- समीर पाख्रिन
दाहाल बूढाको कोठा सधैं ताल्चा लागेको हुन्थ्यो । बूढा साँझपख चुकुल लगाएर घण्टौंसम्म कोठामा के गरिबस्थे, कसैलाई थाहा थिएन । दाहाल्नी बज्यैले चाहिं बूढाले ढोका थुनेर कार्टुनमा खै के राखेका छन्, त्यही खोतल्ने हेर्ने र थन्काउने गरेको शङ्का गर्दै आएकी थिइन् । त्यस बेलाका भन्सार अधिकृत बूढा नामूद घुस्याहा रहेको उनका टोलछिमेकीहरूले बताउँदै आएका थिए । बूढा यतिसम्म कठोर थिए कि उनले आफ्ना आँखाका दुर्ई नानी जस्ता नातिहरूलाई समेत कोठामा ढिम्किन दिंदैनथे ।
एक दिन दाहाल बूढाबूढी कतै जान घरबाहिर निक्लिए । कुरा सुन्दा उनीहरू हतारमा भएको बुझिन्थ्यो । हतारमा बूढाले ढोकामा ताल्चा लगाउन बिर्सिए ।
ढोका खुल्लै देखेपछि बुहारीचाहिंले सरसफाइ गर्न ढोका खोलिन् । सरसफाइ गरिन् । फोहोर तन्ना र सिरानीको खोल फेरिदिइन् ।
साँझपख दाहाल बूढाबूढी घर फर्कंदा कोठाको ढोका खुल्लै देखे । पलङमा तन्ना र सिरानीको खोल फेरिएको देखेर दाहाल बूढा सशङ्कित भए । उनले अनुमतिविना कोठामा किन पसेको भनेर बुहारीलाई नराम्ररी झपारे र कोठाको चुकुल लगाएर कार्टुन खोलेर हेरे । र सबै दुरुस्त हेरेपछि सन्तोषको श्वास लिए ।
बिहानपख । दाहाल बाजेको देब्रे छाती अचानक जोडजोडले दुख्यो । बूढा एकाएक काटेको कुखुरा छटपटिएझैं छटपटिए । जेनतेन अस्पताल पुर्याइयो तर उनी बाँचेनन् ।
अन्त्येष्टि सकेको भोलिपल्ट छोराबुहारी र नातिहरू बूढाका कोठामा छिरे ।
“प्रमोदको बुबा, बुबाले सधैं ढोकामा ताल्चा किन लगाउनुहुन्थ्यो ?” सरिताले सोधिन् ।
“म यही प्रश्न तिमीलाई सोध्न लागेको थिएँ । बरु आमालाई थाहा छ कि ?” हरिशले दाहाल्नी बज्यैतिर हेरे अनि भने ।
“बाबू, मलाई पनि थाहा छैन । खबरदार ! यो दुर्ईवटा कार्टुनमा हात लगाउँलास् भन्ने गर्दथे तेरो बुबा । खै, के छ कार्टुनमा मलाईसमेत भन्नुभएन,” बज्यैले भनी ।
हरिश र सरिताले कार्टुनमा के रहेछ भनी खोलेर हेर्दा उनीहरूले दुवै कार्टुन हजार र पाँच सयका नोटले भरिभराउ देखे । यतिका धेरै रुपियाँ बुबाले किन लुकाइराखे भनेर दङ्ग परिरहेकै बेला उनीहरूको नजर ढोकामा उभिएका हरिशका मित्रद्वय डिएसपी पवन र अनुसन्धानका अधिकृत सुवास ढुङ्गेलमाथि परे । दुवै शोकाकुल परिवारलाई समवेदना प्रकट गर्न आएका थिए ।