भोपाल (मध्यप्रदेश), ३० चैत/एएनआई
भोपालको केन्द्रीय कारागारले शिक्षामा सबैको अधिकार सुनिश्चित हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै बितेको एक वर्षमा ६९०० कैदीलाई निश्शुल्क शिक्षाको व्यवस्था गरेको छ । सोही अवधिमा ५७ जना बन्दी कारागारबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी भएका छन् ।
भारत सरकारको ‘सबैका लागि शिक्षा’ अभियान अन्तर्गत केन्द्रीय कारागारले बन्दीहरूलाई अध्ययनको अवसर दिएको हो । कारगारमा रहेका ६९०० बन्दी गत वर्ष साक्षर भएका थिए । भोपाल केन्द्रीय कारागारका निरीक्षक राकेश भाË्रेका अनुसार गत वर्ष तीन सय कैदी स्नातक, ५७ जना स्नाकोत्तर, ४६३ जना प्राथमिक शिक्षा, ९२ जना माध्यमिक र २४३ कैदी उच्च माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका थिए । १५८ जना महिला बन्दी पनि विभिन्न तहका परीक्षामा सामेल भएका थिए । कारगारकै दशजना महिलाले कम्प्युटर शिक्षामा दक्षता हासिल गरेका छन् ।
कैदीहरूलाई साक्षर बनाउन तथा उनीहरूको शिक्षाको स्तर उकास्न केन्द्र सरकारको नीति अनुसार अध्ययनको व्यवस्था मिलाइएको निरीक्षक भाङ्ग्रे बताउँछन् । जेलमा डिप्लोमा तथा त्यसभन्दा माथिको उपाधि हासिल गरेपछि एक दिन कारागारबाट बाहिरिंदा उनीहरूको जीविकोपार्जनको माध्यम त्यही शिक्षा र सीप हुने उनी बताउँछन् ।
इन्दिरा गाँधी राष्ट्रिय खुला विश्वविद्यालयका विभिन्न पाठ्यक्रममा आधारित कार्यक्रम कारागारमा सञ्चालन गरिएको जानकारी दिंदै निरीक्षक भाङ्ग्रेले ग्रामीण विकास, खाद्य तथा पोषण, एचआइभी, पारिवारिक शिक्षा, मानविकी एवं व्यवस्थापनका स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका बताएका छन् ।
कारगारमा रहेका ६९०० कैदीले गत वर्ष विभिन्न विधामा डिप्लोमा डिग्री हासिल गरेका बताउँदै निरीक्षक भाङ्ग्रेले अक्षर नै नचिनेका बन्दी पहिचान गरी बिहान–बेलुका पढाइने गरेको बताए । उनका अनुसार साक्षर कैदीलाई कक्षा १० र १२ को परीक्षा उत्तीर्ण हुनेगरी सिकाइने गरेको छ । विभिन्न स्थानीय निकाय र सङ्घसंस्थासँग समन्वय गरेर रिहा भएपछि उनीहरूलाई रोजगारका अवसर प्रदान गर्ने प्रयास पनि भइरहेको उनले बताए । रासस