प्रस, सेढवा, २ वैशाख/

प्रहरीले सुराकीका आधारमा गरेको कारबाईमा बिहीवार र शुक्रवार मोटरसाइकल चोरी गर्ने गिरोहका दुईजना चोरलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली र सेढवाको संयुक्त टोलीले कारबाई गरेको हो। पक्राउ पर्नेमा जीराभवानी गापा–५ का अजित चौधरी र वडा नं २ सेढवाका सञ्जय दास रहेका छन्।

प्रहरीले शनिवार दिउँसो करीब ३ः३० बजे सेढवा निवासी दासको बाख्राखोरमा जमीनमुनि खाल्डो खनी एउटा मोटरसाइकलको सम्पूर्ण पार्टपुर्जा बरामद गरेको छ। मोटरसाइकल चोरीका घटनामा थप केही चोरहरूको सहभागिता रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलधनीले आफ्नो मोटरसाइकलमा अर्काे नम्बर राखी चलाएको देखेर व्यवहारमा फिर्ता गर्न आग्रह गरेका थिए। मोटरसाइकलधनी र चोरबीच मोटरसाइकल फिर्ता गर्ने कुरामा सहमति भएपछि चोरले पटेर्वासुगौली गापा–४ भलुवाही खोलाको छेउमा रहेको सुगौली खेलमैदान आसपासमा मोटरसाइकल राखिदिने शर्त अनुसार मोटरसाइकल राखेर भाग्ने कर्ममा अजित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। चौधरीलाई सखुवाप्रसौनी गापाको कार्यालयअगाडि हिजो राति ९ बजे पक्राउ गरिएको थियो।

जीराभवानी गापा–२ सेढवामा थारू समुदायको पर्व घाटोको अवसरमा चैत २३ गते आयोजित रात्रिकालीन सांस्कृतिक कार्यक्रममा एउटा मोटरसाइकलको चोरी भएको थियो। जीराभवानी गापा–३ नौकाटोला निवासी सीताराम चौधरीको  म.प्र.०३–ना.२४प४४१६ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो। दुई दिनपछि २५ गते जीराभवानी गापा–१ पकडीटोलाबाट पनि लु.१०प १२०२ नम्बरको पल्सर मोटरसाइकल र नम्बर नखुलेको यामाहा आर–१५ मोटरसाइकल चोरी भएको थियो।

यसैगरी, इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली र सेढवाको संयुक्त टोलीले शनिवार बिहान करीब ११ बजे जीराभवानी गापा–५ शङ्करसरैयाबाट मोटरसाइकल बरामद भएको इप्रका, पटेर्वासुगौलीका प्रनानि अजयकुमार ठाकुरले बताए। ना.३७प ५०२९ नम्बरको होन्डा साइन मोटरसाइकल बरामद भएको प्रनानि ठाकुरले बताए। मोटरसाइकल सोही गापा–२ बैजनाथपुर निवासी एकजना व्यक्तिको रहेको प्रहरीले जनाएको छ। सो मोटरसाइकल पटेर्वासुगौली गापा–४ पटेर्वामा बुधवार राति आयोजित घाटो महोत्सवबाट चोरी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here