प्रस, रौतहट, १४ वैशाख/

संवाद, सहअस्तित्व र सौहादर्ताको अभावमा सूचनाका लागि रौतहटको  वृन्दावन नगरपालिकाअगाडि शुरू भएको २४ घण्टे रिले अनशन एक महीना नौ दिन पुगेको छ ।

अनशनकारीले माग गरेबमोजिमको १४ बुँदे सूचना उपलब्ध गराउन  कार्यालयतर्फबाट पहल नभएको भन्दै अनशनकारीले दुःख व्यक्त गरेका छन् ।   जनप्रतिनिधि तथा जनताले मागेका सूचना दिन आलटाल गर्नुको साथै कार्यपालिका बैठकमा पनि नगरप्रमुख विनोदराउत कुर्मीले सन्तोषजनक जवाफ नदिएपछि रिले अनशन बसेको वडा नं ४ का अध्यक्ष श्यामप्रसाद यादवले बताए । अनशन बसिरहेका जनप्रतिनिधिसँग भेटेर काम गर्ने वातावरण बनाइदिन अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेयले बताए ।

नगरप्रमुख पटेल तथा अनशनकारीबीच सहमतिको अवस्था नदेखेपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले दुवै पक्षलाई जनताको काममा सहजता प्रदान गर्न आग्रह गरे । यसअघिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलउपर करोडौं रकम भ्रष्टाचार गरेको तथा अनशनकारी लगायतका सरोकारवालासँग समन्वय नगरेको आरोप लागेपछि मन्त्रालयले अन्यत्र सरुवा गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेय वृन्दावन आउने पक्कापक्की भएपछि अनशनकारी सूचना पाउनेमा ढुक्क थिए । पाण्डेय हाजिर भएकै दिन अनशनकारीलाई भेटी सबै सूचना दिन्छु भनी प्रतिबद्धतासमेत व्यक्त गरे । तर हिजोदेखि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले समेत कुरा फेरेकोमा दुःख लागेको नेकपा एमालेका नेता तथा नगरप्रमुख पदका उम्मेदवार प्रेमशङ्कर यादवले आरोप लगाए । दुःखका साथ भन्नुपरिरहेको छ रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रअगाडि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भनेको कुरा पनि फेरेको उनले बताए । नगरपालिकाका पूर्वप्रमुख रामस्नेही यादवले नगरप्रमुख कुर्मीमा नैतिकता नरहेको, आफूले जे बोल्दैछु त्यही सही हो, आफूलाई राजा ठान्नेले थोरै समयमा करीब १० करोड भ्रष्टाचार गरेको आरोप लगाए । नगरप्रमुख कुर्मीले भ्रष्टाचार गरेका व्यक्तिहरू आफूलाई चोखो बताउन रिले अनशनमा बसेको आरोप लगाए ।

पाँच वर्ष नगरप्रमुख बस्दा १०औं पटक आफूले सूचना माग्दा  उनीहरूले नदिएको बताए । विकास गतिविधि प्रायः ठप्प भएको कुनै पनि योजना कार्यको आदेश तथा सम्झौता गर्न नपाएको बताए । सूचना अधिकारीमार्फत सूचना लिएर पनि रिले अनशन जारी राखेकोमा दुःख व्यक्त गर्दै नगरप्रमुख कुर्मीले विकास निर्माण तथा नदीजन्य वस्तुको राजस्व सङ्कलन हुने समयमा रिले अनशन गरेर विपक्षीको दुःख दिने मनसाय मात्र रहेको बताए । चैत ७ गतेदेखि शुरू रिले अनशनको एक महीना नौ दिन पुगेको छ । वृन्दावन नगरपालिका वडा नं २, ३, ४ र ५ का गरी चारजना वडाध्यक्ष र नगरप्रमुख पदका तीनजना उम्मेदवार रिले अनशनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here