वीरगंज महानगरपालिका वडा नं १ बजार छपकैयाका जनप्रतिनिधिहरूलाई विवाद सल्टाउन वडावासीहरूले एक हप्ताको अल्टिमेटम दिएका छन्। वडामा जनप्रतिनिधिबीचको विवादले विकास निर्माण कार्य प्रभावित भएको भन्दै वडावासीहरूले एक साताको समय दिएर यो अवधिमा जनप्रतिनिधिहरूबीचको विवाद टुङ्गो नलागेको खण्डमा छुट्टै समिति बनाएर समस्याको निराकारण गर्ने चेतावनी दिएका छन्।
वडाध्यक्ष मनोजराउत कुर्मीले शनिवार लक्ष्मीनारायण मन्दिरमा आयोजना गरेको वडा भेलामा स्थानीयहरूले आपसी विवाद हटाएर वडाको विकासमा ध्यान दिन दबाब दिएका थिए।
उनीहरूले विवाद सल्टिएन र वडामा विकासको काम नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।
स्थानीय विवेक गुप्ताले जनप्रतिनिधिहरूबीचको विवादले वडाको विकास प्रभावित भएको गुनासो गरे। वडाध्यक्ष कुर्मीले आफूले नगरप्रमुख राजेशमान सिंहबाट असहयोग पाएको बताए। उनले विकासको नाममा हुने लूटतन्त्रमा आफू सहभागी नहुने र अरूलाई पनि सहभागी हुन नदिने चेतावनी दिए।
उनले वडा सदस्यहरूले भत्ता–कमिशनको लागि विवाद सिर्जना गरेको र आफूले त्यसो हुन नदिने बताए। म आफू पनि कमिशन खान्नँ र अरूलाई पनि खान दिन्नँ, वडाध्यक्ष कुर्मीको भनाइ छ। उनले स्थानीय भद्रभलाद्मीहरू सहभागी गराएर वडाको विकासको लागि छुट्टै विकास समिति गठन गर्ने र बजेट खर्च उनीहरूमार्फत गराउन आफू राजी रहेको बताए। वडाध्यक्ष कुर्मीले आफूले कसैको दबाबमा राजीनामा नदिने बताए। मेरो राजीनामा मागको षड्यन्त्र भइरहेको छ तर मलाई मत दिने ८५० जनाले बाहेक अरूले राजीनामा मागेर राजीनामा दिन्नँ, उनले भने। मत दिने ८५० जनाले राजीनामा मागेको भोलिपल्ट राजीनामा दिन्छु, उनको भनाइ थियो।
वडा सदस्यहरूले भने वडाध्यक्षकै कारण विकासको वातावरण बिग्रिएको आरोप लगाए। उनीहरूले मनपरी किसिमले वडाध्यक्षले कार्यालय सजावटमा खर्च गरेको तर कार्यालयमा नबस्ने गरेको आरोप लगाए।
वडासदस्यहरूले वडाध्यक्षसँग संवादमार्फत विवाद टुङ्गो लगाएर वडाको विकासमा सहकार्य गर्ने बताएका थिए।