• श्रीमन्नारायण

राजनीति व्यापार होइन, सेवाभाव हो, त्याग, तपस्या र समर्पण हो तर विगत केही दशक यतादेखि राजनीतिमा पद, सत्ता, पैसा र पारिवारिक स्वार्थले यति बढी प्रधानता पाएको छ कि सैद्धान्तिक एवं वैचारिक राजनीतिमा विश्वास राख्नेहरू पनि आफ्नो मूल्य–मान्यता र गरिमाबाट स्खलित हुँदै गएका छन् । फलस्वरूप राजनीतिक दल र नेताहरूप्रति जनतामा वितृष्णा उत्पन्न भएको छ । शासन–व्यवस्थामाथि समेत प्रश्नचिह्न उठ्न थालेको छ र कालनेमी (साधुका भेषमा राक्षस) प्रकृतिका नयाँ–नयाँ राजनीतिक दल र नेताहरू चर्चामा आउन थालेका छन् । आपैंmले निर्माण गरेको त्यागको भूmटो कथालाई शृङ्गारिक तरीकाले जनतामाझ पस्केर रातारात नायक बन्दै गएका छन् । सोझा जनता पनि आफूले मन पराएका र प्रिय नेताको खस्कँदो नैतिक आचरण र भ्रष्टाचारप्रति आसक्तिका कारण नयाँ–नयाँ अनुहारको मीठा भाषण पत्यार गर्न बाध्य भइरहेका छन् । दक्षिणी छिमेकी भारतमा एक दशक अघि उल्कापातझैं चम्किएर आएको ‘आम आदमी पार्टी’ र तिनका नेताहरू आफूलाई स्वच्छ, इमानदार र त्यागी भएको दाबी गर्दै अन्यहरूलाई चोर तथा भ्रष्ट भन्न थालेका थिए । तर सार्वजनिक जीवनमा आएको एक दशक पनि बित्न नपाउँदै आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवाल र तिनका नेताहरूसमेत भ्रष्टाचारमा सामेल भएका आरोपहरू सार्वजनिक भएका छन् । यसले के पनि साबित हुन्छ भने नयाँ अनुहारहरूमाथि हतपत विश्वास गरी देशको बागडोर सुम्पिहाल्नुहुँदैन । नेपालमा त पाँच वर्षभित्र नै केजरीवाल प्रवृत्तिका राजनीतिक शिष्यहरू देखा पर्नेछन् ।

विनाराजनीतिक उद्देश्य, सिद्धान्त, ठोस नीति एवं कार्यक्रम, राजनीतिमा आएकाहरू जनताका क्षणिक आक्रोश एवं भावावेशलाई पूँजीकृत गरेर एक–दुईवटा प्रभावकारी जनान्दोलन पनि गर्न सक्दछन्, आन्दोलनको प्रभावले एक दुईवटा चुनावमा सफलता पनि पाउन सक्दछन् । तर व्यावहारिक राजनीतिमा आउनेबित्तिकै असफल हुन थाल्छन् । आँधीबेहरी र हुरी बतासजस्तै राजनीतिक क्षितिजमा आएकाहरू उल्कापातजस्तै चम्किएर आउने र तत्काल विलीन हुन थाल्छन् । भारतमा पनि अब आम आदमी पार्टीप्रति जनताको वितृष्णा जाग्न थालेको छ । महँगो गाडी नचढ्ने, विलासितापूर्ण सुविधा नलिने, सुरक्षाकर्मी नलिने, आर्थिक अनुशासन अथवा पारदर्शिता ल्याउने, जनलोकपाल नियुक्त गर्ने, प्रत्येक निर्णय जनताको सार्वजनिक भेलाबाट गर्ने भनेका पार्टीका नेताहरू शुरूदेखि नै अराजक शैलीको राजनीति गर्दै आएका छन् । नेपालका पनि नयाँ नयाँ अनुहारका राजनीतिज्ञहरू केजरीवाल प्रवृत्तिकै फोटोकपी हुन् ।

राजनीति गर्नु र राजनीतिलाई मोहरा बनाएर भ्रष्टाचार गरी धन आर्जन गर्नु पृथक विषय हो । यदि धनी बन्ने इच्छा भएको भए लाखौंको जागीर छाडेर किन नेपाल आएको ? दाबी गर्नेहरूले फेरि यक्ष प्रश्नको जवाफ दिनु आवश्यक छ । देशकै सेवा गर्ने इच्छा रहेको भए शुरूमैं जागीरमा किन गएको ? बढी पैसाकै लागि विदेशमा गएर जागीर किन गर्नुपर्यो ? विदेशको जागीर छाडेर स्वदेशमा आउन अथवा जागीर छाडेर राजनीतिमा आउन कसले भनेको थियो ? हुट्टिट्याउँले उत्तानो परी खुट्टा माथि उचालेर आकाश थामेको, अन्यथा आकाश खस्ने भ्रममा बस्न कसले भनेको थियो । यथार्थमा लाख रुपियाँको जागीर छाडेर करोडौं तथा अर्बौं कमाउन देशको राजनीतिमा आएको यथार्थ स्वीकार गर्न गार्हो हुँदो रहेछ । विदेशमा बस्दा गैरसरकारी जागीरमा हुँदा केवल तलबको कमाइमा बाँच्नुपर्छ जबकि राजनीतिमा आएपछि आफ्नो साखा–सन्तानको निम्ति, पारिवारिक सदस्यहरूको निम्ति, ससुराली पक्षसमेतका लागि धेरै थोक गर्न सकिंदो रहेछ, त्यही सोचेर राजनीतिमा आउनेहरू आफूलाई कृत्रिम त्यागी देखाउन चाहन्छन् । राजनीतिमा स्वच्छता, इमानदारिता र पारदर्शिता ल्याउने दाबी गर्नेहरू स्वयं नै यसमा सामेल हुन पुग्छन् ।

नेपालमा अमेरिकाबाट फर्केर राजनीतिमा आएका मूलतः दुई अनुहार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत । रवि लामिछाने करीब सात–आठ वर्ष पहिले पत्रकारिता गर्ने मनसायले नेपाल आएका थिए । शुरूमा नेपालको नागरिकता लिनु फेरि नागरिकता परित्याग गरेर अमेरिकन नागरिक बन्नु कहाँसम्म जायज थियो ? मनमा राष्ट्रप्रेम भएको भए उनले नेपाली नागरिकता परित्याग गर्ने थिएनन् । जो व्यक्ति केवल बढी पैसा कमाउनका लागि अमेरिका गएको थियो र त्यहाँ पनि राम्रो कमाइ हुन नसकेपछि अमेरिकाबाट नेपाल आएर दुवै देशको नागरिकता र पासपोर्ट लिइ हिंड्दै आएका ती न्यक्ति आफूलाई स्वच्छ तथा इमानदार कसरी दाबी गर्न सक्छन् ? उनलाई अध्ययन अथवा जागीरको निम्ति सरकारले पठाएको थिएन । सरकारले पठाउने कर्मचारी अथवा विद्यार्थी तोकिएको समयभित्र स्वदेश फर्कन्छन् । रवि लामिछानेलाई सरकारले भरसक पठाएको थिएन । सरकारले पठाएको व्यक्ति आफ्नो मातृभूमिको नागरिकता परित्याग गर्न सक्दैन । एउटा राष्ट्रभक्तले आफ्नो राष्ट्रिय पहिचानको उपेक्षा कहिल्यै गर्न सक्दैन । राष्ट्रभक्ति एउटा पवित्र निष्ठा हो । यसको प्रदर्शन, व्यवहार र कर्मबाट हुन्छ, जबकि राष्ट्रवाद राजनीतिक नारा हो जो रूमालजस्तो हुन्छ, काम लागेको बेलामा प्रयोग गर्ने ।

मधेसी राजनीतिमा पनि डा चन्द्रकान्त राउत उल्कापातजस्तै चम्केर आएका हुन् । उनको राजनीतिक विचार, सिद्धान्त, नीति, कार्यक्रम प्रस्ट छैन । देश नै मान्दैनौं भनेर दाबी गरी राजनीतिमा आएका उनले देशको संविधानलाई अक्षरशः मान्न थालेपछि उनको राजनीतिक अडानमा ३६० डिग्रीको परिवर्तन आएको छ । अब उनको लक्ष्य देशका जनताको जनजीवनमा आमूल परिवर्तन ल्याउनु रहेको छैन केवल सरकार, सत्ता तथा पद रहेको छ । सङ्घीय सरकारमा आफूले मन पराएको मन्त्रालय हात नआएपछि उनले सङ्घीय सरकारबाट आफ्नो सहभागिता विच्छेद गरे । हुन त अहिले पनि सङ्घीय सरकारलाई समर्थन दिन जारी नै राखेका छन् ।

डा चन्द्रकान्त राउत विद्वान् हुन्, यसमा शङ्का गर्ने ठाउँ छैन । उनी अमेरिकामा थिए । नासामा काम गरेको चर्चा छ तर उनको अध्ययन र अनुसन्धानको लाभ देशलाई प्राप्त हुन सकेन । उनी भारतका पूर्व राष्ट्रपति डा एपिजे अब्दुल कलामजस्तो जीवनभर देशको विज्ञान अनुसन्धानमा जीवन समर्पित गरेर उत्तराद्र्धमा त्यो पनि सरकारले आवश्यकता महसूस गरेपछि राजनीतिमा आएका होइनन् ? एउटा विद्वान् र वैज्ञानिकको पहिलो कर्तव्य आफ्नो योग्यता, क्षमता र अनुभवको प्रयोग गरेर राष्ट्रलाई लाभ पुर्याउनु हो । आफ्नो निजी लाभ अन्त्यमा हेरिन्छ । जनमत अध्यक्ष राउतले आफ्ना दाइलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाए । पारिवारिक सदस्यलाई समानुपातिक कोटाबाट प्रदेशसभामा ल्याए । अहिले पनि प्रदेशको मुख्यमन्त्री पदका लागि दबाब बनाउने काम गरिरहेका छन् । उनी स्वयं मन्त्रिमण्डलमा गएनन् यो राम्रो सङ्केत हो तर उनको पार्टी अहिलेसम्म जिम्मेवार बन्न सकेको छैन । सस्तो लोकप्रियता पाउनका लागि प्रतीकात्मक राजनीति गर्न उनको शैली धेरैलाई मन परेको छैन । पार्टीका एक वरिष्ठ नेता र पूर्वमन्त्रीको भिडियोले पनि पार्टीको छविमाथि नकारात्मक प्रभाव पार्ने काम गर्यो ।

रवि लामिछानेको पार्टीका एकजना सांसदले मन्त्री बन्न पार्टीका शीर्ष नेतृत्वलाई दुई करोड बुझाउनुपर्ने मागले यस पार्टीबाट पनि आशा गर्न सकिने ठाउँ नरहेको प्रस्ट पारिदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अमेरिकी उद्योगपति जार्ज सोरससित सम्पर्कको कुरा पनि नचुहिएको होइन । हुनत अहिले नेपालको राजनीतिमा उपरोक्त दुई दललाई नवोदित नै मान्नु पर्दछ तर नागरिकता एवं पासपोर्ट प्रकरण दुई करोड घूसको माग र पार्टीद्वारा पटक–पटक गृहजस्तो संवेदनशील मन्त्रालय नै माग गर्नु बुझि नसक्नु छ । जो व्यक्तिले दुई महीना अघि मात्र देशको नागरिकता लिएका छन् उनलाई गृह मन्त्रालय किन ? एकातिर भारतीय चेलीले नेपाली केटासित बिहे गरे सात वर्षपछि नेपालको नागरिकता दिनुपर्छ भन्ने पक्षमा उभिएका रवि लामिछाने स्वयं अमेरिकी नागरिक हुन् । भारतीय चेलीलाई नेपाली बुहारी भएपछि सात वर्षपछि नागरिकता तर अमेरिकी पुरुषलाई नेपाली नागरिकता लिएको दुई महीनाभित्रै मन्त्रीपद, त्यो पनि गृह किन ? भारतीय महिलालाई सात वर्ष त  अमेरिकीलाई आजको भोलि नै किन ?

नयाँ–नयाँ राजनीतिक दलहरूबाट बढी अपेक्षा गर्न सकिंदैन । यिनीहरू आफ्नो निहित स्वार्थपूर्तिका लागि राजनीतिमा आएका हुन् । पुराना दलहरू सच्चिन आवश्यक छ । नयाँ नौ दिन पुराना सौ दिन भन्ने उखान राजनीतिमा पनि सटीक लागू हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here