काठमाडौं खाल्डोबाहिर पहिलोचोटि शिक्षाको ज्योति बाल्ने ठाकुर राम बहुमुखी क्याम्पस आज निरीह बनेको छ । मुलुकको शैक्षिक क्रान्तिमा ठाकुर रामको भूमिका अतुलनीय छ । त्यस बेला उपत्यकाको एकमात्रै विकल्प ठाकुर राम थियो । विकल्पको लागि मात्रै होइन, शिक्षाको गुणस्तर तथा शिक्षामैत्री वातावरणको लागि पनि ठाकुर राम अब्बल थियो । ‘कलेज होस् त ठाकुर राम जस्तो’ उपत्यकाबाहिर अन्य धेरै कलेज सञ्चालनमा आइसक्दा पनि यो भनाइ चलेको थियो । मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरू यहाँ शिक्षा आर्जन गर्न आउँथे । प्राध्यापक, लेखक, साहित्यकार, चिकित्सक, इन्जिनीयर, कलाकार, उद्योगी, व्यवसायी, नाम चलेका नेता, प्रशासकसमेत ठाकुर रामको उत्पादन आज पनि मुलुकका महत्वपूर्ण भूमिकामा छन् । प्रजातन्त्र तथा लोकतान्त्रिक आन्दोलनमा ठाकुर रामको नाम सुनेपछि शासकहरू थर्कमान हुन्थे । मुख्यतः वीरगंजको पहिचानमा ठाराबको अतुलनीय भूमिका छ । आज त्यही ठाराब शुभेच्छुकविनाको बेसहारा र निरीह बनेको छ ।
सन्तान टन्नै भएर पनि उपेक्षित वृद्ध आमाबुबाजस्तो ठाकुर रामको अवस्था छ । सम्पत्तिका लागि आफ्नै सन्तानले अवसान कुरिरहेका वृद्ध आमाबुबाजस्तो अवस्था छ । बेला न कुबेला टन्न जाँड धोकेर आएका सन्तानले पैसा माग्दै, चिथोर्दा थिलथिलो परेको आमाबुबाजस्तो ठाकुर रामको नियति बन्दैछ । भोलिका कर्णधार युवा विद्यार्थीहरू नै राजनीतिक प्रतिशोधमा आँखा चिम्लेर आफ्नै क्याम्पसलाई अचानो बनाइरहेका छन् । माया, संरक्षण र सद्भाव दर्शाउनुपर्ने शिक्षाको मन्दिरमा आगो झोसेर दन्दनी दन्काउनसमेत पछि परेनन् । पटकपटक विद्यार्थीले तालाबन्दी गरेर वाक्कदिक्क पारेको क्याम्पसमा कर्मचारी पनि भ्याइनभ्याइ तालाबन्दी गरिरहेका छन् । अध्यापक, प्राध्यापकको आन्दोलन त आवधिकरूपमा यसले भोग्दै आएको छ । सरकारी कलेज फस्टाएको मन नपराउनेहरू कतिपयको व्यवहार, वातावरण उत्तेजित पार्ने र क्याम्पसलाई असहयोग गर्ने किसिमको छ । यति हुँदा पनि नपुगेर त्रिवि परीक्षा बोर्डले घाउमा नून छर्कने काम ग¥यो । यी हर्कतका परिणाम ठाकुर रामबाट विद्यार्थी विस्थापित हुने हुन् । सम्पन्नका छोराछोरी ठाकुर राम पढ्न होइन, राजनीति गर्न जान्छन् । ताकि भोलिका राजनीतिक खुडकिला उक्लन सहज होस् । विपन्नका छोराछोरी ठाकुर राम जाने हुन्, तर कुनै न कुनै बहानामा यहाँको शैक्षिक वातावारण धूमिल भइरहेका छन् ।
शैक्षिक संस्थाको गहना वा सम्पत्ति भनेका विद्यार्थी हुन् । अहिले पनि ठाकुर राममा करीब १० हजार विद्यार्थी अध्ययनरत छन् । धेरैको आँखा गडेको यसैमा हो । यसमा परीक्षा बोर्डले ठूलो भूमिका निर्वाह गरिरहेको छ । ठाकुर रामको परीक्षा केन्द्र वीरगंजबाहिर पार्नुमा कुनै तर्कसङ्गत कारण छैन । यो त ठाकुर रामप्रति विद्यार्थी आकर्षित नहोस् भन्ने चाल मात्रै हो । प्रचण्ड गर्मीको बेला परीक्षार्थीले आफ्नो सवारी र बासको समेत प्रबन्ध मिलाउन नपाउने गरी बाहिर परीक्षा केन्द्र तोकिनुमा के कारण हुन सक्छ ? वीरगंजमा सुरक्षा र भौतिक पूर्वाधारको अभाव छैन । क्याम्पस परिवारदेखि त्रिविसम्मको भूमिका ठाराबलाई विद्यार्थीविहीन पार्ने देखियो । हिजो ठाकुर रामले जन्माएका बौद्धिक जमात चुप छ । शायद उनीहरू पनि ठाकुर राम बिग्रनुमा नै कुनै न कुनै रूपले फाइदा देखिरहेका हुन सक्छन् ।