नितेश कर्ण, वीरगंज, ३० चैत/

पूर्व–पश्चिम राजमार्गको सिराहाको लहान नगरपालिकाभित्र पर्ने फूलबारीधाम स्थानीय भोटिया टोल चोकदेखि दक्षिणमा अवस्थित छ ।

धार्मिक तथा पराक्रमी राजा सल्हेशको पौराणिककालसँग जोडिएका  सिराहामा रहेका धार्मिकस्थलहरू सलेस मन्दिर, लहान नगरपालिका–१८ स्थित पकडियागढ, २० नं वडास्थित ब्राह्मण गोर्छारी, २४ नं वडास्थित मानिक दह, लक्ष्मीपुरपतारी गाउँपालिकाको पतारी पोखरीमा राजा सल्हेशको नामले विशेष मेला लाग्ने धार्मिकस्थलहरू मानिन्छन् ।

स्थानीय सिस्वनी गाउँमा रहेको धार्मिक तथा ऐतिहासिक सलेस फूलबारीमा वैशाख १ गते ठूलो मेला लाग्ने गर्दछ ।

मेला भर्नका लागि सिराहा, सप्तरी, उदयपुर, धनुषा, सिन्धुलीलगायत छिमेकी राष्ट्र भारतबाट भक्तजनहरू आउँछन् ।

करीब १२ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी दुसाध जातिका इष्टदेवता राजा सल्हेशको फूलबारीको रूपमा प्रसिद्ध छ ।

फूलबारीको मध्यभागमा रहेको हराम जातको रूखको हाँगामा प्रत्येक वैशाख १ गते बिहानै एक दिनका लागि माला आकारको सेतो फूल फुल्ने गर्छ । दिनभरि देखिने फूल साँझ भने बिस्तारै हराएर जान्छ ।

फूलबारीको मध्यभागमा रहेको हरामको रूखनजीकै राजा सलहेश तथा प्रेमी मालिनीको गहबर छ ।

प्रत्येक वैशाख १ गते श्रद्धाभक्ति भावले यस ठाउँमा पूजापाठ गर्दा  सन्तान प्राप्त हुने र परिवारमा सुखशान्ति हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

सलहेश गाथामा वर्णन गरिए अनुसार राजा सलहेशले एकै दिनमा मानिकदहमा स्नान, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुश्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको पीरमर्का सुन्ने गर्थे ।

१४औं शताब्दीका राजा सलहेशको विसं १३२५ मा उनकी प्रियसी मालिनीसँग बिहे भएपछि सलेस फूलबारीको नामले प्रसिद्धि कमाएको कथन छ ।

वैशाख १ गते सलहेशको मन्दिरमा भाकल गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । यसैगरी, सन्तानप्राप्ति, दीर्घरोगीहरूको सुस्वास्थ्य र मनोकामना पूरा गर्न सलहेशको पूजा गरिन्छ । यो वर्ष सलेसको फूल पहिलोचोटि चैत महीनामा फुलेको छ । भाकल पूरा भएपछि सलेसलाई पाठीको बलि दिने, कागजको छाता, भन्टाको भारी चढाउने परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here