• विश्वराज अधिकारी

दी अमेरिकन ड्रिम

 ‘दी अमेरिकन ड्रिम’ अमेरिकीहरूको एक राष्ट्रिय नारा हो । एक अभियान हो । एक सोच हो । एक अवधारणा हो । यो अवधारणालाई सबै अमेरिकीले आफ्नो राष्ट्रिय सोचको रूपमा लिन्छन् ।

सामान्य अर्थमा ‘दी अमेरिकन ड्रिम’ वा ‘अमेरिकी सपना’ भनेको अमेरिकीहरूको साझा उद्देश्य हो । तर यसको अनेक किसिमले अर्थ लगाउने गरिएको पाइन्छ । अमेरिकी सपना भनेको अमेरिकीहरूको इच्छा, आकाङ्क्षा, सोचाइ, कल्पना, चाहना भन्ने पनि बुझिन्छ । अमेरिकी सपनालाई केहीले एक किसिमको भनाइ वा साझा राष्ट्रिय विश्वास पनि भन्ने गरेको पाइन्छ ।

अमेरिकी सपना भनेको सबै नागरिकले विना कुनै भेदभाव समान व्यवहार पाउनु हो । कठोर परिश्रम गरेर आर्थिक सफलता प्राप्त गर्न पाउनु हो । प्रगति गर्नका लागि सबैलाई समान किसिमको अवसर प्राप्त हुनु हो । आर्थिक सफलताको माथिल्लो खुडकिलोमा पुग्न कुन पनि किसिमको अवरोधको सामना गर्नु नपर्ने हो ।

हरेक परिवारसँग आफ्नो एउटा घर होस् । सवारीका लागि एउटा कार होस् । गृहस्थी धान्नका लागि नियमित किसिमको आम्दानी हुने कुनै आयको स्रोत होस् । यी कुराहरूलाई पनि कतिपयले अमेरिकी सपनासँग जोडेर हेरेको पाइन्छ । अर्थात् अमेरीकी सपना भनेको सबैले सजिलो गरी, सुरक्षित र सुखपूर्वक जीवन बाँच्न पाउनु हो । सबै अमेरिकीलाई खाने र बस्ने वा भोजन र आवासको सदा सुविधा हुनु अमेरिकी सपना हो ।

अमेरिकालाई अवसरहरूको देश तुल्याउनुलाई पनि अमेरिकी सपना भन्ने गरिन्छ । ऐन, कानून र नियमभित्र रहेर कडा परिश्रम गर्न खोज्ने जुनसुकै व्यक्तिले कडा परिश्रम र बौद्धिक क्षमता प्रयोग गरेर चाहे जतिको उन्नति र प्रगति गर्न पाउनु अमेरिकी सपना हो । विना कुनै अवरोध एक सामान्य व्यक्तिले पनि गगनचुम्बी सपना साकार गर्न पाउनु अमेरिकी सपना हो ।

अमेरिकामा धनी व्यक्तिहरूमध्ये धेरै व्यक्तिहरू आआफ्नो पुख्र्यौली सम्पत्ति प्रयोग गरेर होइन, आफैंले आर्जन गरेर धनी भएका छन् । आफ्नो बौद्धिक क्षमता प्रयोग गरेर धनी भएका छन् । आफैंले कठोर परिश्रम गरेर र पसिना बगाएर धनी भएका छन् । जोन डी रोक्फेलर पनि त्यसैगरी कठोर परिश्रम गरेर धनी हुने व्यक्तिहरूमध्ये एक हुन् । रोक्फेलर आफ्नो समयमा विश्वका अति धनीहरूमध्ये एक थिए । यसैगरी, प्रख्यात अमेरिकी कम्पनी अमेजनका जनक जेफ बेजोस र माइक्रोसफ्टका जनकमध्येका एक बिल गेट्सले पनि धनाढ्य हुन पुख्र्यौली सम्पत्ति प्रयोग गरेको सुनिएको छैन । दुवै ब्यक्ति आफ्नै परिश्रमले धनी भएका हुन् ।

को कहाँ र कुन देशमा जन्मेको थियो र कुन वर्गभित्र पर्छ जस्ता कुराहरूलाई कुनै पनि किसिमको आधार नमानेर हरेकलाई अमेरिकाभित्र अग्रगमन गर्न दिनु, प्रगति गर्न दिनु नै अमेरिकी सपना हो । अमेरिकी विश्वास अनुसार सबै व्यक्तिको सिर्जना विना कुनै भेदभाव समान किसिमले गरिएको छ । यो जात उच्च र त्यो जात निम्न भन्ने छैन । देशभित्र सबैले समान किसिमले रहन पाउनुपर्छ । समान व्यवहार पाउनुपर्छ ।

सबै अमेरिकीले अमेरिकी सपना मिलेर साकार गर्नुपर्छ भनी सोच्नु पनि अमेरिकी सपनाभित्रको एक अर्को अवधारणा हो । सरकार, सामान्य नागरिक, सङ्घसंस्था आदि सबै मिलेर अमेरिकी सपना साकार गर्न सक्रिय रहनुपर्छ । यसरी अमेरिकी सपनालाई विभिन्न सोच र विचारहरूद्वारा परिभाषित गरिएको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here