नयाँ दिल्ली, १४ वैशाख/एएनआई

बुद्ध धर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँ दिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन् ।

बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मदत पुगेको बताए ।

एएनआईसँगको कुराकानीमा बौद्धगुरु रिम्पोछेले गत साताको शिखर सम्मेलनबाट बौद्ध धर्मको सारलाई विश्वमा फैलाउन योगदान पुगेको बताउँदै सम्मेलनबाट आफूलाई पनि सिक्ने अवसर प्राप्त भएको उल्लेख गरे । बौद्ध धर्मको प्रादूर्भाव नेपालबाट भएको तथा यो धर्मको मुख्य सन्देश प्रेम र करुणा भएको उनले बताए ।

 “बौद्ध धर्मका सन्दर्भमा नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ, यो धर्मले दुवै देशलाई एकताबद्ध गरेको छ । हाम्रा निम्ति बौद्ध धर्मको जननी नेपाल र जनक भारत हो,” नेपाल र भारतबीचको निकट छिमेकी सम्बन्धका साथै धार्मिक सम्बन्धबारे चर्चा गर्दै तिब्बती गुरुले भने । बौद्ध धर्मबारे नेपाल र भारतबाट धेरै शिक्षा पाइने बताउँदै उनले नेपालमा जन्मेका बुद्धले भारतका धेरै स्थानमा यसको प्रचार गर्दै धेरै शिष्यलाई ज्ञान दिएको आफ्नो बुझाइ बताए ।

संस्कृति मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अतिथि देवो भवः’ बुद्धभूमिको परम्परा भएको तथा बुद्धका आदर्शबाट प्रेरित भएर जीवन बिताएका धेरै व्यक्तिको सम्मेलनमा भएको उपस्थितिले बुद्धको वरिपरि आफू रहेको अनुभूत भएको उल्लेख गरेका थिए । उनले बुद्ध व्यक्तिभन्दा पनि विचार हो भन्ने आफूलाई लागेको बताएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here