बेइजिङ, १२ चैत/सिन्ह्वा

चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँग ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग औपचारिक सम्बन्ध स्थापना गरेको हो ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् । चीनले तेगुसिगल्पाको निर्णयलाई सही विकल्प भन्दै त्यसको स्वागत गरेको छ ।

होन्डुरस र ताइवानले सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै तेगुसिगल्पा र बेइजिङबीच कूटनीतिक सम्बन्ध कायम भएको हो । विश्वका १४ सार्वभौम राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम गरेको  ताइवानलाई अब भ्याटिकन सिटीसमेत १३ राष्ट्रले मान्यता दिएका छन् ।

यसैबीच, एसोसिएटेड प्रेसले दुई देशबीच नयाँ सम्बन्ध, बेइजिङ र संयुक्त राज्य अमेरिकाबीच बढ्दो तनावका बेला कायम भएको जनाउँदै स्वशासित ताइवानप्रति चीनको बढ्दो दबाब र ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ प्रभावको सङ्केत गरेको बताएको छ ।

यस अघि होन्डुरसका विदेशमन्त्री एडुआर्डो रेनाले देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताएका थिए । उनले आफ्नो देशको आर्थिक आवश्यकता पूरा गर्न ताइवानले सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताएका थिए ।

विदेशमन्त्री रेनाले ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्षका लागि १० करोड गर्न तथा तिर्न बाँकी ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको बताएका थिए । 

ताइवानका विदेशमन्त्री जोसेफ वुले पनि आज ताइपेईमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सार्वभौमसत्ता र मर्यादा रक्षाका लागि होन्डुरससँग सम्बन्ध तोडेको बताएका छन् ।

होन्डुरससँग आफ्नो देशको सम्बन्ध स्थिर रहेका बेला चीनले प्रलोभन दिएर ताइपेइसँग सम्बन्ध तोडेको आरोप विदेशमन्त्री वुले लगाए । साथै उनले होन्डुरसको निर्णयप्रति खेद प्रकट गरे । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here