बारा क्षेत्र नं २ को उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ र जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मङ्गलवार राति घोषित परिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पराजित गरी विजयी भएका हुन्। यादवले २८ हजार ४१५ मत पाए भने कुशवाहाले २३ हजार ३३४ मत पाए।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुशवाहा जसपाकै रामसहाय यादवसँग ३५४ मतान्तरले पराजित भएका थिए। तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका कुशवाहा उपनिर्वाचनमा जनमत पार्टीबाट चुनाव लडेका हुन्।
यसैगरी, उपनिर्वाचनमा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरे। आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले दुई हजार ७३८, राप्रपाका सोनालालप्रसाद साह तेलीले ११९, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारीले १०९, नेमकिपाका मुक्तिप्रसाद यादवले ६० मत पाएका छन्।
निर्वाचित भएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले पत्रकारहरूलाई प्रतिक्रिया दिंदै निर्वाचन परिणाम स्वाभाविक भएको बताए। उनले सप्तरीमा पराजित र बारामा जित्नुलाई अस्वाभाविक नलिन आग्रह गरे। उनले बाराका जनताले गुन लगाएको र चुक्ता गर्न हरसम्भव प्रयास गर्ने बताए। उनले तत्काल सरकारमा जाने कुरालाई अस्वीकार गरे। सरकारमा सहभागी हुने तर तत्काल सोच नबनाएको उनले बताए।
यसैगरी, प्रदेश सरकारले पूर्णता पाउने र सत्ता गठबन्धनका सबै दलको सहभागिता हुने बताए पनि मुख्यमन्त्रीको हेरफेरको विषयमा उनले बोल्न चाहेनन्। उनले नागरिकता, सङ्घीय, आर्थिक सुशासन, मधेसी जनताको प्रतिनिधित्व र सहभागितालगायतका विषयलाई हल गर्न प्रयास गर्ने बताए।
तीन दलबाहेक बारा क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेदवार भएका सबैले जमानत जोगाउन सकेनन्। उपनिर्वाचनमा राजनीतिक दलबाट १२ जना उम्मेदवार थिए भने स्वतन्त्र २२ जना उम्मेदवार थिए।
जसपाका उम्मेदवार विजयी भए भने जनमत पार्टी दोस्रो र तेस्रो भएको एमालेले मात्र जमानत जोगाउन सक्यो। बाँकी नौवटा दल र २२ जना स्वतन्त्र उम्मेदवारले जमानत गुमाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, आम जनता पार्टीका अरुण ज्ञवाली, राप्रपाका सोनालालप्रसाद साह तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्तिप्रसाद यादव, नेपाल सङ्घीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रमोद राम चमार र स्वतन्त्र उम्मेदवारहरूले जमानत जोगाउन सकेनन्। उनीहरूले दुई अङ्कभन्दा बढी मत ल्याउन सकेनन्।