प्रस, वीरगंज, २१ वैशाख/

पर्सा जिल्लालाई सन् २०२३ भित्र  पूर्ण खोपयुक्त घोषणा गर्नको लागि बिहीवार खोपदूत घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समिति, पर्साको बैठकले पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सहयोग तथा  सहजीकरणका लागि चारजनालाई खोपदूत बनाएको खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

बैठकमा सन् २०२३ भित्र पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा नगरिए दाताहरूले खोपको लागि दिंदै आएको अनुदान रोक्ने ठाकुरले बताए ।

बैठकले माधव राजपाल, जसपाल सिंह, हाजी ग्याँसुद्दीन ठकुराई, निली रामलाई खोपदूत बनाएको छ ।

नेपालका सात प्रदेशमध्ये गण्डकी प्रदेश मात्र पूर्ण खोपयुक्त घोषणा भएको छ भने अन्य प्रदेशलाई पूर्ण खोपयुक्त घोषणाका लागि प्रयास भइरहेको बैठकमा बताइएको थियो । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीबाहेक सबै जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेका छन् ।

पर्साका १४ वटा पालिकामध्ये पटेर्वासुगौली गापालाई यसै महीना पूर्ण खोपयुक्त घोषणा गर्ने निर्णय भएको थियो ।

खोप संयोजक जिससका प्रमुख अजय सर्राफको अध्यक्षतामा भएको बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साह, जिससका उपप्रमुख पुरनराउत कुर्मी, महानगर शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, शिक्षा समन्वय अधिकारी फत्तेबहादुर श्रेष्ठलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here