय मान्दछ किनभने यसले संसारको कार्यमा योगदान दिँदैन । सांख्य दर्शनले पुरुषलाई अकर्ता मानेर पनि भोक्ता मानेको छ । पुरुष अकर्ता भएर पनि प्रकृति र त्यसका विकारहरूको भोक्ता हो । सांख्यले पुरुषलाई अनेक मान्छ । जति जीव छन्, त्यति नै आत्मा छन् । सांख्यले पुरुषको अनेकता सिद्ध गर्नको लागि कैयौं युक्तिको सहायता लिएको देखिन्छ । पुरुषमा सत्, तम र रज गुणको अभाव हुन्छ । यो त्रिगुणातीत छ । पुरुष ज्ञाता हो । यो अपरिवर्तनशील छ । यो नित्य, अनादि र अनन्त छ । यो गुणरहित छ, किनकि यसमा सुख, दुःख र उदासीनताको भाव पाइँदैन ।