प्रस, वीरगंज, १३ वैशाख/

निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू पाँच हजार ५६१ जनालाई निर्वाचन खर्च सार्वजनिक गर्न दिएको समयसीमा आज बुधवार सकिंदैछ।

पछिल्लोपटक आयोगले वैशाख ६ गते निर्णय गर्दै सात दिनभित्र खर्च विवरण सार्वजनिक गर्न आह्वान गरेको थियो। आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ११ गते विज्ञप्ति प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यका दुई हजार ३७३ र प्रदेशसभाका तीन हजार १८८ गरी पाँच हजार ५६१ जनालाई निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचनापाटी, गाउँपालिका, नगरपालिका, वडा कार्यालयको सूचनापाटी, राजनीतिक दलको कार्यालय, वेबसाइट साथै आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न र सार्वजनिक गरेको प्रमाणसमेतको जानकारी आआफ्नो प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा दिन निर्देश गरेको थियो।

यसैक्रममा पर्सा जिल्लाका केही सांसद, प्रदेशसभा सदस्यहरूले आआफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्।

हामीलाई प्राप्त सूचना अनुसार प्रतिनिधिसभा सदस्यमा पर्सा क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रदीप यादवले खर्च विवरण सार्वजनिक गर्दै रु १० लाख ४७ हजार ९८५ खर्च भएको जनाएका छन्। उनले पेश गरेको खर्च विवरणमा मतदाता नामावली खरीद गर्न रु तीन हजार, दुईवटा सवारीसाधन ४१ दिन प्रयोग गरेबापत चार लाख १० हजार, इन्धनमा एक लाख ४३ हजार, प्रचार सामग्रीमा दुई लाख ९३ हजार आठ सय, गोष्ठी–अन्तत्र्रिmयामा रु ७० हजार, प्रचारप्रसार, छापा तथा विद्युतीय माध्यममा ३१ हजार १८५, कार्यालय सञ्चालन ३० हजार, प्रतिनिधि, कार्यकर्ता परिचालनमा ३० हजार, विविध खर्चमा ३७ हजार गरी रु १० लाख ४७ हजार ९८५ खर्च भएको जानकारी निर्वाचन आयोगलाई दिएका छन्।

यसैगरी, प्रतिनिधिसभा सदस्यमा पर्सा क्षेत्र नं २ बाट निर्वाचित अजयकुमार चौरसियाले रु १२ लाख ९४ हजार ३१३ खर्च भएको जनाएका छन्। उनले पेश गरेको खर्च विवरणमा मतदाता नामावली खरीदमा नौ हजार ९८०, सवारीसाधनमा एक लाख ३८ हजार ९९०, प्रचारप्रसार सामग्रीमा एक लाख ५५ हजार तीन सय, गोष्ठी–अन्तत्र्रिmया तथा नास्ता, चियामा दुई लाख नौ हजार पाँच सय, छपाइ एवं विद्युतीय माध्यम सामाजिक सञ्जालसमेतमा खर्च रु ३२ हजार ४७४, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन, डिजेल–पेट्रोलमा चार लाख ८६ हजार ६९, पोलिङ एजेन्ट परिचालन खर्च रु दुई लाख छ हजार, विविध खर्च ५६ हजार गरी रु १२ लाख ९४ हजार ३१३ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेशसभा सदस्यमा पर्सा क्षेत्र नं २ (२)बाट निर्वाचित श्याम पटेलले तीन लाख ८१ हजार पाँच सय खर्च भएको विवरण पेश गरेका छन् भने पर्सा क्ष्Fेत्र नं ३ (२)बाट निर्वाचित जनार्दनसिंह क्षत्रीले तीन लाख ७५ हजार पाँच सय खर्च विवरण पेश गरेका छन्।

पर्सा क्षेत्र नं ३ (१)बाट प्रदेशसभामा निर्वाचित प्रमोद जयसवालले निर्वाचन खर्च चार लाख २० हजार पेश गरेका छन्।

यसैगरी, पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित रमेश रिजालले चुनावमा आठ लाख ११ हजार ३०५ खर्च भएको बताएका छन्। उनले मतदाता नामावलीमा तीन हजार, सवारीसाधनमा एक लाख, प्रचारप्रसार सामग्रीमा पाँच लाख नौ हजार ७२०, अन्य प्रचारप्रसारमा ८२ हजार छ सय, विद्युतीय माध्यम र सामाजिक सञ्जाल, एफएम रेडियोसहित विज्ञापनमा रु ८० हजार, कार्यालय सञ्चालनमा ३५ हजार ९१५ खर्च देखाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here