प्रस, वीरगंज, २९ चैत/
वीरगंजका दुईजना पत्रकारलाई तस्करहरूले निर्घात कुटपिट गरेका छन् । चैत २६ गते आइतवार साँझ ७ बजे वीरगंज महानगर–१६ इनर्वामा स्थानीय तस्कर शत्रुघ्न यादवको संरक्षणमा रहेका व्यक्तिहरूले वीरगंजबाट प्रकाशित हुने स्वाति दैनिकका सञ्चालक सन्दीप कुशवाहा र खबर वीरगंज डटकमका राजकिशोर भगतलाई अमानवीय तरीकाबाट कुटपिट गरेको घटना अहिले सार्वजनिक भएको छ ।
दुवै पत्रकारलाई पोलमा बाँधेर यादवका संरक्षणमा रहेका व्यक्तिहरूले कुटपिट गरेको श्रव्यदृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कुटिएका पत्रकारद्वय कुशवाहा र भगतले आफूहरूलाई समाचार सङ्कलनको क्रममा कुटपिट भएको बताएका छन् । इनर्वाबाट तस्करी भइरहेको समाचार सङ्कलनको क्रममा गएको बखत यादव पक्षधरहरूले कुटपिट गरेको बताएका छन् । घटनामा प्रहरीले एकजना मोहन यादव भन्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
आरोपित शत्रुघ्न यादवले भने आफूलाई घटनाबारे थाहा नभएको बताए । उनले आफ्नो अनुपस्थितिमा घटना भएको बताए र आफ्नो संलग्नता नरहेको भनेर पञ्छिन खोजेका छन् । पर्सा प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
एक सातादेखि यादवले तस्करीको लाइन सञ्चालन गरेको चर्चा छ । चार महीनादेखि बन्द भएको वीरगंजको तस्करी एक सातादेखि सञ्चालनमा आएको र यादवले इनर्वा नाकाबाट ठूलो परिमाणमा कपडाको तस्करी गरिरहेको स्थानीयले बताएका छन् ।