प्रस, वीरगंज, १६ वैशाख/
अम्बिका–ममता स्मृति प्रतिष्ठानको आयोजनामा शनिवार शिक्षा क्षेत्रका चारजनालाई अम्बिका सिंह–ममता राजकर्णिकार स्मृति पुरस्कार प्रदान गरिएको छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले शैक्षिक क्षेत्रमा योगदान पु¥याएका पूर्व जिल्ला शिक्षा अधिकारी जीवक्ष मिश्र, शिक्षिका मुनाबदन राजभण्डारी, नृसिंह मावि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण कुर्मी र गौतम माविकी सञ्चालिका उर्मिला लामालाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए । उर्मिला लामा विदेशमा रहेकीले उनको पुरस्कार छोरा सोनम लामाले बुझेका थिए ।
सो अवसरमा नेता पोखरेलले सामाजिक सद्भावले राष्ट्रिय एकता बलियो हुने बताए । उनले सामाजिक सद्भाव बिगार्ने कार्य कसैले गर्न नहुने तर्क गरे । अमेरिका, युरोपलगायतका समृद्ध देशहरू सामाजिक सद्भाव बनाएरै अगाडि बढेको उदाहरण उनले दिए ।
उनले तीनतर्फ विश्वकै धेरै जनसङ्ख्या भएको देश भारत र एकातर्फ दोस्रो ठूलो जनसङ्ख्या भएको देश चीनको बीचमा रहेको नेपालमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरूको बसोबास रहेकाले एकअर्काप्रतिको सामाजिक सद्भावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताए ।
वीरगंजमा शिक्षामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा आफूलाई निकै गौरव महसूस भएको उनले बताए । नेता पोखरेलले नेपालको संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रूपमा लेखिए पनि अहिले शिक्षा र स्वास्थ्य नागरिकको पहुँचमा पुर्याउने विषय चुनौतीपूर्ण रहेको चर्चा गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह प्रधानले मधेसमा उतिबेला पढेलेखेकी महिलामा स्व अम्बिका सिंह रहेकी र शैक्षिक क्षेत्रमा उनको योगदान अविस्मरणीय रहेको बताइन् ।
यसैगरी, स्व ममता राजकर्णिकारले पनि विद्यालय सञ्चालन गरेर शिक्षाको क्षेत्रमा योगदान पु¥याएको र दुवैको सम्झनामा प्रतिष्ठान सञ्चालन गरेर शैक्षिक क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई पुरस्कृत गरिएकामा प्रतिष्ठानको प्रशंसा गरिन् ।
पुरस्कृत व्यक्ति रामनारायण कुर्मीले आफू २०५५ सालमा नृसिंह माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दा दुई सय विद्यार्थी रहेका र विद्यालयको अवस्था जर्जर रहेकोमा अहिले ३३ सय विद्यार्थी अध्ययनरत रहेको तथा विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट अध्यापन भइरहेको बताए ।
मल्लिका चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा सांसद प्रभु हजरा, वीरगंज महानगरका पूर्वप्रमुख विजयकुमार सरावगी, नेकपा एमाले पर्साका संयोजक डा विश्वम्भर शर्मा, बालगोपाल थापा, शङ्कर कर्णलगायतको सहभागिता थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अरविन्द सिंहले स्वागत र केसी लामिछानेले सहजीकरण गरेका थिए ।