• डा शिवशङ्कर यादव

लैटिनमा लिम्बसको अर्थ हुन्छ बोर्डर वा किनारा जसरी वीरगंज नेपालभित्रको किनाराको शहर हो । त्यस्तै, ब्रेनभित्रको किनारामा उपस्थित लिम्बिक सिस्टम एक अद्र्धचन्द्राकार संरचना हो । नाम सिस्टम भएपनि यो सिस्टम होइन अपितु केही संरचनाको एकीकृत्र एउटा नाम हो । यसमा अरू पनि कतिपय संरचना हुन्छन् तर तीमध्ये तीन हाइपोथैलेमस, हिप्पोकैम्पस र एमाइग्डेला भन्ने संरचना लिम्बक सिस्टमका मुख्य संरचना हुन् । आज हामीले यही लिम्बिक सिस्टमको पहिलो संरचना हाइपोथैलेमसको जानकारी प्रप्त गर्नेछौं ।

नामले नै पत्ता लाग्छ कि हाइपोथैलेमस थैलेमसको तल बसेको भाग हो किनभने हाइपोको अर्थ तल हुन्छ । ब्रेनको वजन १४०० ग्राममध्ये केवल चार ग्राम वजन र बदामको एउटा फल बराबरको यस सानो आकारमा एक प्रकारले घैंटोमा सागर भरिएजस्तै हुन्छ । यसको पहिलो पत्ता गेलेनले दोस्रो शताब्दीमा लगाए । १९०२ मा डब्ल्युएम वेलिस र इएच स्टर्लिङले पहिलो हार्मोन सिक्रिटिनको पत्ता वनस्पतिमा लगाएपछि हार्मोनको संसारमा वैज्ञानिकहरू प्रवेश गरे । जब गिलमेनले हाइपोथैलेमसमा पनि टिआरएच नामक हार्मोनको पत्ता लगाए, तब तहलका नै मच्यो । अनि अर्र्नेस्ट र ब्रेत स्केररले यसको बृहत् अध्ययन गरेर यस सानो झोलीको सारा रहस्य खोलिदिए । फेरि यो पत्ता लाग्यो कि यो सानो संरचना केवल नर्भ मात्र होइन, इन्डोक्राइन ग्रन्थि पनि हो र नर्भ तथा इन्डोक्राइन ग्रन्थिको बीच सेतुसम्पर्क स्थापित गर्ने काम गर्छ । केवल सेतु मात्र होइन, सबका सब अन्तःस्रावी ग्रन्थिहरूको नियमनको पनि काम गर्छ तथा स्वयम् यसको नियमन सिरेब्रल कार्टेक्सको एन्टेरियर लोबले गर्छ र यसरी हाइपोथैलेमसद्वारा हाम्रो पूरा व्यक्तित्व, व्यवहार, सुत्ने, उठ्ने, आहारविहार, शरीरको तापक्रम, सुख–दुःख, सन्ताप तमाम कामको नियमन गर्छ । भएन त यो घैंटोमा सागर भरिएको संरचना ? अब आउनुस्, यसको बनोट र कार्यको अलग–अलग सारसङ्क्षेप जानौं ।

थैलेमस जस्तो यो पनि ग्रे मैटरको भाग हो, अर्थात् न्युक्लियसहरूको गुच्छा हो । यसमा पनि तीन ग्रुपमा न्युक्लियसहरू सजाइएका हुन्छन ः एन्टेरियर, मिडल र पोस्टेरियर । एन्टेरियरमा ः पाराभेन्टिेरकुलर, एन्टेरयर, प्रिओप्टिक र सुप्राओप्टिक नामक न्युक्लियस हुन्छन् । मिडल ग्रुपमा ः डोर्सोमेडियल, लैट्रल,भेन्ट्रोमेडियल र आरक्वेट नामका न्युक्लियसहरू हुन्छन् । त्यस्तै, पोस्टेरियर ग्रुपमा ः पोस्टेरियर र मैमिलरीबडी नामक न्युक्लियसहरू हुन्छन् । हामीलाई थाहा छ, यसमा आउने र यसबाट अन्यत्र जाने अथवा एफेरेन्ट र इफरेन्ट नर्भ फाइबरहरू पनि हुन्छन् नै । यसमा आउने नर्भ फाइबरहरू निम्नलिखित हुन् ः मेडियल फोरब्रैन बन्डल ः जो लिम्बिक कार्टेक्सबाट यसको प्रिओप्टिक, लैट्रल र मैमलरीबडी भन्ने न्युक्लियसहरूमा आउँछ । फार्निक्स ः जो हिप्पोकैम्पसबाट मैमिलरीबडीमा आउँछ । स्टेरियो टर्मिनलिस ः जो एमिग्डालाबाट यसको  प्रिओप्टिक न्युक्लियसमा आउँछ । कार्टिको हाइपोथैल्मिक फाइबर ः जो सिरेब्रल कार्टेक्सको प्रिफ्रोन्टल एरिया बी र प्रिसेन्ट्रल एरिया ६ बाट यसको सुप्राओप्टिक र पाराभेन्ट्रिकल न्युक्लियसमा आउँछ । पैलिडोहाइपोथैल्मिक फाइबर ः जो ग्लोबस पैलिडसबाट हाइपोथैलेमसको विभिन्न भागमा छरिएको हुन्छ । थैल्मोहाइपोथैल्मिक फाइबर ः जो थैलेमसको डोर्सोमेडियल र मिडलाइन न्युक्लियसहरूबाट यसको विभिन्न भागमा छरिएका हुन्छन् । ब्रेनको रेटिकुलर फर्मेशन भन्ने भागबाट यसको विभिन्न भागमा छरिएका हुन्छन् । र त्यस्तै रेटिनाबाट यसको सुप्राओप्टिक र भेन्ट्रोमेडियल न्युक्लियसहरूमा आउँछन् । पाठकवृन्द यी नाम अलि मनोरञ्जक त अवश्यै लाग्दैन तर पनि यसरी नै हाइपोथैलेमसबाट जाने अथवा इफरेन्ट नर्भ फाइबरका नाम पनि जान्न जरुरी छ ः

इफरेन्ट अथवा हाइपोथैलेमसबाट अन्यत्र जाने नर्भ फाइबरहरूमा– मैमिलोथैल्मिक ट्रैक्ट ः जो हाइपोथैलेमसको मैमिलरीबडी न्युक्लियसबाट ब्रेनस्टेमको टेग्मेन्टल न्युक्लियसमा जान्छ । पेरिभेन्ट्रिकुलर फाइबर ः जो सुप्राआप्टिक र ट्युब्रल न्युक्लियसहरूबाट पेरिभेन्ट्रिकुलर ग्रे मैटर हुँदै ब्रेनको रेटिकुलर फर्मेशन र स्पाइनल कर्डमा जान्छ, थैलेमसको डोर्सोमेडियल न्युक्लियस तथा सिरेब्रल कार्टेक्सको फ्रोन्टल लोबमा जान्छ ।                                              हाइपोथैल्मोहाइपोफाइसिल ट्रैक्ट ः जो हाइपोथैलेमसको सुप्राआप्टिक र पाराभेन्ट्रिकुलर न्युक्लियसबाट पोस्टेरियर पिट्युटरी ग्रन्थिमा जान्छ । पाठकवृन्द यो त विस्तारमा आउने–जाने हरेक न्युक्लियस र फाइबरहरूको वर्णन भयो । तर यति जाने पनि हुन्छ कि लिम्बिक कार्टेक्स, हिप्पोकैम्पस, एमाग्डेला, फ्रोन्टल कार्टेक्स, ग्लोबस पैलिडस, थैलेमस, रेटिकुलर फर्मेशन र रेटिनाबाट नर्भ फाइबरहरू हाइपोथैलेमसमा आउँछन् । त्यस्तै, हाइपोथैलेमसबाट थैलेमस, मिडब्रेन, रेटिकुलर फर्मेशन, फ्रोन्टल कार्टेक्समा नर्भ फाइबरहरू जान्छन् ।

हाइपोथैलेमसको कार्य ः गजब छ यस सानो पिटाराका कार्यहरू । यसले शरीरका सबै भाइटल अङ्गको सञ्चालन र नियमन गर्छ, जसरी अन्तःस्रावी ग्रन्थिहरू, आन्द्रा र मुटु आदि, मेटाबोलिज्म, भोक, प्यास, मैथुन, निद्रा, जागरण, बानी, व्यवहार, मोटिभेशन, स्मरण सञ्चय आदि सबै कार्यको नियमन गर्छ । अर्थात् के गर्दैन यसले ? आउनुस् सबैको सङ्क्षेपमा वर्णन गरौं ः १. पोस्टेरियर पिट्युटरी श्राव ः पाठकवृन्द पिट्युटरी ग्रन्थिलाई सबै अन्तःस्रावी ग्रन्थिहरूको मास्टर ग्रन्थि भनिन्छ किनभने यसैले शरीरका विभिन्न भागमा बसेका अन्तःस्रावी ग्रन्थिहरूको नियमन गर्छ । यसको पनि नियमन हाइपोथैलेमसले गर्छ । यतिमात्र होइन, पिट्युटरी ग्रन्थिका दुईटा लोब हुन्छन् ः एन्टेरियर र पोस्टेरियर । यसमा एन्टेरियरले मात्र आफ्नो हार्मोन उत्पादन गर्छ । पोस्टेरियरले गर्दैन । त्यसमा हाइपोथैलेमसले आफैं हार्मोन बनाएर पठाइदिन्छ र भनिन्छ पोस्टेरियर पिट्युटरी हार्मोन । यसमा एडिएच र आक्सिटोसिन दुर्ईटा हार्मोन छन् । यसको अलावा समग्र पिट्युटरीको नियमन हाइपोथैलेमसले आफ्नो सात हार्मोनबाट गर्छ । यथा ः जिएचआरएच, जिएचआरपी, जिएचआइएच अथवा सोमेस्टेन्टिन, टिआरएच, सिआरएच, जिआरएच र पिआइएच । यी सातैवटा हार्मोन हाइपोथैलेमसका विभिन्न न्युक्लियसबाट निस्केर ब्लड एन्टेरियर हुँदै पिट्युटरीमा जान्छन् र नियमन गर्छन् । पोस्टेरियर पिट्युटरी भने भावनात्मक संवेगले नियन्त्रित हुन्छ । इमोशनले हाइपोथैलेमसको पोस्टेरियर न्युक्लियसहरू उत्तेजित हुन पुग्छन्, जसले एड्रिनल मेड्युलालाई केटेकोलामाइन निकाल्न लगाउँँछ, जसले क्षमता अनुसार मान्छेलाई फ्लाइट या फाइट गर्ने निर्णय गराउँछ । २. स्वचालित स्नायु प्रणालीको नियमन ः यस प्रणालीमा दुर्ई प्रणाली हुन्छन् ः सिम्पैथेटिक र पारासिम्पैथेटिक । पहिलोको नियमन हाइपोथैलेमसले आफ्ना पोस्टेरियर र लैट्रल न्युक्लियस तथा पारासिम्पैथेटिकको नियमन एन्टेरियर ग्रुप न्युक्लियसहरूद्वारा गरिन्छन् । ३. हृदयगति र रक्तचापको नियमन ः यहाँ पोस्टेरियर र लैट्रल ग्रुपले हृदयगति र रक्तचापलाई बढाइदिन्छन् तथा एन्टेरियर ग्रुपले घटाइदिन्छ । ४. शारीरिक तापक्रमको नियमन ः हाइपोथैलेमसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ र यही हाम्रो शरीरको सामान्य तापक्रम हो । हाइपोथैलेमसले तापक्रमको नियमन हिटलस र हिटगेन दुर्ई विधिद्वारा गर्छ । जब तापक्रम बढी हुन्छ, तब हिटलस र जब कम हुन्छ, तब हिटगेन हुनुपर्छ । हाइपोथैलेमसले हिटलस र हिटगेनको काम डाइरेक्ट र इन्डाइरेक्ट दुर्ई प्रकारले गर्छ । जब तापक्रम बढी हुन्छ, तब हाइपोथैलेमसको एन्टेरियर ग्रुप न्युक्लियस उत्तेजित हुन पुग्छ, जसले छालाको स्वेद ग्रन्थिलाई उत्तेजित पार्छ, स्वेद बन्छ र शरीरको तापक्रम कम भएर जान्छ । यो इन्डाइरेक्ट विधि हो । डाइरेक्टमा यसले छालाको रक्तवाहिनी नलिकालाई फैलाइदिन्छ, जसले बढी रक्तप्रवाह भएर हिटलस हुन पुग्छ । जब शरीरको तापक्रम कम हुन्छ त्यस बेला पनि हाइपोथैलेमसले दुर्ई विधिबाट हिटगेन गर्छ ः हिट प्रिभेन्शन र हिट प्रोडक्शन । पहिलोमा पोस्टेरियर ग्रुप न्युक्लियस उत्तेजित भई छालाको रक्त नलिकालाई सङ्कुचित गरिदिन्छ र हिटलस हुन दिंदैन । दोस्रो काम हाइपोथैलेमसले छालाको मांसपेशीलाई परिचालित गर्छ, काम आउन थाल्छ, जसले हिट जेनेरेट गर्छ । केही बेरमा शरीरको तापक्रम सामान्य भएर आउँछ । यही काम तापक्रम बढ्ने बेलामा हामीले सिटामोल प्रयोग गरेर गर्छौं, जसले हाइपोथैलमसमा काम गरेर त्यही उद्देश्य पूरा गर्छ । तापक्रम कम भएको बेला यही काम हामी आगो तापेर अतिरिक्त ताप प्राप्त गर्छौं । ५. खानाको नियमन ः यो काम पनि हाइपोथैलेमसले दुर्ई विधिले गर्छ ः फिडिङ सेन्टर र सैटेइटी सेन्टरद्वारा । लैट्रल ग्रुप न्युक्लियसमा फिडिङ सेन्टर र भेन्ट्रोमेडियल ग्रुपमा सैटेइटी सेन्टर हुन्छ । पेट खाली भएको बेला फिडिङ सेन्टर उत्तेजित भई खान प्रेरित गर्छ, हामी खाना खान थाल्छौं । एउटा सीमामा पुगेर सैटेइटी सेन्टर उत्तेजित भई फिडिङ सेन्टरलाई बन्द गरिदिन्छ । हामी सन्तुष्टि प्राप्त गर्छौं र खाना खान बन्द गरिदिन्छौं । सैटेइटीको अर्थ नै सन्तुष्टि हुन्छ ।

तीन घण्टापछि फेरि पेट खाली हुन्छ र प्रक्रिया दोहोरिइन्छ । यस्तो जटिल प्रक्रिया मेडिकल विद्यार्थीले जान्न आवश्यक हुन्छ । तर सर्वसाधारणलाई बताउन सकिन्छ कि यसमा पाँचवटा मेकानिज्म हुन्छन् ः ग्लुकोस्टेट, लाइपोस्टेट, पेप्टाइड, हार्मोनल र थर्मोस्टेट । पहिलोमा ग्लुकोज लेभलले सैटेइटी सेन्टरमाथि काम गर्छ तर डाइबिटिजमा अत्यधिक बढी ग्लुकोजले काम गर्दैन, सेटिस्फैक्शन अथवा सन्तुष्टि हुँदैन । फिडिङ सेन्टरलाई सैटेइटी सेन्टरले बन्द गर्न सक्दैन र भोक लागिरहन्छ । हार्मोनलमा केही हार्मोनले भोक बढाउँछ र केहीले घटाउँछ । आक्सिटोसिनले भोक घटाउँछ  र त्यसैले लभ गर्ने बेला भोक लाग्दैन किनभने त्यहाँ अर्कै भोक लागेको हुन्छ । यही कुरा थर्मोस्टेटमा देखिन्छ । जब शरीरमा ज्वरो चढ्छ, हाइपोथैलेमस त्यसलाई घटाउने काममा लागेको हुनाले खाने इच्छा हुँदैन । ६. शरीरमा पानीको मात्राको नियमन ः यसलाई पनि हाइपोथैलेमसले दुर्ई विधिबाट नियमन गर्छः थस्र्ट अथवा प्यासको विधि जो इन्डाइरेक्ट विधि हो र एडिएच विधि जो डाइरेक्ट विधि हो । थस्र्ट विधिमा जब शरीरमा पानीको कमी हुन्छ, तब हाइपोथैलेमसको लैट्रल ग्रुप उत्तेजित हुन पुग्छ, जसमा थस्र्ट सेन्टर हुन्छ, प्यास लाग्छ, हामी पानी खान्छौं र पानीको परिपूर्ति हुन्छ । एडिएच विधि पहिलो विधिसँगै चालू हुन्छ, जसले मिर्गौलाद्वारा पिसाब बन्ने प्रक्रिया बन्द गरिदिनुका साथै बनेको पिसाबलाई मिर्गौलाको नलीमा नै पुनः अवशोषित गराइ रगतमा फर्काइदिन्छ । यसरी यी दुर्ई विधिद्वारा पानीको परिपूर्ति हुन्छ । जब पानी बढी हुन्छ, तब यी दुवै प्रक्रिया बन्द भई पिसाबबाट बढी पानी निकाली मात्रा नियमन हुन्छ । ७. निद्रा र जागरणको नियमन ः हाइपोथैलेमसको एन्टेरियर ग्रुप न्युक्लिसमा स्लिपसेन्टर र पोस्टेरियरमा एवेक सेन्टर हुन्छ, जो क्रमशः अँध्यारो र उज्यालोमा सक्रिय हुन्छ । अँध्यारोमा एन्टेरियर ग्रुपको सक्रियताले निद्रा लाग्छ र त्यसका लागि आँखा बन्द हुनैपर्छ । उज्यालोमा पोस्टेरियर ग्रुपको सक्रियताले निद्रा खुल्छ । ८. भावुकता र व्यवहारको नियमन ः हाइपोथैलेमसको एन्टेरियर ग्रुपमा रिवार्ड सेन्टर र पोस्टेरियर तथा लैट्रल ग्रुपमा पनिसमेन्ट सेन्टर हुन्छ । जुन कुरा गरूँगरूँ लाग्छ, त्यसलाई रिवार्ड सेन्टरले र जुन काम पीडादायी वा दण्डित भएजस्तो अनुभव हुन्छ, त्यो पनिसमेन्ट सेन्टरले परिचालित गर्छ । यी दुवै कुराले नै तपाईंको व्यवहारको निर्माण गर्छ । जब दण्डित गर्ने सेन्टर तपाईंको प्रोभोकेशनले गर्दा बढी उत्तेजित हुन्छ, मान्छे वा पशु एग्रेसिभ र क्रोधित हुन्छ, हातखुट्टा लड्नको लागि तयार पार्छ, नाक फुलाउन थाल्छ । यसलाई रेज भनिन्छ । साधारणतया हामी यस मामलामा सन्तुलित हुन्छौं, जुन सिरेब्रल कार्टेक्सको हाइपोथैलेमसमाथि नियमनले गर्दा हुन्छ । जब यही नियमनमा कुनै बिमारी वा अन्य कारणले कमी हुन्छ, तब हामी ससाना कुरामा पनि आफूमाथि नियन्त्रण गर्न सक्दैनौं र क्रोधित हुन पुग्छौं । यसलाई सेमरेज भनिन्छ ।

८. यौनक्रियाको नियमन ः हाइपोथैलेमसको आरक्वेट र पोस्टेरियर ग्रुपका न्युक्लियहरूले जिआरएच नामक हार्मोन बनाएर पोस्टेरियर पिट्युटरीमार्फत नारी र पुरुषमा यौन क्रियाको नियमन गर्नुको साथै रज र वीर्यको निर्माण गरी सन्तानोत्पत्तिको पनि काम सम्पादन गर्छ ।

९. लिम्बिक सिस्टमको अर्को भागसँग मिलेर हाइपोथैलेमसले गन्धको नियमन गर्छ । भान्साको सुगन्धले खान प्रेरित गर्छ र दुर्गन्धले उल्टो गर्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here