प्रस, वीरगंज, २ वैशाख/

विन्ध्यवासिनी गाउँपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत बालबालिकाले नौ महीनादेखि दिवाखाजा खान नपाएको समाचार प्राप्त भएको छ। चालू आवको साउनदेखि गाउँपालिकाको कार्यालयले दिवाखाजाको लागि रकम नपठाएकोले बालबालिकालाई दिवाखाजा दिन बन्द गरेको शिक्षकहरूले बताए।

गापा अन्तर्गतका १४ वटा विद्यालयमा छ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा प्रमुख कपिल लामिछानेले बताए। दिवाखाजा सञ्चालनबारे प्रमुख लामिछानेसँग बुझ्दा अहिले विद्यालय बन्द छ, खुल्नेबित्तिदै खाजाको रकम सबै विद्यालयहरूमा पठाउने बताए। अहिलेसम्म किन्न रोकिएको थियो भन्नेबारे लामिछानेले विद्यालयहरूले स्थानीय बजार वा पसलबाट सामान खरीद गरी खाजा खुवाउँछन्, जुन लेखापरीक्षकले नमानेपछि रोकिएको बताए। आफू भर्खर प्रमुख भएर आएपछि खाजाको लागि पहल गरेकोले चाँडै शुरू हुने दाबी गरे। स्काउट निमाविका प्रअ प्रमोद चौरसियाका अनुसार शुरूदेखि नै आफूलगायत पर्साका पालिकाहरूले स्थानीय बजारबाट नै सामानहरू खरीद गरी खुवाउँदै आएको बताए। तर अहिले नयाँ नेतृत्व आएदेखि रोकिएको बताए।

खाजा नपाउँदा अभिभावकहरू दैनिक विद्यालयमा झगडा गर्न आउने गरेको बताए। छिमेकी गापाका विद्यालयहरूमा विद्यार्थीहरूले खाजा खाने तर यहाँका विद्यार्थीहरूले खान नपाउने भनी ठूलो लापरवाही भएको बताए। अहिलेसम्म सोही मापदण्ड अनुसार खाजा खुवाउँदा कुनै किसिमको विवाद वा बेरुजू नभएको तर अहिले बेरुजू हुन्छ भनेपछि सेवा रोकिएको अन्य शिक्षकहरूको भनाइ छ।

दिवा खाजाको उद्देश्य तथा मापदण्ड तथा फाइदा

नेपाल सरकारले तोकेको पोषण मापदण्ड तथा स्थानीय परिवेश, संस्कृति र प्रचलनलाई आधार बनाएर स्थानीयस्तरमा उत्पादन हुने खाद्य सामग्रीहरू प्रयोग हुने गरी तयार गरिएको दैनिक परिकारहरूको सूची विद्यालयले बनाउँछ। नेपाल सरकारले विद्यालय उमेर समूहका एकजना विद्यार्थीका लागि दैनिकरूपमा चाहिने शक्ति

(क्यालोरी)लगायत बृहत् पोषक तत्व (प्रोटीन र चिल्लो पदार्थ) तथा सूक्ष्म पोषक तत्व (आयोडिन, आइरन, जिङ्क, भिटामिन ए)को मात्राको ३० प्रतिशत दिवाखाजाबाट परिपूर्ति हुनुपर्ने गरी मापदण्ड तयार गरेको छ।

दिवाखाजाले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको तत्कालीन भोकमा कमी ल्याउने र शारीरिक वृद्धिमा सूक्ष्म पोषक तत्वहरूको आपूर्ति गर्दछ। सुनौला हजार दिनभित्र प्राप्त भएका उपलब्धिहरू (वृद्धि र विकास)लाई स्थायित्व दिनका लागि सुनौला हजार दिनभित्र प्राप्त नगर्न सकेका बालबालिकाहरूले दिवाखाजाबाट  अधूरा उपलब्धिहरूलाई केही हदसम्म प्राप्त गर्न सक्नेछन्। मुख्यतः अन्तर, जन्मान्तर, पुस्तौनीरूपमा सर्दै आएका पुड्कोपनमा कमी ल्याउनका लागि तथा  बालबालिकाको विद्यालयमा पहुँच र कक्षाकोठामा सहभागिता टिकाइराख्न दिवाखाजाले प्रत्यक्ष सहयोग गरेको छ।

सो गापामा रहेका विद्यालयहरूमा प्रतिविद्यार्थी दैनिक खाजाबापत रु १५ पठाइन्छ। त्यसमा पनि गापाका कर्मचारीहरू आँखा लगाउँछन्।

लेखा अधिकृतदेखि जनप्रतिनिधिहरू भाग खोज्छन्, अनि कसरी खाजा खुवाउने बालबालिकाहरूलाई। स्रोत भन्छ– यो गापामा मात्र हैन अधिकांश गापामा शिक्षाप्रमुखहरूलाई भाग नदिए शिक्षकहरूको तलबसमेत रोकिदिइन्छ। वडाध्यक्षदेखि शिक्षा शाखामा कार्यरत कर्मचारीहरूले दिवाखाजालाई कमाइखाने भाँडो बनाएको स्रोतको भनाइ छ।

जनप्रतिनिधि वा गापाका कर्मचारीहरू नसुध्रिए सबै विद्यालय दिवाखाजा बन्द गर्ने तयारीमा रहेको स्रोतले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here