सुग्रीव साह, भिस्वा, १४ वैशाख/
पर्सा जिल्ला छिपहरमाई गाउँपालिकाको भिस्वा र भारतको सिक्टा बजारबाट अहिले निर्बाधरूपमा तस्करी शुरू छ ।
राति १० बजेदेखि तस्करहरूलाई लाइन दिइएको छ र यताको सामान उता र उताको सामान यता आउने क्रम शुरू भएको छ । नेपालबाट कस्मेटिक, गिट्टी, बालुवालगायतका सामानहरू तस्करहरूले भारत पुर्याउने गरेका छन् भने भारतको सिक्टा बजारबाट कपडा, खाद्यान्न, हार्डवेयरलगायतका सामान ल्याउने गरेका छन् । रातभरि तस्करी हुन्छ तर दिउँसो भने दुवैतर्फका सुरक्ष्Fाकर्मीहरूले नाकामा कडाइ गरेको नाटक रच्छन् । घरायसी सामानहरू आवतजावतमा पनि उनीहरूले कडाइ गरेका छन् ।
अहिले विवाहको समयमा नेपालीहरूले भारतमा र भारतीयहरूले नेपालमा वैवाहिक कार्यक्रम गरेर पाउने दाइजोका सामानहरूमा सुरक्षाकर्मीहरूले कडाइ गरेका छन् । दुवैतर्फबाट फर्निचरलगायतका सामानहरू ल्याउन–लैजान सुरक्षाकर्मीहरूले अवरोध गर्दै आएका छन् । वैवाहिक कार्यक्रममा पाइने फर्निचरहरू सवारीसाधनबाट ओसारपोसार गर्न रोक लगाइएको छ । पलङ, दराज, सोफासेटलगायतका सामानहरू आफैंले बोकेर लैजानुपर्ने बाध्यकारी अवस्था बनाइएको छ । दुवैतर्फका मानिसहरूले लामो सीमा पार गर्दा आफैले फर्निचर बोकेर जाँदा अहिले समस्या भइरहेको छ ।
लागूऔषधको कारोबार पनि बढ्दो
तस्करीको लागि वीरगंजपछि पर्सा जिल्लामा चर्चित भिस्वा नाकामा अहिले लागूऔषधको कारोबार फस्टाएको छ । नेपालबाट चरेस, गाँजा जाने गरेको छ भने अहिले सिकटाबाट लागूऔषध फेनारगन, डाइजेल्याब, नुर्फिन, नाइट्रोभ्याट नेपाल भित्रिने गरेको छ । लागूऔषधको कारोबार फस्टाएको कारण यो नाकामा अहिले चहलपहल बढेको छ ।
भिस्वाबाट काठमाडौंसम्मको यात्राका लागि बससेवा बढ्दै गएकाले पनि यहाँबाट लागूऔषधको कारोबार फस्टाएको स्थानीयहरूको बुझाइ छ । सीधैं काठमाडौं पुग्न सक्ने वातावरण सिर्जना भएकोले यो नाकाबाट लागूऔषध भारतबाट ल्याउने र काठमाडौंसम्म पुर्याउने काम भइरहेको जानकारहरू बताउँछन् । वीरगंज नाकाबाट लागूऔषध भिœयाउँदा चेकजाँच बढी भएकोले पछिल्लो समय तस्करहरू सीमावर्ती क्षेत्रका ठोरी, भिस्वा, पोखरियालगायतका क्षेत्रबाट लागूऔषधको कारोबार शुरू गरेका छन् ।