प्रमोद यादव, पंचगावाँ, २८ वैशाख/
पटेर्वासुगौली गाउँपालिकालाई बिहीवार पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ ।
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता– हाम्रो प्रतिबद्धता’ नाराका साथ नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामपुरको प्राङ्गणमा वडा नं १ र ३ का साथै गापालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।
पटेर्वासुगौली गापाका वडा नं २, ४, ५ गत आवमा पूर्ण खोपयुक्त वडा घोषणा गरिएको थियो ।
आज दुईवटा वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएपछि गाउँपालिकालाई पनि पूर्ण खोपयुक्त गापा घोषणा गरिएको हो ।
कार्यक्रममा गापा अध्यक्ष दिनेश चौधरीले पालिकाका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारले सूचीकृत गरेको र उनीहरूले सबै किसिमका खोप लगाएपछि गापालाई पूर्ण खोपयुक्त घोषणा गरिएको बताए । उनले गापामा स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउन सबैको सहयोग हुनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, स्वास्थ्य शाखा प्रमुख भुजेन्द्रप्रसाद यादव, सहसंयोजक जगन्नाथ साह, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह, स्वास्थ्य निरीक्षक जयमोद ठाकुर, उपाध्यक्ष ममता महतो, वडाध्यक्षहरू फरमान मियाँ अन्सारी, माधवराउत थारू, वासु पञ्जियार, विपिन मुखियालगायतको सहभागिता थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत यादवले व्यक्त दिएका थिए ।