आरके पटेल, वीरगंज, २३ चैत/
बारा, पर्सा, रौतहटमा रहेका गुठी संस्थानका हजारौं बिघा जग्गा वास्तविक अंशियारले भन्दा हुनेखाने व्यक्तिहरूले विभिन्न प्रपञ्च रचेर कब्जामा लिएका पाइएको छ ।
गाउँका हुनेखाने अगुवाहरूले तत्कालीन अवस्थामा कौडीको मूल्यमा गुठीका जग्गाहरू कब्जा गरी आफ्नो नाममा ठेक्का लिएको र सो जग्गा उनीहरूले खनजोत नगरी अरूलाई भाडामा खनजोत गर्न दिएको पाइएको छ । उद्देश्यविपरीत गुठीका जग्गामा कामकाज भएपनि सरोकारवाला निकायले केही गर्न सकेको छैन । गुठी संस्थानमा नेपाल सरकारले राजनीतिक दबाबमा करार र दैनिक ज्यालादारीमा कर्मचारीहरू तथा सञ्चालक समितिका सदस्यहरू नियुक्त गर्दा नियमविपरीत जग्गाहरू ठेक्का दिने गरिएको छ ।
गुठी संस्थान, वीरगंजले जग्गाको विवरणमा उपलब्ध गराउँदा पर्सा, बारा, रौतहटमा रहेका गुठीका जग्गालाई प्रतिवर्ष प्रतिबिघा १० मन कुतबाली बुझाउने शर्तमा ठेक्का लगाएको पाइएको छ । त्यतिमात्र होइन, वीरगंज महानगरस्थित गुठीका महँगा जग्गा वीमनपा–१६ इनर्वास्थित पाँच बिघा छ कट्ठा तथा पिपरा–नौतन–बहुअरीस्थित पाँच बिघा छ कट्ठा जग्गा ३० वर्षको लागि लिजमा दिएको देखेर सञ्चालक समितिले कतिसम्म अनियमितता गरेको छ, स्पष्ट बुझ्न सकिन्छ ।
देशमा धेरै कानून बने तर ठेक्का प्रक्रिया २०३३ सालको ऐन अनुसार नै दिने गरेको पाइएको छ । नेपाल सरकारले २०३३ सालपछि २०७७ मा गुठी जनशक्ति परिचालन तथा २०७८ मा गुठी तैनाथी घरजग्गा लिजमा दिने नियम बनाएको देखिन्छ । तर जग्गाको स्थलगत मूल्याङ्कन नगरी पुरानो ऐनको भरमा जग्गाको मूल्याङ्कन गरी ठेक्का लगाउँदा संस्थानलाई बर्सेनि लाखौं रुपियाँ घाटा हुने गरेको छ ।
स्रोत भन्छ– गुठीको जग्गा हडप्न केही समूह अहिले पनि सक्रिय छन्, उनीहरूलाई संस्थानका कर्मचारीहरूले तथ्याङ्क दिने गरेका छन् ।
कसरी भयो गुठी जग्गाको विकास ?
आफ्नो सभ्यता, संस्कृति, संस्कारको रक्षार्थ मानव समाज विकासको क्रममा गुठीप्रथा आएको हो । सभ्यता, संस्कृति र संस्कारको संरक्षण एवं संवद्र्धनका लागि पूर्वजहरूले मठमन्दिर, धर्मशाला, पाटी–पौवा, बाटोघाटो, हिटी, धारा, कुवा स्थापना गर्दा तथा पूजा, जात्रा आदिको व्यवस्थापनलगायत तीर्थयात्री, जोगी, सन्न्यासी, गरीबगुरुवालाई सीधा हण्डी र सार्वजनिक अस्पताल, विद्यालय आदि परोपकारी र सामाजिक कार्य सञ्चालनको लागि पुर्खाहरूले जीवनभरको कमाइबाट चलअचल सम्पत्ति स्वेच्छाले छुट्याएका जग्गा नैं गुठी हो । गुठी भनेको जग्गा जमीन वा भोगको विषय होइन । यो कला, संस्कृति, परम्परा र धर्मको समग्र रूप हो, राष्ट्रको पहिचान हो, समाजको जीवनपद्धति हो । बिस्तारै परिवर्तित समय अनुसार ती जग्गाहरू व्यवस्थापनका लागि सरकारले कानून बनाउँदै परिमार्जन गर्दै यहाँसम्म पुगेको देखिन्छ ।
विगतमा व्यक्तिगत बनाइएको गुठीका जग्गाको विवरण
बिरुवागुठीमा एक हजार ४३७ बिघा १४ कट्ठा १७ धुर, पोखरियामा ३६४ बिघा १४ कट्ठा, बसडिलवामा २२२ बिघा ९ कट्ठा, बर्वाभोगमा २६० बिघा सात कट्ठा, विरञ्चीबर्वामा पाँच सय बिघा एक कट्ठा, बागेश्वरी तित्रौनामा ४५६ बिघा १० कट्ठा, बहुअर्वाभाठामा २०२ बिघा १३ कट्ठा, हरपुरमा २१९ बिघा १५ कट्ठा, महुवनमा एक हजार ५३ बिघा आठ कट्ठा जग्गा व्यक्तिगत बनाइएका छन् । यसैगरी, मधुवन मथवलमा ८३८ बिघा १९ कट्ठा, झौवागुठीमा ४४९ बिघा, सुगौलीमा १६७ बिघा १२ कट्ठा, प्रसौनीबिर्तामा ३५४ बिघा १४ धुर, लखनपुरमा ३३७ बिघा ११ कट्ठा, अमरपट्टीमा ३०६ बिघा दुृई कट्ठा, बगहीमा १६२ बिघा सात कट्ठा, निचुटामा ३२ बिघा एक कट्ठा, पटेर्वासुगौलीमा १६१ बिघा १३ कट्ठा, रामगढवामा ३६ बिघा जग्गा व्यक्तिगत बनाइएका छन् ।
पोखरीको ठेक्का
हरिहरपुर, मौवाही पोखरी (तीन बिघा पाँच कट्ठा आठ धुर), गोलागंज इसरापोखरी (छ बिघा १६ कट्ठा), हरिहरपुर सुखीपोखरी (दुई बिघा १६ कट्ठा), अमृतगंज पोखरी (दुई बिघा १६ कट्ठा), हरिहरपुर पोखरी (१५ बिघा नौ कट्ठा), महुवन पोखरी (पाँच बिघा १७ कट्ठा), झौवागुठी पोखरी (दुई बिघा १६ कट्ठा), मानिकपुर सुर्जाहा पोखरी (चार बिघा १९ कट्ठा)को ठेक्का लागेको छ ।
गुठीको जग्गा ठेक्का र विवाद
गुठी संस्थान, वीरगंज अन्तर्गत पर्ने बारा, पर्सा, रौतहटभित्र गुठीका एक हजार पाँच सय बिघा गुठीतैनाथी (मोही नलाग्ने) जग्गा कौडीको मूल्यमा ठेक्का दिइएको र अधिकांश ठेक्कामा विवाद रहेको देखिन्छ ।
सखुवाप्रसौनी गापाको महुवनमा १९ बिघा १६ कट्ठा आठ धुर जग्गा महन्तको विवादले ठेक्का लागेको छैन । बिरुवागुठीमा ३०८ बिघा जग्गा अतिक्रमणमा परेको र सो जग्गाबाट कुनै राजस्व आउँदैन । बगहीमा ३० बिघा १२ कट्ठा जग्गा प्रतिमन १० बिघाको दरले ठेक्का लागेको छ भने सोही गाउँमा २२ बिघा छ कट्ठा १४ धुर जग्गा वार्षिक १० देखि २८ मनमा ठेक्का लागेको छ । लालपर्सामा एक बिघा आठ कट्ठा, बर्वाभोगमा सात बिघा एक कट्ठा, वीरगंजको इनर्वामा पाँच बिघा छ कट्ठा तथा पिपरा–नौतन–बहुअरीमा पाँच बिघा छ कट्ठा जग्गा ३० वर्षको लागि लिजमा दिइएको देखिन्छ । सुर्जाहामा २५ बिघा १० कट्ठा जग्गा ठेक्कामा लागेको छ भने लहावरथकरीमा दुई बिघा, विरञ्चीबर्वामा आठ कट्ठा, पकाहामैनपुरमा दुई बिघा १६ कट्ठा नौ धुर, परशुरामपुरमा चार बिघा दुई धुर, औराहामा १० बिघा मोही विवादमा परेका छन् । त्यस्तै, सतवरियामा आठ कट्ठा १५ धुर, वसन्तपुरमा तीन बिघा तीन कट्ठा, हरिहरपुरमा १६ बिघा दुई कट्ठा १३ धुर जग्गा मोही विवादका कारण ठेक्का लागेको छैन ।
त्यसैगरी, बाराको अमृतगंजमा ३४ बिघा पाँच कट्ठा आठ धुर जग्गा व्यक्तिले कब्जा गरेको छ । हरिहरपुरमा १३ बिघा चार कट्ठा १५ धुर जग्गा ठेक्का लागेको छ भने सोही गाउँमा ४१ बिघा १४ कट्ठा तथा २१ बिघा १९ कट्ठा जग्गामा मोही विवाद छ । कोतवालीमा एक बिघा आठ कट्ठा जग्गाको ठेक्का लागेको छ । अमृतगंजमा नौ बिघा १० कट्ठा जग्गा व्यक्तिले अतिक्रमण गरेको छ ।
गुठी अधीनस्थ जग्गाको विवरण
लालपर्सामा ११ बिघा १८ कट्ठा १२ धुर, मनियारीमा एक बिघा १२ कट्ठा १० धुर, चोर्नीमा दुई बिघा सात कट्ठा छ धुर, मजहिया पिपरामा दुई कट्ठा १४ धुर, नौतनमा एक बिघा दुई धुर, महुवनमा २३ बिघा १२ कट्ठा, बाराको भवानीपुर–जीतपुरमा एक कट्ठा १२ धुर, उचिडिह–गोलागंजमा १६ बिघा पाँच कट्ठा एक धुर, बेनौलीमा दुई बिघा १६ कट्ठा, पकडियामा आठ बिघा, इनर्वामालमा एक बिघा आठ कट्ठा चार धुर, अमृतगंजमा एक बिघा आठ कट्ठा, हरिहरपुरमा नौ कट्ठा १० धुर, बिसुनपूर्वामा तीन बिघा आठ कट्ठा, रौतहटको वसन्तपट्टीमा सात बिघा १५ कट्ठा, रङ्गपुरखापमा एक बिघा पाँच कट्ठा, धरहरीमा एक बिघा छ कट्ठा जग्गा गुठी अधीनस्थ रहेका छन् ।