हाम्रो मुलुक नेपाल लामो समयदेखि अस्थिरताबाट गुज्रिरहेको छ । राजनीतिकलगायत सबै प्रकारबाट मुलुकमा अस्थिरता छ । मुलुकका राजनीतिक दलहरू बहुमत वा दुई तिहाइ बहुमत ल्याए पनि आपसमा फुटेर पुनः अस्थिरता निम्त्याइरहेका छन् । तत्कालीन नेकपाको सरकारले दुई तिहाइनजीकको बहुमत प्राप्त गरी बनाएको सरकारबाट राजनीतिक स्थिरता कायम भई देश समृद्धिको दिशामा बढ्ने अपेक्षा गरिएको थियो । आफूभित्रकै अर्थहीन द्वन्द्वका कारण पतन भयो । यसैगरी बहुमतप्राप्त नेपाली काङ्ग्रेसको सरकार पनि विगतमा आफ्नै कारणले पतन भएको थियो । नेपालमा राजनीतिक अस्थिरता बढाउन बाह्य पक्षहरूसमेत जिम्मेवार देखिएका छन् । विशेषगरी चीन र भारतको चासो यहाँ रहिआएको छ । अहिले अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)बीचको द्वन्द्वको असर नेपालमा पर्न थालिसकेको छ । यो कुरा मुलुकका राजनीतिक दलहरूको ध्रुवीकरण तथा पक्ष विपक्षले पनि छर्लङ्ग पारिसकेको छ ।

मुख्यरूपमा राजनीतिक स्थिरता देशले अवलम्बन गरिरहेको राजनीतिक प्रणालीमा निर्भर गर्छ । समानुपातिक प्रतिनिधित्व प्रणालीले सबै वर्गको प्रतिनिधित्व गरी लोकतान्त्रिक पद्धतिको विकास हुने विश्वास गरिन्छ । त्यसैगरी, बहुदलीय राजनीतिक प्रणालीमा रहेका दलहरूको सङ्ख्या, राजनीतिज्ञहरूले विकास गरेका राजनीतिक संस्कारका आधारमा पनि सरकारको कामकारबाही र राजनीतिक स्थिरता निर्भर रहन्छ । धेरै दलले निर्वाचनमा प्रतिस्पर्धा गर्नु नै राजनीतिक अस्थिरता आउन सक्ने लक्षण हो । राजनीतिक दलहरू थोरै सङ्ख्यामा रहेका देशमा तुलनात्मकरूपमा स्थिरता देखिन्छ । लामो समयदेखि लोकतन्त्रको अभ्यास गर्दै आएका अमेरिका, बेलायतमा राजनीतिक स्थिरता छ । त्यहाँ राजनीतिक दल अति कम छन् । कम्युनिस्टको शासन रहेको चीनमा साम्यवादको आधारमा बलपूर्वक स्थिरता कायम भएको छ । बढी मत पाउने निर्वाचित हुने प्रणाली अँगालेका र समानुपातिक प्रतिनिधित्वसहित मिश्रित निर्वाचन प्रणाली अँगालेका गरी दुई किसिमका मुलुकहरू विश्वमा छन् । सोमध्ये बढी मत पाउने निर्वाचित हुने निर्वाचन प्रणाली अँगालेका देशहरूमा राजनीतिक स्थिरता देखिन्छ । धेरै दलले प्रतिस्पर्धा गरेको अवस्थामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्दा राजनीतिक अस्थिरताको अवस्था सबैतिर देखिएको छ ।

स्थिरता नेपाली जनताको चाहना र देशको आवश्यकता हो । यसले आर्थिक उन्नति, दिगो विकास र अमनचयनको ढोका खोल्छ । तर त्यो चाहना लामो समयदेखि नेपाली जनताको लागि मृगतृष्णा बनिरहेको छ । मुलुकलाई राजनीतिक अस्थिरताले छोडेको छैन । यसको परिणामरूवरूप विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढ्न सकेन । प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा पनि त्यसको अनुभूति आमजनता पुग्न सकेको छैन । सरकारको गैरजिम्मेवार कामकारबाही र अव्यवस्थाप्रति नागरिक असन्तुष्टिले अस्थिरताको बाटो खनिरहेको छ । सरकारले जनअपेक्षा सम्बोधन र अधिकारको संरक्षण गर्न नसक्नु, गरीबी र बेरोजगारी बढ्नु, प्रतिस्पर्धी राजनीतिक दलहरूबीच द्वन्द्वात्मक अवस्था बन्दै जानु, अप्रत्याशित परिवर्तन हुँदा त्यसलाई सहजरूपमा लिने माहोल नहुनु, मतदाताको अनादर तथा करदाताको योगदानको अवमूल्यन गर्नुले अस्थिरता  निम्त्याइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here