नितेश कर्ण, वीरगंज, २३ चैत/

वीरगंजमा बैंक, वित्तीय संस्थाहरूको चर्काे ब्याजदरविरुद्ध व्यापारीहरूले प्रदर्शन गरेका छन् ।

दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र मानव बचाऊ अभियान कार्यक्रम अन्तर्गत स्थानीय चार्टर्ड एकाउन्टेन्ट अजय चौरसिया र राप्रपाका नेता नरेश साहको नेतृत्वमा घण्टाघरबाट निकालिएको विरोध ¥याली नगरपरिक्रमापछि सोही स्थानमा कोणसभा गरेर सकिएको थियो ।

कोणसभामा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले बैंकको चर्काे ब्याजको शिकार भएर ९० प्रतिशत व्यापारीको घर लिलाममा रहेको बताए । उनले ऋण लिंदा ब्याजदर आठ प्रतिशत रहेको तर अहिले सोही ऋणको ब्याजदर बैंकले १८ प्रतिशतसम्म निर्धारण गरेर असुलउपर गरिरहेको कारण व्यापारीहरूलाई ठूलो मर्का परेको बताए । उनले व्यापारीहरू ऋणको साँवा–ब्याज तिर्न तयार रहेको तर चर्काे ब्याज मिनाहा हुनुपर्ने माग राखे । हामीले ऋण तिर्दैनौं भनेका छैनौं तर बैंकहरूले ऋण असुलीका नाममा व्यापारीको घरमा गार्डहरू तैनाथ गरेर मानसिक तनाव बढाएको र कतिपय व्यापारीहरूले आत्महत्या गरेको बताए । उनले पछिल्ला समयमा आत्महत्याको प्रमुख कारण बैंकको ताकेता रहेको बताए । चौरसियाले बैंकको ब्याजदर एक अङ्क अर्थात् नौ प्रतिशतमुनि हुनुपर्ने तर्क गरे । राप्रपाका नेता नरेश साहले रु बीस लाखसम्मका ऋणीहरूको ऋण माफी गरिनुपर्ने बताए । उनले बैंकको ताकेताका कारण कतिपय व्यापारीहरू सीमापारि र जङ्गलमा लुकेर बस्न बाध्य भएका बताए ।

बैंकको चर्काे ब्याजदरविरुद्ध यसअघि वीरगंज उद्योग वाणिज्य सङ्घले तीन महीनाअघि विरोध प्रदर्शन गरेको थियो । तत्कालीन अवस्थामा अर्थमन्त्रीको आश्वासनमा विरोध मत्थर भएको तर व्यापारीको माग सम्बोधन नभएपछि सङ्घले पुनः आन्दोलन नगरेपछि स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here