• डा शिवशङ्कर यादव

विचार गर्नुस् त हामीले हिंडेर कहीं जाने बेलामा त्यस दूरीलाई कसरी पूरा गर्छौं ? एक/एक पाइला बढाउँदै कोसौं टाढा पुग्छौं । त्यो एक/एक पाइला कसरी अगाडि बढ्छ ? जब एउटा खुट्टा अगाडि सर्छ, अर्को टक्क रोकिन्छ । फेरि अगाडि बढेको खुट्टा रोकिन्छ र पहिलो अगाडि सर्छ । यसरी हामी टाढाटाढाको भ्रमण गर्छौं । त्यस्तै, चाहेमा हामीले दुगुरेर पनि कहींकहीं जान्छौं । प्रक्रिया त त्यही हिंडाइ नै हो तर खुट्टाको अगाडि सर्ने र रोकिने प्रक्रिया छिटोछिटो हुन्छ । कल्पना गर्नुस् त यस प्रक्रियामा एउटा खुट्टा रोकिएन भने के हुन्छ ? हामी कहीं पनि जान सक्दैनौं र त्यहीं लड्न पुग्छौं । हो, यही खुट्टाको तालमेल मिलाउने काम गर्छ ब्रेनको सेरिबैलम भागले जसलाई पछाडिको ब्रेन अर्थात् बिहाइन्ड ब्रेन पनि भनिन्छ, जो हाम्रो खप्परको पछाडिको भागमा पाइन्छ । यसको खोज धेरै अगाडि वैसालियसले लगाएका थिए तर सन् १५०१ मा मैग्नस ननटले यसको नामकरण गरे । ल्याटिनमा सेरिबैलमको अर्थ लिटिल ब्रेन हो । १७औं शताब्दीमा थोमस विलिसले पनि यसको केही अध्ययन गरे । १८औं शताब्दीको मध्यमा मेरी जिन पियरे फ्लोरोसेन्सले एउटा परेवाको सम्पूर्ण सेरिबैलम नै झिकेर परिणाम के हुँदैछ भनेर हेर्न पुगिन् । अचम्म सम्पूर्ण सेरिबैलम झिके पनि परेवा मरेन र हिंडिरह्यो तर घरी यता र घरी उता लडखडाउँदै तर कुनै सन्तुलन नै नमिलेको जस्तै । यसले यो प्रस्ट भयो कि सन्तुलन मिलाउने काम सेरिबैलमको हो र यसविना प्राणी तत्काल मर्दैन । त्यसपछि १९औं शताब्दीमा यसको विस्तृत अध्ययन भयो र आजसम्म जारी छ ।

ब्रेनका तीन भाग छन्– फोरब्रेन, मिडब्रेन र बिहाइन्डब्रेन । फोरबे्रनलाई सेरिब्रम र बिहाइन्डब्रेनलाई सेरिबैलम पनि भनिन्छ । यसमा मिडब्रेन त धेरै सानो हुन्छ तर सेरिब्रम र सेरिबैलम ठूला हुन्छन् । सेरिबैलम टोटल ब्रेनको केवल १० प्रतिशत भाग मात्र हो तर अचम्म यो छ कि शरीरका सम्पूर्ण स्नायु तन्त्रको आधाभन्दा बढी न्युरोनहरू यसैमा हुन्छन् । कसरी भयो यो सम्भव ? सेरिबैलमलाई हेरेर मात्र नै यो पत्ता सजिलै लाग्छ । जहाँ सेरिब्रमका जाइरस ठूलाठूला र मोटामोटा हुन्छन्, त्यहाँ सेरिबैलमको जाइरस मिहीन र अत्यधिक कम्प्याक्ट अर्थात् सानैमा अधिक अटाउन सक्ने हुन्छ । यसको तुलना ल्यापटप र मोबाइलसँग गर्न सकिन्छ । ल्यापटप सेरिब्रम हो भने मोबाइल सेरिबैलम हो । ल्यापटपमा त्यही कुरा ठूलो ठाउँमा फिट गरिन्छ भने मोबाइलमा त्यसैलाई सानै ठाउँमा फिट गरिन्छ । जुन जुन काम ल्यापटपले गर्छ, ती सबै काम मोबाइलले पनि गर्छ । तर यहाँ एउटा अन्तर छ, ल्यापटप र मोबाइललाई एकअर्कासँग कुनै लेनादेना छैन अथवा दुवै स्वतन्त्र हुन्छन् । तर यहाँ सेरिबैलमरूपी मोबाइल सेरिब्रमरूपी ल्यापटपको सहयोगी मात्र हो । सेरिबैलमविना सेरिब्रमको काम र सेरिब्रमविना सेरिबैलमको काम अपूरो हुन्छ । सेरिब्रमले जुन काम शुरू गर्छ, त्यसैको सुरताल मिलाउने काम सेरिबैलमले गर्छ । मतलब सेरिबैलमले कुनै कामको सुरुआत गर्दैन । परेवाको सेरिबैलम निकालियो । हिंड्ने काम सेरिब्रमले शुरू गरेको थियो, जुन जारी छ, परेवा हिंडिरह्यो । तर उसको हिंडाइको सुरताल मिलिरहेको थिएन र लडीबुडी खेलिरहेको थियो । मानौं, कुनै मानिसलाई समातेर तपाईंले सिढीमा चढाउँदै हुनुहुन्छ । त्यो मानिस सेरिब्रम हो र तपाईं सेरिबैलम ।

ब्रेनका सम्पूर्ण मेमोरी २.५ पेटाबाइट अथवा १०२४ टेराबाइट अथवा २.५ मिलियन गिगाबाइटको हुन्छ । हिसाब गर्नुस्, यसको आधा सेरिबैलमको हिस्सामा आउँछ । यति परिचयपछि आउनुस्, सेरिबैलमको बनोट, केही कार्य र उसको सम्पादन विधिबारेमा जानौं । ब्रेन चानचुने संरचना होइन । त्यसैले आज सेरिबैलमको केवल बनोट मात्र हामी जान्नेछौं ।

सेरिबैलमको बीचमा कीडाजस्तो एउटा संरचना हुन्छ, जसको नाम पनि कीडाको नामले भर्मिस नै हो । भर्मिसको दुवैतिर एकएकटा खाँचा अथवा लोब हुन्छ, जसलाई दायाँ र बायाँ सेरिबैलम हेमिस्फेयर भनिन्छ । सेरिब्रमभन्दा यो यस मानेमा फरक छ कि दुवै सेरिब्रल हेमिस्फेयरको बीचमा एउटा ठूलो ग्रुभ अथवा खाडल हुन्छ । जबकि यहाँ उठेको भाग भर्मिस हुन्छ । भर्मिसको अगाडि र माथिको भागलाई सुपेरियर र पछाडि तथा तलको भागलाई इन्फेरियर भर्मिस भनिन्छ । गड्यौला हेर्नुभएको छ भने जसरी त्यसको जीउमा धेरै सेप्टा हुन्छ, त्यस्तै भर्मिसमा नौवटा भाग हुन्छन् । सुपेरियर भर्मिसमा लिन्गुला, सेन्ट्रल लोब, कलमेन, लोबुलस सिमप्लेक्स र डिक्लाइभ तथा इन्फेरियर भर्मिसमा क्रमशः ट्युबर, पिरामिड र नोड्युलस हुन्छन् । नोड्युलस दुवैतिर लामो भएर जान्छ, जसलाई फ्लोकुलस भनिन्छ र दुवैतिरको मिलाएर फ्लोकुलोनोड्युलर लोब भनिन्छ । जसरी फोक्सोलाई तीनवटा लोबमा बाँड्ने फिसर हुन्छ, त्यस्तै यहाँ पनि तीनवटा फिसर हुन्छन्– प्राइमरी फिसर, जुन कलमेन र लोबुलस सिमप्लेक्सको बीचमा, प्रिपिरामिडल फिसर जुन ट्युबर र पिरामिडको बीचमा र पोस्टिरोलैट्रल फिसर जुन युभुला र नोड्युलसको बीचमा हुन्छ ।

अब आउनुस्, दायाँ र बायाँ मुख्य लोब अथवा हेमिस्फेयरमा । प्रत्येक हेमिस्फेयरमा दुर्ईटा भाग हुन्छ । ठूलो भागलाई लोबुलस एन्सिफौर्मिस र सानो भाग जसलाई पारामेडियनस भनिन्छ । अब आउनुस्, यसको पनि विभाजनमा । यो विभाजन तीन प्रकारले गरिन्छ । एनाटोमिकल, कार्यगत र विकासक्रमको अनुसार । एनाटोमिकल रूपमा सेरिबैलमका तीन लोब हुन्छन् ः एन्टेरियर लोब, पोस्टेरियर लोब र फ्लोकुलोनोड्युलर लोब । पहिलो लोबमा लिन्गुला, कलमेन र सेन्ट्रल लोब आउँछन्, जुन प्राइमरी फिसरले बाँकीबाट अलग हुन्छ । दोस्रोमा लोबुलस सिमप्लेक्स, डिक्लाइभ, ट्युबर पिरामिड, युभुला, पाराफोलिकुलस र हेमिस्फेयरको एन्सिफोर्मिस र पारामेडियनस आउँछन् । तेस्रोमा नोड्युलस र फ्लोकुलस आउँछन्, जुन बाँकी भागबाट पोस्टिरोलैट्रल फिसरले अलग हुन्छ । कार्यगत विभाजन अनुसार पनि सेरिबैलमका तीन भाग हुन्छन्– भेस्टिबुलोसेरिबैलम, स्पाइनोसेरिबैलम र कर्टिकोसेरिबैलम । पहिलोमा फ्लोकुलोनोड्युलर लोब आउँछ, जसले आर्किसेरिबैलम बनाउँछ । दोस्रोमा समावेश हुन्छ लिङ्गुला, सेन्ट्रल लोब, कलमेन, लोबुलस सिमप्लेक्स, डिक्लाइभ, ट्युबर, पिरामिड, युभुला, पाराफ्लोकुलसहरू, लोबुलस एन्सिफोर्मिस र पारामेडियनसका मेडियल भागहरू आउँछन् । यसमा युभुलालाई कतिपय फिजियोलोजिस्टले यसको भाग मान्दैनन् । तेस्रोमा लोबुलस एन्सिफोर्मिस र पारामेडियनसका लैट्रल भागहरू आउँछन् । विकासक्रमको अनुसार सेरिबैलमका दुई भाग हुन्छन्– पैलियोसेरिबैलम र नियोसेरिबैलम । पहिलो विकासक्रमको अनुसार पुराना भाग हुन्, जसमा आर्किसेरिबैलम र पैलियोसेरिबैलम प्रोपर भने दुई भाग हुन्छन् । यसको पनि पहिलो भागमा फ्लोकुलोनोड्युलर लोब आउँछ भने दोस्रोमा लिगुला, सेन्ट्रललोब, कलमेन, लोबुलस सिमप्लेक्स, युभुला, पिरामिड र पाराफोलिकुलसहरू आउँछन् । त्यस्तै, नियोसेरिबैलममा डिक्लाइभ, ट्युबर र हेमिस्फेयरको लोबुलस एन्सिफोर्मिस र लोबुलस मेडियनस आउँछन् ।

फन्क्सनल एनाटोमीमा ग्रेमैटर, ह्वाइटमैटर र ग्रेमास गरी तीन अवयव हुन्छन् । ग्रेमैटर ब्रेनको अन्य भाग सरह सेरिबैलमको माथिल्लो भाग भयो ।  ह्वाइटमैटर बिजलीको तार जस्तो नर्भफाइबरहरूको एफरेन्ट र इफरेन्ट नर्भफाइबरहरूको जाल पनि अन्य सरह भित्री भाग हो । अब ग्रेमैटर मास भनेको यहाँ एउटा अलग्गै न्युक्लियसहरूको सङ्ग्रह हो, जुन ह्वाइटमैटरको बीचबीचमा पनि छरिएका हुन्छन् । अतः सेरिबैलममा तीन कुरा भए, बाहिरी ग्रेमैटर, जो समान मोटाइका हुन्छन्, ह्वाइटमैटर र ग्रेमास । यसमा ग्रेमैटरलाई नै सेरिबैलर कार्टेक्स भनिन्छ । यसको तीन परत हुन्छः बाहिरी मोलिकुलर लेयर, बीचको इन्टरमेडियल वा परकिन्जी लेयर र भित्री ग्रेन्युलर लेयर । पहिलोलाई प्लेक्सिफर्म लेयर पनि भनिन्छ । यसमा सेलहरू दुर्ई तहमा सजाइएका हुन्छन्ः सुपेरियर स्टार जस्तो स्टिलेट सेल र इन्फेरियर बास्केट सेल । यसको अतिरिक्त यसमा समानान्तर फाइबर, जुन ग्रेन्युलर सेलका एक्सन हुन्छन् र एफेरेन्ट क्लाइम्बिङ फाइबरहरू तथा पर्किन्जी र गोल्जी सेलका डेन्ड्राइटहरू हुन्छन् । यस लेयरमा केही सेलजंक्सन वा सिनेप्सहरू हुन्छन् यथा स्टिलेटसेल र बास्केटसेलका डेन्ड्राइटका समानान्तर फाइबरहरूसँग स्टिलेटसेलका एक्सन र पर्किन्जी सेलका डेन्ड्राइटहरूसित तथा पर्किन्जी सेलका डेन्ड्राइटका समानान्तर र क्लाइम्बिङ फाइबरहरूसँग । अब पर्किन्जी लेयरको विवरणमा आउनुस्ः

यो बीचको र पातलो तह हो । यसमा केवल एक तह हुन्छ, जसमा फ्लास्क आकारका सेलहरू हुन्छन्, जसलाई पर्किन्जी सेल भनिन्छ । यो शरीरमा सबैभन्दा ठूलो न्युरोन हो । यसका डेन्ड्राइटमाथि चढेर मोलिकुलर लेयरको समानान्तर र क्लाइम्बिङ लेयरमा खत्तम हुन्छ । बास्केट सेलका एक्सन मोलिकुलर लेयरबाट तल झर्छन् र पर्किन्जी लेयरमा गएर टुङ्गिन्छन् । पर्किन्जी सेलको एक्सन तल झरेर ह्वाइटमैटरमा जान्छन्, जुन सेरिबैलर र भेस्टिबुलर न्युक्लियसहरूमा समाप्त भई भेस्टिबुलोसेरिबेलर ट्रैक्टको निर्माण गर्छ । पर्किन्जी फाइबरलाई सेरिवेलरकार्टेक्सको फाइनल पाथ भनिन्छ किनभने अन्य सबै भागका इन्पुट यहीं भएर ब्रेनको अर्को भागमा जान्छन् ।

अब बाँकी रह्यो ग्रेन्युलर लेयर । त्यसलाई पनि पढौं । यो ग्रेमैटरको सबैभन्दा भित्री तह हो, जो गोल्जी र ग्रेन्युलर सेलले बनेको हुन्छ । शरीरका सम्पूर्ण नर्भस सिस्टमका आधा इन्टरन्युरोन यही पाइन्छन् । ग्रेन्युलर सेलको एक्सनमाथि गएर समानान्तर फाइबरको निर्माण गर्छ, जुन पर्किन्जी सेल, स्टिलेट सेल, गोल्जी र बास्केट सेलसँग सिनेप्स अर्थात् जक्सन बनाउँछ । यी जक्सन अथवा सिनेप्टिक एरियालाई ग्लोमेरुलस भनिन्छ, जुन ग्लायल सेलहरूका प्रोजेक्सनले ढाकिएका हुन्छन् ।

यति भनेपछि आजको व्याख्यान बन्द गरौं । ह्वाइटमैटरको वर्णन अर्को साता । २.५ मिलियन गिगाबाइट भएको ब्रेनको बनोट र कार्य बुझ्न अहिले यति मात्र सम्भव भएको हो । मलाई लाग्छ कि पाठकबृन्दलाई यो रुचिकर लाग्दैन र बुझ्न सकिने कुरा कठिन हुनेछ किनभने खोइ कुन्नी टेलिकम वा बिजली विज्ञानको अध्ययनमा यस्ता न्युक्लियस अथवा प्वाइन्टहरू र तारहरूका नाम पढाइन्छ वा पढाइँदैन । तर जीवविज्ञानमा पढाइन्छ । नाम याद नरहे पनि केवल काम र जिस्ट मात्र बुझ्न कोशिश गरियो भने मात्र पनि पुग्छ । प्रतीक परिवारलाई नयाँ वर्षको मुरीमुरी शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here