आफ्नो जिम्मारहेको कामलाई समग्र तत्परता एवं तन्मयताका साथ गर्नु यस्तो विधि हो, जसबाट काममा रस प्राप्त हुन थाल्छ। झर्को र थकाइ नजीक आउनै सक्दैन। कार्य प्रतिष्ठाको प्रश्न बन्न पुग्छ। त्यसलाई कर्मयोगको साधना ठानेर निष्ठापूर्वक गर्ने मनोयोग प्राप्त हुन्छ। यस्तो स्वभावले काम राम्ररी हुन थाल्छ, छिटो पनि हुन्छ, राम्रो पनि र उत्तम पनि। तन्मयता जोडिंदा काम मात्र परिश्रम रहँदैन, त्यो एक प्रकारको कलाकृति बन्न पुग्छ।  यस्तो कलाकृति जसको मूल्याङ्कन पनि हुन्छ र सम्मान पनि। कुनै पनि प्रामाणिकताको सुनिश्चित चिह्न के हो भने उसले आफ्नो कामलाई कति महत्वपूर्ण ठान्यो र कति उत्तरदायित्वपूर्ण ढङ्गले त्यसको निर्वाह ग–यो ? कर्तत्वले नै व्यक्तिको व्यक्तित्वलाई संरक्षण दिन्छ र यशस्वी बनाउँछ।

आउँदा दिनमा के गर्ने ? कुन दिशामा जाने ? यसको निर्णय विचारपूर्वक गर्नुपर्दछ, जसमा इमानदारीको गहिरो छाप होस्। यसो त आफ्नो हितसाधनका लागि मानिसहरू विभिन्न काम गर्छन्। परिस्थिति अनुसार जुन साधन अगाडि छ, तिनैमध्ये कुनैलाई छान्नुपर्छ, तर के हेर्नुपर्छ भने त्यो काम गर्दा इमानदारीको निर्वाह हुन सक्छ कि सक्दैन। त्यसबाट लोकहितमा बाधा त पुग्दैन ? सुनलाई आगोमा गलाएर अनि कसीमा घोटेर मात्र त्यसको शुद्धता प्रामाणिक हुन्छ र बजारमा त्यसले उचित मूल्य पाउँछ। कुनै काममा हात हाल्नुपूर्व जाँच गर्नुपर्दछ कि त्यसको पूर्णताका लागि कुनै बेइमानी त गर्नुपर्दैन ? र त्यस कामको परिणाम यस्तो त हुँदैन, जसले समाजमा दुष्प्रवृत्ति बढोस्।

रक्सी–व्यवसाय यस्तै हो। यस व्यवसायमा संलग्न व्यक्तिले आफ्नो उन्नतिका लागि भलै समुचित प्रयत्न गरेको छ, तर त्यस उत्पादनबाट समाजको अहित नै हुन्छ। यस्तो काम रोज्नुपूर्व के सोच्नुपर्दछ भने त्यसले लोकहितमा कुनै बाधा त उत्पन्न हुँदैन। आफ्नो भलाइ अथवा कमाइका लागि पाइला सार्दा के विचार पु–याउनु आवश्यक छ भने त्यसबाट अरूलाई कुमार्गमा लाग्ने प्रेरणा त प्राप्त हुँदैन। इमानदारीको व्यवसाय  रोज्ने मानिसहरू प्रायः सज्जन मानिन्छन्। काम

हेरेर नै मानिसको स्वरूप, चरित्र र दृष्टिकोण बुझ्न सकिन्छ। उपयोगी काम रोज्ने सन्दर्भमा आजीविका त्यति तडकभडकपूर्ण नहोस्, जस्तो चालबाज, धूर्तहरूले गर्छन् तर पनि यति निश्चित के छ भने इमानदारीपूर्ण थोरै आजीविकाले पनि आवश्यक कामहरू राम्ररी सम्पन्न गर्न सकिन्छ। उसलाई कुनै कुराको खाँचो महसूस हुँदैन।

जसले विचारपूर्वक कमाइ गर्छ, उसले विवेकपूर्वक खर्च पनि गर्छ। जहाँ अनीतिको कमाइ बढ्छ, त्यहाँ खर्चिलो बानी पनि स्वभावतः उत्पन्न हुन्छ। अनीतिपूर्वक कमाएको धन दुव्र्यसनमा खर्च हुन्छ। विलासिता, आत्मश्लाघामा त्यो कमाइ अनायास बगिरहेको हुन्छ, जुन अनीतिपूर्वक कमाइएको हुन्छ। इमानदार व्यक्तिले जहाँ कमाउनका लागि न्यायोचित माध्यम अँगाल्छ, आफ्नो उपार्जनको अपव्यय नहोस् भन्ने कुराको पनि हेक्का राख्छ। बजेट बनाएर नितान्त आवश्यक कार्यमा पैसा खर्च गर्नु स्थूल दृष्टिमा कृपणता अथवा दरिद्रता देखिन्छ मात्र, वस्तुतः त्यस्तो हुँदैन। विज्ञजनको दृष्टिमा व्यक्तिको जाँच उसको कमाइ र खर्च गर्ने ढङ्ग हेरेर मात्र ठम्याउनु उपयुक्त हुन्छ।

प्रामाणिक व्यक्ति आफ्नोलागि कामको चुनाव गर्नुपूर्व के कुरामा विचार पु–याउँछन् भने त्यो घरीघरी परिवर्तन गरिरहनु त पर्दैन ? चञ्चल–चित्त व्यक्तिले कुनै पनि कामलाई महत्व दिंदैन। आज यो र भोलि त्यो गरिरहन्छ। यस्तो अवस्थामा प्रवीणता बढ्न सक्दैन। एउटा काम थाल्यो–छाड्यो, अर्को शुरू ग–योस यस प्रवृत्तिले अनेक विषयको सामान्य जानकारी मात्र पाइन्छ, विशेषज्ञता प्राप्त हुन सक्दैन। सम्मान त जहिले पनि विशेषज्ञहरूको नै हुन्छ। समाजलाई सधैं विशेषज्ञको आवश्यकता हुन्छ। अनेक विषयमा सामान्य जानकारी राख्ने व्यक्ति कुनै पनि काममा पारङ्गत हुन सक्दैन। फलतः उसलाई अभीष्ट श्रेय–सम्मान पनि प्राप्त हुन सक्दैन। चञ्चल–चित्त व्यक्ति न आफ्नोलागि कुनै गतिलो कार्य–लक्ष्य निर्धारित गर्न सक्छ, न त्यसमा तत्परतापूर्वक तल्लीन हुन सक्छ। फलतः आफ्नो काममा अकुशल भएको हुँदा सफलताको शिखरमा पुग्न सक्दैन।

जबकि सामान्य काम गर्ने मालीजस्ता व्यक्तिहरू उद्यानलाई कलात्मक ढङ्गले विकसित पार्छन्। राम्रो फसल उत्पादन गर्छन्, राम्रो तलब पाउँछन् र लाभ उठाउँछन्।

कुनै काममा हात हाल्नुपूर्व त्यसको गुण–दोषबारे राम्ररी विचार गर्नुपर्छ। समय र क्षेत्रमा त्यस कार्यलाई सम्मान प्राप्त छ वा छैन ? लाभांश निर्वाहयोग्य हुन्छ कि हुँदैन ? यी सबै उँच–नीचबारे पहिले नै विचार पु–याउनुपर्छ। हितैषी–विशेषज्ञहरूसँग परामर्श गर्नु उचित हुन्छ। परिभ्रमण गरेर वस्तुस्थिति बुझ्नुपर्छ। यसमा केही श्रम र समय खर्च त हुन्छ तर पछि पछुताउनुपर्दैन, जबकि उत्ताउला र अदूरदर्शी व्यक्तिहरू प्रायः यस्तै गर्दछन्।

व्यवसायमा आफ्नो लाभ प्रधान हुन्छ, तर त्यो त्यति मात्र हुनुपर्दछ कि  आफ्नो उत्पादन बजार अनुसार महँगो पनि नहोस् र कमसल पनि नहोस्। कमसल अथवा सस्तो चीज कसैगरी ग्राहकलाई बिक्री त गर्न सकिन्छ, तर खरीद गरेपछि ग्राहक पछुताउँछ र भविष्यमा त्यस विक्रेतासँग व्यवहार गर्न रुचाउँदैन। उसले कि महँगोमा बेच्छ कि घटिया मालको आपूर्ति गर्छ। यसरी तत्काल केही धेरै नाफा कमाउने चक्करमा उसले एउटा ग्राहक गुमाउँछ। ग्राहक असन्तुष्ट भयो भने उसले अरूसँग पनि विक्रेताको बदनामी गर्छ। विश्वास गुमाइसकेपछि विक्रेताले त्यो

व्यवसायबाट एक न एक दिन हात धुनै पर्छ। नितान्त नयाँ ग्राहक त मेला अथवा धर्मशालामा मात्र आउँछन्, अन्यथा स्थिर व्यापारीलाई त स्थिर ग्राहकमाथि नै निर्भर रहनुपर्छ। यस्तो सुयोग स्थापित हुन सक्यो भने धेरै ग्राहकबाट थोरै नाफा लिएर उसले स्थायीरूपमा व्यवसाय जमाउन सक्छ र आजीविका पनि स्थायी भई उन्नतिको ढोका उघ्रँदै जान्छ।

व्यवसाय होस् वा मजदूरी सबै कार्यमा इमानदारी र सज्जनता देखियो भने सम्बन्धित व्यक्तिको मन जित्न सकिन्छ। जुन मजदूरले परिश्रम, वफादारी तथा जिम्मेवारीका साथ काम गर्छ, उसले घरीघरी मालिक परिवर्तन गर्नुपर्दैन। इमानदार र वफादार कर्मचारी मालिकको दाहिने–देब्रे हातजस्ता हुन्छन्। उनीहरू यस वा उस बहानामा उचित पारिश्रमिक पनि पाइहाल्छन्।

छिटो र धेरै कमाउने लालसामा मानिसहरू अति मुनाफाखोरी गर्न थाल्छन्। यसका लागि उनीहरूले घटिया, नक्कली, कम तौलका सामान बिक्री गर्नुपर्छ। कुरा फुस्कियो भने ग्राहकले त्यस पसलको बाटो नै बिर्सन्छ। यो कार्य भनेको सधैं एउटा सुनको अन्डा दिने कुखुराको पेट चिरेर सबै अन्डा एकैपटक पाउने मूर्खतापूर्ण चेष्टाजस्तै हो। यस्तो लोभबाट जोगिएर जसले दूरदर्शितापूर्वक आफ्नो व्यवसायको चुनाव गर्छ, इमानदारी र तन्मयता समावेश गर्छ, उसले थोरै–थोरै गरेर पनि अन्तमा राम्रो नाफा कमाउँछ। विक्रेताले आफ्नो स्वार्थजस्तै ग्राहकको स्वार्थलाई पनि ठान्यो भने यश पनि पाइन्छ र लाभ पनि।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here