इस्लामाबाद, २८ वैशाख/एएनआई/सिन्ह्वा

पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठजनाको मृत्यु भएको छ । ती झडपमा २९० भन्दा बढी घाइते भएको पनि डनले बिहीवार  उल्लेख गरेको छ ।

झन्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ ।  प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधवार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिएपछि देशभर तनावको स्थिति सिर्जना भएको छ ।

केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पिटिआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पनि पक्राउ गरिएको थियो ।

पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरेको थियो । प्रदर्शनकारीहरूले कोर कमान्डरको लाहोरस्थित घरमा प्रवेश गरी रावलपिन्डीको जिएचक्यूको एउटा गेटसमेत भत्काएका छन् ।

यसअघि आज पाकिस्तानका पूर्वविदेशमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामाबाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा लगेको छ ।

पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधवार दिउँसो पिटिआई नेतालाई इस्लामाबादको गिलगिट–बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो ।

मङ्गलवार पिटिआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको थियो । जवाफदेहिता ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दैछ ।

कुरैशीलाई पञ्जाब र खैबर पीमा दङ्गा र आगजनीका घटनामा प्रहरीले पक्राउ गरेको हो ।

राजनीतिक अस्थिरताका कारण पाकिस्तानी रुपियाँको अवमूल्यन

पाकिस्तानी रुपियाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीयरूपमा घटेको छ । बुधवार अन्तरबैंक बजारमा ग्रीनब्याक २९०.२२ रुपियाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ ।

मङ्गलवार कारोबार अमेरिकी डलर २८४.८४ रुपियाँमा बन्द भएको थियो । बुधवार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपियाँ (करीब १.८५ प्रतिशत)ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

बजार विश्लेषकहरूका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा राष्ट्रिय जवाफदेहिता ब्युरोले मङ्गलवार पक्राउ गरेपछि देशभर व्यापक विरोध भएको  र त्यसकै प्रभावले पैसाको अवमूल्यन भएको हो । दक्षिण एशियाली मुलुक पाकिस्तानमा चलिरहेको राजनीतिक अस्थिरतापछि अन्तर्राष्ट्रिय मुद्राकोषको बेलआउट कार्यक्रमको पुनः सुरुआतमा आएको अनिश्चितता र विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण यहाँको रुपियाँ दबाबमा रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here