प्रस, निजगढ, १४ वैशाख/

बाराको वन क्षेत्रमा अतिक्रमण हटाइ वृक्षारोपणलाई निरन्तरता दिने भइएको छ । जिल्ला वन सुरक्षा समन्वय समितिको बिहीवार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

डिभिजन वन कार्यालय, बारामा बसेको बैठकले कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका लगायत बाराको राष्ट्रिय, सामुदायिक, साझेदारी वन क्षेत्रका विभिन्न स्थानमा वर्षौंदेखि हुँदै आएको अतिक्रमण हटाइ तदारूकताका साथ वृक्षारोपण गरिने निर्णय भएको डिभिजन वन कार्यालय, बाराका प्रवक्ता एवं सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मीले जानकारी दिए ।

कार्यक्रममा डिभिजनल वन अधिकृत विनोद सिंहले बाराका वन क्षेत्र अन्तर्गत विभिन्न स्थानमा भइरहेको वन क्षेत्र अतिक्रमणबारे विस्तृत जानकारी दिंदै हालसम्म १० हजार हेक्टर वन क्षेत्र वर्षौंदेखि अतिक्रमण हुँदै आएकोले वन क्षेत्र अतिक्रमणको अवस्था वर्षौंदेखि  भयावह रहेकोसमेत बताए । करीब २५० हेक्टर वन क्षेत्र पुनः वनमा फर्काइ वृक्षारोपण गरिएकोसमेत उनले जानकारी दिए ।

वनका कर्मचारीहरू वन संरक्षणमा जति जिम्मेवारी रहन्छन्, त्यसभन्दा बढी जनप्रतिनिधिहरूको पनि जिम्मेवारी रहने वक्ताहरूले बताए । वन कर्मचारी, सुरक्षाकर्मी, प्रशासन निकायका कर्मचारीहरू एक/दुई वर्ष जिल्लामा कार्यरत रहने र अन्य जिल्लाहरूमा सरुवा हुने भएकाले वन क्षेत्रको संरक्षणमा स्थानीय तहका जनप्रतिनिधि, आम नागरिक चनाखो भई कानूनविपरीत कार्यलाई निरुत्साहित गर्न निरन्तर अग्रसर हुनुपर्ने जिल्ला वन सुरक्षा समन्वय समितिका अध्यक्ष एवं बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

वनको संरक्षणले स्वच्छ वातावरण, पर्यावरण, प्रकृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले वन क्षेत्रको संरक्षणमा सबैले आआफ्नो हिसाबले जुट्नुपर्ने प्रजिअ सापकोटाले बताए ।

प्रजिअ सापकोटाको अध्यक्षतामा बसेको बैठकमा डिभिजन वन प्रमुख विनोद सिंह, कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, वडाध्यक्ष नन्दकिशोर चौधरी, जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख होविन्द्र बोगटी, सशस्त्र प्रहरी गण् बाराका प्रमुख टोपबहादुर डाँगी, राष्ट्रिय अनुसन्धान कार्यालय, बाराका प्रमुख अभिनय सिंहलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण जवाहरलाल प्रसाद कुर्मीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here