प्रस, निजगढ, २८ वैशाख/

करीब ३ वर्षदेखि सञ्चालनमा रहेको निजगढ नेशनल हस्पिटल प्रालिको आपसी विवाद अझै नमिल्दा पछिल्लो समय करीब एक/डेढ महीनादेखि अस्पताल सञ्चालनमा आउन सकेको छैन । निजगढ नपा–८ शहीद चोक नजीक रहेको उक्त अस्पताल लगानीकर्ता सुरेन्द्रप्रसाद कलवार, पप्पुकुमार जैसवाल, होमबहादुर खड्का, मनोजकुमार प्रसाद र पछिल्लो पटक अस्पताल सञ्चालनको जिम्मेवारी लिएका डा. राजीवकुमार साहबीच खटपट शुरू भएपछि अस्पताल अलपत्र परेको हो ।

अस्पताल सञ्चालनका लागि गरिएको लिखित सम्झौता अनुसार निर्धारित समयमा कार्य अघि बढ्न नसक्दा अस्पताल बन्द हुन पुगेको देखिएको छ । लगभग पाँच/सात महीना बन्द रहेको अस्पताल चैत्र १ गतेदेखि सञ्चालन गर्ने अस्पताल सञ्चालक लगानीकर्ता र डा. साहबीच लिखित सम्झौता भएको थियो । अस्पताल सञ्चालन गर्दा घर भाडा, विद्युत्, टेलिफोन, कर्मचारीलगायत सम्पूर्ण खर्च कटाई बाँकी रहेको मुनाफाको ५० प्रतिशत पहिलो पक्ष अस्पताल लगानीकर्ताहरूले पाउने र ५० प्रतिशत दोस्रो पक्ष डा. साहले पाउनेगरी सहमतिपत्रमा दुवै पक्षबीच हस्ताक्षर छ भने घाटा भए सोही अनुसार दुवै पक्षले बेहोर्ने उल्लेख छ ।

अस्पताल सञ्चालन गर्दाको बखत आवश्यक कर चुक्ताको प्रमाणपत्र, नगरपालिकालगायत अन्य आवश्यक निकायमा व्यवसाय दर्तालगायत अस्पताल सञ्चालनका लागि आवश्यक कागजात १५ दिनभित्र नवीकरण गराई दोस्रो पक्षलाई उपलब्ध गराउने जनाइएको भए पनि सम्झौता अनुसार लगानीकर्ताहरूले बेवास्ता गरेपछि बाध्य भई अस्पताल बन्द गर्नुपरेको डा. राजीवकुमार साहको भनाइ छ ।

स्वास्थ्य संस्था सञ्चालन गर्दा आवश्यक कागजात दुरूस्त हुनुपर्ने कुरामा सजग रहँदै पटकपटक अस्पताल लगानीकर्ताहरूलाई जानकारी गराउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर अस्पताल बन्द गर्नुपरेको डा. साह बताउँछन् । पटकपटक, छलफल गरौं भन्दा लगानीकर्ताहरू एकले अर्कोलाई देखाउँदै पन्छिन थालेपछि अस्पताल बन्द गर्न बाध्य हुनुपरेको डा. साहले बताए ।

निजगढ नगरपालिकाबाट खटेको अनुगमन टोलीले स्थानीय तहमा अस्पतालले व्यवसाय दर्ता नगरेको भन्दै ५ दिनभित्र दर्ता गर्न पत्राचार गरेको थियो । लगानीकर्ताहरू व्यवसाय दर्ता गर्न निजगढ नपा गए पनि कर चुक्ता लगायत आवश्यक कागजात समयमैं उपलब्ध नगराउँदा हस्पिटललाई व्यवसाय सञ्चालनको प्रमाणपत्र उपलब्ध गराउन नसकिएको निजगढ नपा–८ वडा कार्यालयले जनाएको छ । करीब ५ महीनादेखि बन्द रहेको अस्पताल पुनः सञ्चालन भएको एक महीनामैं घाटा भएपछि समस्या उत्पन्न भएको बुझिएको छ ।

सञ्चालक पक्षलाई कुनै जानकारी नदिई अस्पतालबाट रातको समयमा स्वास्थ्य उपकरणहरू डा. साहले लगेको भन्दै उनीविरुद्ध कानूनी कारबाईको लागि इलाका प्रहरी कार्यालय निजगढमा निवेदन दिएको लगानीकर्ता सुरेन्द्रप्रसाद कलवार र होमबहादुर खड्काले बताए ।

डा. साहले रातको समयमा अस्पतालबाट सामान लगेको आरोप लगाउँदै छलफल गराई निकास निकाल्न इप्रका निजगढमा निवेदन दिएपनि प्रहरीले कुनै चासो नदेखाएको अस्पताल लगानीकर्ताको भनाइ छ । निवेदनको आधारमा गत शनिवार दिउँसो दुवै पक्षबीच छलफल गराउन इप्रका निजगढले पहल गरेपनि तोकिएको समयमा डा. साह उपस्थित भए तर लगानीकर्ताहरू उपस्थित नभएको इप्रका निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताए ।

प्रहरीमा निवेदन दिएपनि प्रहरीले कारबाई गरेनजस्तो जथाभावी बदनाम नगर्न प्रनि श्रेष्ठको आग्रह छ । उजूरी, निवेदन र दसी प्रमाणको आधारमा प्रहरीको अनुसन्धानबाट दोषी ठहर भए जो सुकैविरुद्ध कानूनी कारबाई गरिने कुरामा निश्चिन्त रहन प्रनि श्रेष्ठले बताए ।

अस्पतालमा रहेको स्वास्थ्य सामग्री चोरीको आरोप लगाइए पनि सो आरोप निराधार भएको डा. साहको भनाइ छ । अस्पताल सञ्चालन गर्दा सहमति अनुसार नै आफूले थप सामग्री खरीद गरी प्रयोगमा ल्याएपनि लामो समय बन्द रहेको सो अस्पतालबाट एकै महीनामा नाफा नभएको भन्दै अस्पताल लगानीकर्ताहरूले आफूलाई समस्यामा पारेको डा. साहको तर्क छ ।

लगानीकर्ता र डा. साहबीच देखिएको विवाद र समस्याले निकै मार्कामा परेको घरधनी गोमा न्यौपाने बताउँछिन् । अहिलेसम्म पानी, बिजुलीको महसूल तिर्न पाइएको छैन । प्रतिमहीना ६६ हजार अर्को महीनाको ५ गतेभित्र बुझाउनेगरी १० वर्षको लागि लिखित सम्झौता भए पनि तोकिएको समयभित्र घरभाडा नपाएको उनले भनिन् । पछिल्लोपटक सम्झौताविपरीत प्रत्येक महीना २५ हजार चेक दिएको घरधनी न्यौपानेले बताइन् ।

अस्पताल लगानीकर्ताले लिखित सम्झौता पालना नगर्दा विवाद र समस्या भएको भन्दै अस्पताल पुनः सञ्चालन गर्दा मरम्मत, सम्भार, भिडियो एक्सरे र डिजिटल एक्सरे मेशिन खरीद गर्दा करीब ३०/३५ लाख खर्च भएको भन्दै विवाद समाधानका लागि डा. राजीव कुमार साहले निजगढ नपाको न्यायिक समितिमा हिजो निवेदन दर्ता गराएका छन् भने अस्पताल लगानीकर्ताले अस्पतालको स्वास्थ्य सामग्रीसहितको सामानको विवरणसहित जिल्ला प्रहरी कार्यालय बारामा डा. साहविरुद्ध किटानी जाहेरी हिजो दिएको लगानीकर्तामध्येका होमबहादुर खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here