विगतमा ठोरीका बासिन्दा आफ्नै जिल्ला सदरमुकाम वीरगंज आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो । भारत बिहारको नरकटियागंजदेखि भिखना ठोरीसम्म चल्ने छोटीलाइन रेल ठोरीवासीको एकमात्रै विकल्प थियो । सोही रेलको माध्यमबाट ठोरीको सम्पर्क बाहिरी समाजसँग जोडिएको थियो । भारतले ब्रोडगेज रेलसेवा सञ्चालन गर्ने आश्वासन दिंदै छोटीलाइन रेलसेवा बन्द गर्यो । त्यसपछि टाइगर रिजर्भको बहाना गर्दै उसले कुनै पनि रेलसेवा सञ्चालन गरेन । ठोरीका बासिन्दाले विकल्पको रूपमा पश्चिमतर्फ चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रबाट माडीसम्म र पूर्वमा वीरगंजतर्फको कच्ची सडक निर्माणको लागि घर–घरबाट जनश्रममा जुटे । अन्ततः हिउँदमा तीन महीना सवारी चल्न सक्ने कच्ची बाटो निर्माण भयो । यस क्रममा कैंयनले महीनौं जनश्रममा बिताएका छन् । रात, दिन, भोक, प्यास केही नभनी श्रमदान दिंदै उनीहरूले आफ्नो गाउँमा अस्थायी भएपनि बस कुदाए । वर्षा लागेपछि बन्द हुने सडक हिउँदमा पुनः सञ्चानल गर्न फेरि उही रूपमा बर्सेनि श्रमदान गर्नुपथ्र्यो ।

तत्कालीन शासकहरूले भारतीय सीमा अतिक्रमण रोक्न ठोरीमा बस्ती बसाएको रहेछ । मानौं ठोरीका बासिन्दा बेतलबी सीमारक्षकको रूपमा तैनाथ थिए । त्यसलाई विस्थापित गर्न भारतीय आपराधिक समूह बस्ती प्रवेश गथ्र्यो । कतिपय नेपालीलाई भारतीय क्षेत्रबाट त कतिपयलाई नेपालबाटै भारतीय डाँकाहरूले कुटपिट, लुटपाट र अपहरण गर्थे । ठोरी (तत्कालीन ठोरी, निर्मलबस्ती र सुवर्णपुर)वासीले त्यसको डटेर प्रतिकार गरिरहे । यस क्रममा कैंयन ठोरीवासीको ज्यान गयो, कैयौंका अङ्गभङ्ग भए र घाइते बने । चारैतर्फ जङ्गलले घेरिएको सडक, सञ्चार, स्वास्थ्यलगायतका आधारभूत सेवाबाट वञ्चित ठोरीबारेमा राज्यलाई थाहा नभएको होइन । राणाशासनविरुद्धको विद्रोह र राजा महेन्द्रको फौजीकाण्डविरुद्धको विद्रोहमा पटकपटक गरी दुईपटक मुक्ति सेनाले कब्जा गरेको ठोरी, क्रान्तिकारी अगुवाहरूको सेल्टर  र नाकाको रूपमा प्रयोग भएको ठोरी, वीर गणेशमान सिंहको क्रान्तिभूमि ठोरी, ब्रिटिश शासक र नेपाली शासकले शिकार खेल्दै मितेरी गाँसेको ऐतिहासिक भूमि ठोरीलाई पञ्चायतकाल र बहुदलकालका शासकहरूले पनि उपेक्षा गरे । अहिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाका शासकहरूले भजाइ खाने भाँडो बनाएका छन् ।

ठोरी प्राकृतिकरूपमा नै प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो । हुलाकी सडक सञ्चालनमा आएपछि ठोरीबारे सर्वसाधारणले पनि जानकारी पाए । पर्यटन पूर्वाधारका लागि प्रदेश, केन्द्र कुनै सरकारले सिन्को भाँचेको छैन । फेरि पनि ठोरी घुम्न पुग्ने पाहुनाको सङ्ख्या दिनानुदिन बढ्दो छ । यहाँ जल, जङ्गल, मुहान, डाँडा, फाँट, खोला, नदी, जङ्गली जनावर, धार्मिक, ऐतिहासिक क्षेत्र र सांस्कृतिक विविधता छ । स्वच्छ, शान्त, सुरक्षित र प्राकृतिक वातावरण छ । अब त सडक, बिजुली र सञ्चारको सुविधा पनि भयो । यहाँ जङ्गलसफारी, हाइकिङ, साइक्लिङ, बन्जीजम्प, क्लाइम्बिङ, स्वीमिङ र जीपलाइन सञ्चालन गर्न सकिन्छ । यही सम्भावनालाई हेरेर मधेस प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको होला भन्ने थियो । पर्यटन क्षेत्र घोषणा गरिएपछि त्यसको गुरुयोजना बन्छ र योजना सम्पन्न नभएसम्म वार्षिकरूपमा स्थायी बजेट हुन्छ । त्यसो भएन । प्रदेशको मन्त्रिपरिषद् वनभोज खान पो ठोरी गएको रहेछ । बजेट निकासा गरियो, फछ्र्योट गर्न कार्यक्रम राखियो, सक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here