प्रस, वीरगंज, ९ वैशाख/
पर्साको धोबिनी गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
गापा अध्यक्ष मदन चौहानले मनोमानी गरेको भन्दै गापा उपाध्यक्षसहित कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका हुन् । एक महीनादेखि कार्यालय नआएका अध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसेनसँगको मिलेमतोमा व्यापक अनियमितता गरेको कार्यपालिका सदस्यहरूको आरोप छ ।
गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवीको नेतृत्वमा कार्यपालिका सदस्यहरूले गाउँपालिका कार्यालयमा ताला लगाएका हुन् ।
उपाध्यक्ष मञ्जु देवीका अनुसार अध्यक्ष चौहान चैत १२ गतेदेखि कार्यालय आएका छैनन् । आफैंले पत्र काटेर चैत २४ गते कार्यपालिकाको बैठक डाके पनि उपस्थितिमा हस्ताक्षर नगरी अध्यक्ष चौहान फर्किएका उपाध्यक्ष मञ्जु देवीको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुसेन पनि चैत ३० गतेदेखि सुत्केरी स्याहार बिदामा छन् । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नआउँदा कार्यालयको कामकाज प्रभावित भएकोले दबाबस्वरूप कार्यालयमा तालाबन्दी गरिएको धोबिनी गापा वडा नं ४ का अध्यक्ष अब्बास मियाँ चुडिहारले बताए । अध्यक्ष चौहानले राजनीतिक प्रतिशोध साँध्ने मनसायका साथ करारका १५ जना कर्मचारीलाई एकल निर्णयले हटाएको वडाध्यक्ष चुडिहारको आरोप छ । “बोर्डबाट निर्णय नै नगरी अध्यक्षज्यूले एकलौटीरूपमा आफ्ना नजीकका मान्छेलाई राखेर १५ जना करारका कर्मचारीलाई हटाउनुभयो,” उनलेले भने, “यति मात्रै हैन, उहाँ कार्यालयमा नआएको पनि एक महीना भइसक्यो, सबै कामकाज प्रभावित हुँदा जनतालाई समस्या भएको छ ।”
गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल धनञ्जय दास समयमैं कार्यालय नआए आन्दोलन अझै चर्काउने कार्यपालिका सदस्य दिनेश कलवारको चेतावनी छ । उपाध्यक्ष मञ्जु देवीको नेतृत्वमा १० जना कार्यपालिका सदस्यले तालाबन्दी गरेका हुन् । आफू अल्पमतमा परेको दुःखेसो पोख्दै गाउँपालिका अध्यक्ष चौहानले जे गरे पनि विरोध गरिरहेको प्रतिक्रिया दिए । उनले आफू एक महीनादेखि कार्यालय नगएको आरोप निराधार भएको बताए । “गाउँपालिका अध्यक्षको काम बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालयमैं बस्ने होइन, म समय मिलाएर गइरहन्छु, म गएको बेला उहाँले देख्नुभएको छैन होला । एक महीनासम्म नगएको भन्ने आरोप निराधार हो,” उनले भने ।
प्रमुख प्रशासकीय अधिकृतसँगको मिलेमतोमा भ्रष्टाचार गरेको भन्ने आरोपलाई प्रमाणसहित प्रमाणित गर्न अध्यक्ष चौहानले चुनौती दिए ।