- राजेश मिश्र
८ डिसम्बर १९३५ मा भारतको पञ्जाब राज्यको लुधियाना जिल्लामा पर्ने साहनेवाल गाउँमा एक बालकको जन्म भयो । ती बालकको पारिवारिक नाम थियो, धरम सिंह देओल । समयक्रमसँगै बालकको उमेर, विचार र परिपक्वता बढ्दै गयो । बालकको रुचि उद्देश्यप्रति लक्षित भयो । अन्ततः हिन्दी सिनेमाजगत्मा प्रसिद्ध अभिनेताको रूपमा उनको नाम अङ्कित भयो । आखिर उनमा रुचि र उद्देश्यको एकाकार कसरी भयो ? भन्ने कुरा रोचक छ । बाल्यकालमा धर्मेन्द्र गाउँदेखि कोसौं टाढा सिनेमा हेर्न गएका रहेछन् । उनले हिन्दी फिल्म दिल्लगी हेरे । अति प्रभावित भए । पटकपटक गरी ४० पटक उक्त फिल्म हेरे । सोही फिल्मको प्रभावले उनी अभिनयप्रति मोहित भएको बताइन्छ । अभिनेतापछि उनी फिल्म निर्माता र राजनीतिज्ञको रूपमा पनि परिचित छन् ।
त्यसैगरी, बहुसङ्ख्यक भारतीय गायकहरूको लहरमा बादशाह उपनामले परिचित आदित्य प्रतीक सिंह सिसोदिया पनि एक हुन् । उनी एक प्रख्यात भारतीय र्यापर हुन् । उनी आइएएस अधिकारी बन्न चाहन्थे । तर उनले सिभिल इन्जिनीयरिड्ढो पढाइ पूरा गर्न सकेनन् । सन् २०१२ मा बोर्न स्टार एल्बमबाट उनले डेब्यू गरेका थिए । बादशाह बलिउडका प्रसिद्ध र्यापर हुन् । उनका गीतहरू युवा पुस्तामाझ लोकप्रिय छन् ।
उपरोक्त दुईवटा व्यक्तित्वहरूका कथा त केवल उदाहरण मात्र हुन् । कुनै पनि स्थापित व्यक्तित्वको पछाडि अनेकौं सङ्घर्षका अदृश्य कथा र व्यथाहरू हुन्छन् । समयक्रमसँगै संसारमा पुरानो पुस्ताको अस्त र नवपुस्ताको उदय हुने क्रम चलिरहन्छ । नयाँ पुस्ताको उदय हुनु पनि आवश्यक छ । तर कहिले, को र कुन विद्यामा स्थापित हुन्छन् भन्ने कुरा समयचक्रले देखाउँछ ।
आजको आलेखमा वीरगंजका एक विद्यार्थीको अतिरिक्त क्रियाकलापको बारेमा उद्धृत गरिएको छ । पढाइसँगै उनको यात्रा साङ्गीतिक क्षेत्रमा पनि गतिमान छ । उनी र्याप गीतको रचना गर्छन्, गाउँछन्, भिडियो बनाउँछन् र सामाजिक सञ्जालमार्फत साझा गर्छन् । केही महीनायता विभिन्न कार्यक्रमहरूमा पनि आमन्त्रित हुन थालेका छन् । उनको गीतमा ताली बजाएर हौंस्याउने युवाहरूको सङ्ख्या विस्तारोन्मुख छ ।
र्याप सङ्गीतको संक्षिप्त इतिहासबारे जानौं । पप–कल्चरसँग जोडिएको र्याप सङ्गीत पश्चिमी देशमा अधिक प्रचलित छ । र्याप सङ्गीतको इतिहास स्टोरीटेली अर्थात् कथा भन्ने शैलीसँग जोडिएको छ । र्याप गीत हो र यसको पनि लय हुन्छ । यद्यपि परम्परागतरूपमा बुझ्ने गरिएको जस्तो र्यापमा स्थापित लय भने हुँदैन । यसमा र्यापर अर्थात् कथावाचकले एक विषयवस्तुका बारेमा एक लयमा अनुप्रासयुक्त तर बोलीचालीको भाषा गाउँछन् ।
र्यापको उत्पत्ति पश्चिम अफ्रिकाबाट भएको मानिन्छ । पश्चिम अफ्रिकाका इतिहासकारका रूपमा परिचित ग्रिओट्सले आफ्नो गाउँबस्तीको कथा लयबद्धरूपमा भन्ने गरेको इतिहास छ । त्यसलाई नै र्याप सङ्गीतको आधार मानिन्छ । सन् १९६० को दशकमा अमेरिकामा र्याप सङ्गीत विशेषगरी काला जातिका समुदायमा लोकप्रिय बन्दै गयो । त्यसैगरी ६० र ७० को दशकमा काला जातिका किशोरकिशोरीले अमेरिकामा सडकहरूमा र्याप प्रस्तुत गर्न थालेको इतिहास छ । त्यसपछि बिस्तारै अरू समुदाय, वर्ग र देशहरूमा समेत लोकप्रिय हुँदै गयो । र्याप हाल विश्व सङ्गीतको महत्वपूर्ण विधामा स्थान पाएको छ ।
गीत, साहित्यको एक लोकप्रिय विधा हो । शब्द, स्वर र लयको संयोजन नै गीत हो । वीरगंजका एक युवक सिभिल इन्जिनीरिङमा डिप्लोमा गरिरहेका छन् । उनी महमद अफरोज र रूखसाना खातुनका दुईजना छोरामध्ये जेठा हुन् । उनी कक्षा आठदेखि लेखन र गायन विधामा रुचि अङ्कुरित भएको बताउँछन् । पछिल्लो समय उनी स्टेज शोहरूमा सहभागिता जनाउन थालेका छन् । वीरगंज महानगरपालिका–१२ मुर्लीका उदीयमान र्यापर १७ वर्षीय महमद आफताब शेखसँग भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुछ छ ।
“मनमा भएको क्रोध
कसलाई पो देखाऊँ
त्यो सजाएका सपनालाई
कति चोटी जलाऊँ…।”
र्याप सङ्गीतमा आधारित यो मेरो पहिलो रचना हो । कक्षा आठमा हुँदादेखि लेखन र गायन विधामा रुचि बढ्न थाल्यो । प्रायःजसो चर्चित र्यापरका गीतहरू सुन्छु । सायद त्यसैले होला, र्याप गीतप्रति मेरो चाहना बढेको हो । शुरू–शुरूमा लेख्थें र मनमनै गुनगुनाउँथें । झन्डै दुई वर्षदेखि अत्यधिक सक्रिय भएको छु ।
म वीरगंजस्थित वीरगंज इन्स्टिच्युट अफ टेक्नोलोजी (बिआइटी) कलेजको विद्यार्थी हुँ । सिभिल इन्जिनीयरिङमा डिप्लोमा तेस्रो सेमेस्टरमा अध्ययनरत छु । पढाइ पहिलो प्राथमिकतामा छ । दोस्रो भनौं वा अतिरिक्त क्रियाकलापको रूपमा गायन क्षेत्रलाई ग्रहण गरेको छु । पहिलो सेमेस्टरको नतीजा चैत ३ गते प्रकाशित भयो । ७२.२९ प्रतिशतले प्रथम श्रेणीमा उत्तीर्ण भएको छु । दोस्रो सेमेस्टरको परीक्षा दिइसकेको छु । नतीजा आएको छैन । नतीजा राम्रो आउँछ भन्नेमा ढुक्क छु । अहिले पढाइ प्रमुख हो ।
विसं २०७९ सालको असोज महीनाको दशैं मेला जीवनपर्यन्त अविष्मरणीय रहनेछ । किनभने दशैं मेलाको अवसरमा लागेको रमाइलो मेलामा पहिलोपटक स्टेजमा आफ्नो कला प्रस्तुत गर्ने मौका पाएँ । त्यसअघि साथीसङ्गीहरूबाहेक सार्वजनिक स्थलमा प्रदर्शन गर्ने मौका पाएको थिइनँ । स्टेजसम्म पुग्नु सजिलो थिएन । स्टेजमा प्रस्तुति दिने चाहना भएकोले आयोजकलाई धेरै हारगुहार गरें । नयाँ अनुहार भएकोले ममाथि अविश्वास थियो । आयोजकलाई विश्वास दिलाउने मेरो प्रयत्न असफलतुल्य थियो । यद्यपि मेरो निष्ठा, चाहना र हारगुहारप्रति केही महानुभावहरूको ध्यानाकर्षण भयो । अन्ततः ठूलो भीडमाझ स्टेजमा प्रस्तुति दिने मौका पाएँ । क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरें । दर्शकहरूको तालीले प्रोत्साहित भएँ ।
गीत लेख्ने, गाउने, भिडियो बनाउने र युट्युबमा अपलोडसम्म सीमित थियो । पहिलोपटक हजारौंको उपस्थितिमा मैले स्टेजमा प्रस्तुति दिएँ । पहिलो दिन हारगुहार गरेपछि मौका पाएको मलाई दुई दिनपछि आयोजकको फोन आयो । एउटै कार्यक्रममा दुईपटक प्रस्तुति दिने मौका पाएँ, त्यसले म ऊर्जान्वित भएँ । मलाई लाग्छ, चाहना भयो भने मौका अवश्य पाइन्छ । मौकाले निखारिने अवसर प्रदान गर्छ । अहिले म आमन्त्रणसहित थोरबहुत पारिश्रमिक पाउन थालेको छु । देशभक्तिमा आधारित मातृभाषा भोजपुरीमा एउटा र्याप गीत यस्तो छ ।
“सुरुआत एहितान से
जहाँ जनम लेनिसन
नेपाल आमा के सन्तान हइसन
नेपाल मे हीं मरेमसन…।”
छ महीनाको अवधिमा १०–१२ वटा कार्र्यक्रममा प्रस्तुति दिने अवसर पाइसकेको छु । गढीमाई रमाइलो महोत्सवमा थुप्रै कलाकार जस्तै कमल खत्री, सुनील पडित, मन्दीप खड्का, सोम्या पोखरेल, प्रीति पासवान, अमित पटेल, सदाम हुसेन आमन्त्रित थिए । अग्रज कलाकारहरू सहभागी कार्यक्रममा मैले प्रस्तुति दिनु मेरोलागि सौभाग्यको कुरा हो । पर्सा र बाराका विभिन्न मेलापात तथा कार्यक्रमहरूसम्म मेरो कला र क्षमता विस्तार भइसकेको छ । अझै निखारसहित विस्तार गर्ने क्रममा छु । अवसरले सिकाइलाई गति प्रदान गर्दछ । त्यसैले अवसरहरूलार्ई मैले अग्रपथको संवाहकझैं ठानेको छु । खासगरी मैले भोजपुरी भाषामा र्याप गीत सिर्जना गर्न रुचाउँछु । अर्को एउटा भोजपुरी र्याप गीत यस्तो छ ।
“आज नेता लोग के चाहिं
लाखो करोड के गाडी
खाली माइक मे होई भाषण
बडका भारी भारी … ।”
सम्भवतः भोजपुरी भाषामा र्याप गीत गाउने म पहिलो हँु । कपिलवस्तुका सागर कुनुवार वीरगंजका जावेद शेख तथा क्यानडा बस्ने वीरेन्द्र केशरी आदि मेरा सहयोगी गुरुजन हुन् । लेखन विधि, मीठापन, शब्द चयन र फ्लो आदि ज्ञान बेलाबेला उहाँहरूबाट प्राप्त गर्ने गरेको छु ।
“जीवनभरि एउटै गलती गरिरहें
यहाँ सबै पराइ छन्
म आफ्नो ठानिरहें
यहाँ प्रगति हेरेर नै जल्ने रहेछन् … ।”
शुरूमा गीत लेखन र गायनप्रति मेरो रुचिलाई कतिपय साथीले पागलपनको संज्ञा दिन्थे । अधिकांश साथीले मेरो नाम अफताबलाई संक्षिप्तमा ‘अफू’ सम्बोधन गर्छन् । कतिपय साथीहरूले ठट्यौली पारामा “हो तु त साफा इन्साने बाड” भन्दै जिस्काउँछन् । मैलै साथीहरूको ठट्यौली अभिव्यक्तिलाई एकत्रित गरेर ‘अफू इन्साने’ बनाइदिएको छु । जीवनपर्यन्त स्मरण हुने यही नामले युट्युब च्यानल खोलेको छु ।
साथीहरूमा पहिले जस्तै अवस्था अहिले छैन । अब उनीहरूले मलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसूस गरिरहेको छु । शुरूमा जिस्काउने साथीहरूले अब माया गर्न थालेका छन् । प्रशंसा गर्छन् । अहिले कार्यक्रमको आमन्त्रण आएमा मसँग जाने आतुरता दर्शाउँछन् ।
गीतमा उचित शब्द संयोजन हुनुपर्छ । अचेल प्रसिद्धि पाउने होडमा छाडा गीत गाएर अश्लीलता फैलाउने होड चलेको छ । यो कुनै पनि कोणले राम्रो पक्ष होइन । अन्तमा, क्रान्तिकारी शीर्षक भएको एउटा गीत गुनगुनाउँदै बिदा लिन्छु ।
“पछिल्लो एक वर्षदेखि
मेरो गीत देशलाई अर्पण … ।”