प्रस, वीरगंज, ८ वैशाख/
जिल्ला प्रशासन कार्यालय, बाराले बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनको कारण शुक्रवारदेखि आइतवारसम्म तीन दिन जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा बन्द गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सूचना जारी गर्दै निर्वाचन तयारी, शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दासम्बन्धीबाहेक सबै सेवा वैशाख १० गतेसम्मको लागि बन्द गरिएको जनाएका छन् ।
यसैगरी, गृह मन्त्रालयको परिपत्र अनुसार उपनिर्वाचन हुने बारा क्षेत्र नं २ का सबै सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, मतदान केन्द्र र मतदान स्थलको लागि बन्द गर्न सूचित गरिएको छ । विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयमा मतदान केन्द्र, मतदान स्थलको व्यवस्था गरिएको हुँदा बन्द गर्नुपरेको उनले बताए ।
यसैगरी, वैशाख १० गते हुने उपनिर्वाचनमा एम्बुलेन्स, खानेपानी, वारुणयन्त्र, दूध बोक्ने सवारीसाधन, सञ्चारकर्मी, दूरसञ्चार, शववाहन, स्वास्थ्यकर्मी, निर्वाचन आयोगबाट जारी परिपत्रवाहक, फोहरमैला, तरकारी, फलफूल, विद्युत् सेवाका सवारीसाधन, कूटनीतिक नियोगका गाडीहरू, विदेशी पर्यटक बोकेको हरियो नम्बरको प्लेट भएका सवारीसाधन र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको प्रजिअ सापकोटाले जनाएका छन् ।
यसैगरी, उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रवारदेखि तीन दिनसम्म बारा जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, बाराले सूचना जारी गरी शुक्रवार राति १२ बजेदेखि आइतवार राति १२ बजेसम्म भारतीय सीमानाका बन्द रहने प्रजिअ सापकोटाले बताए ।
बारा क्षेत्र नं २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूर्ण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले बताए ।
मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको प्रजिअ सापकोटाले बताए ।