• विश्वराज अधिकारी

कार संस्कृति

कार अमेरिकीहरूको लागि पूर्ण वा अर्ध विलासी वस्तु नभएर आवश्यकताको वस्तु हो । कार नहुने हो भने अमेरिकीहरूलाई ओहरदोहर गर्न समस्या हुने मात्र होइन, जीवन नै सुस्त हुन पुग्छ । काम गर्ने स्थल पुग्न र काम गर्ने स्थलबाट निवास पुग्न कठिन हुन्छ । देशभित्र उपलब्ध रहेका सार्वजनिक यातायातका साधनहरू रेल, बस, टेक्सी, उवर आदिले यातायास सुविधाको माग धान्न सक्तैनन् । ठूला शहरहरूमा सार्वजनिक यातायातका साधनहरूले दैनिक ओहरदोहर गर्नुपर्ने यात्रीहरूलाई यातायात सुविधा पुर्याए तापनि सुदूर एवं ग्रामीण क्षेत्रहरूमा पुग्न आफ्नो कार हुन आवश्यक छ । खासमा अमेरिकामा गाउँ भन्ने चलन छैन । टाउन, सिटी, मेट्रो, मुनिसिपलिटी भन्ने गरिन्छ । ठूलाठूला शहरहरूमा मात्र सार्वजनिक यातायातका साधनहरू उपलब्ध हुन्छन् । तर साना शहरहरूमा भने सार्वजनिक यातायातका साधनहरू उपलब्ध हुँदैनन् । सानासाना शहरहरूमा अनिवार्यरूपले कार्यस्थलमा पुग्न आफ्नो कार हुनुपर्छ ।

९४ लाख ४७ हजार ४२० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अमेरिका पहिलो रूस र दोस्रो क्यानडा पछि क्षेत्रफलको आधारमा विश्वको तेस्रो ठूलो देश हो । जनसङ्ख्याको हिसाबले पनि पहिलो भारत र दोस्रो चीन पछि विश्वको तेस्रो ठूलो देश हो । भारत र चीनको तुलनामा अमेरिकामा जनघनत्व निकै कम छ । भारतमा एक वर्ग किलोमिटरमा ४६४ व्यक्तिहरूको बसोबास छ भने चीनमा एक वर्ग किलोमिटरमा १५३ व्यक्तिहरूको बसोबास छ । तर अमेरिकमा भने एक वर्ग किलोमिटरमा केवल ३६ व्यक्तिको बसोबास छ ।

माथिको तथ्याङ्कबाट के प्रस्ट हुन्छ भने अमेरिकामा जनघनत्व कम छ अर्थात् अमेरिकासँग ठूलो मात्रामा खाली (बसोबास नभएको) जग्गा छ । र ती खाली जग्गा भएको कारणले एउटा बस्तीपछि अर्काे बस्तीबीच ठूलाठूला खाली जग्गाहरू छन् । त्यस्ता जग्गाहरूमा पुग्न आफ्नो मोटर अनिवार्य हुन पुग्छ ।

अमेरिकामा ठूलो मात्रामा खाली जग्गा रहेको र ती खाली जग्गालाई कृषि र पर्यटनको लागि उपयोग गरिएकोले ती खाली स्थानहरूमा पुग्न आफ्नो कार वा सवारी रहेमा पुग्न सजिलो र प्रभावकारी हुने भएकोले पनि व्यक्ति वा परिवारहरूसँग कार हुनु अनिवार्य हुन पुग्छ । कम समयमा पर–परसम्म पुग्न कार वा सवारीसाधनले सहयोग पुर्याउने हुनाले पनि कारको प्रयोग अमेरिकामा व्यापक मात्रामा हुन्छ र कार अमेरिकी जीवनको एक अभिन्न अङ्ग हुन पुग्छ ।

अर्को किसिमले हेर्ने हो भने अमेरिकामा हिंडेर अलि परसम्म पुग्ने चलन पनि छैन र सानो दूरीका लागि पनि कार प्रयोग गर्ने गरिन्छ । र यस्तो गर्नका लागि सजिलो पारिदिने कारण कारमा प्रयोग गरिने इन्धन निकै सस्तो (आम्दानीको तुलनामा) हुनु पनि हो । अमेरिकामा कार संस्कृति विकास हुनुका अनेक कारणहरूमध्ये एक कार र इन्धन दुवै सस्तो हुनु पनि हो । 

अमेरिकामा कार प्रयोगको इतिहास पनि निकै पुरानो छ । जुन समयमा विश्वका अन्य देशहरूमा सवारीका लागि हात्ती, घोडा, गोरु आदिको प्रयोग भइ नै रहेको थियो, त्यही समयमा अमेरिकामा स्वचालित वाहनको विकास भइसकेको थियो । चाल्र्स दुरिइ र जे फ्रेकले सन् १८९३ मा अमेरिकमा रिक्सा जस्तो देखिने स्वचालित वाहनको विकास गरिसकेका थिए । र ती वाहनहरूको बिक्री सन् १८९६ देखि प्रारम्भ भएको थियो ।

व्यावसायिकरूपमा र सस्तोमा ठूलो सङ्ख्यामा कार उत्पादन गर्ने श्रेय भने हेनरी फोर्डलाई जान्छ । उनले ‘मोडेल एन’ नाम गरेको कारको उत्पादन सन् १९०६ देखि प्रारम्भ गरेका थिए । सन् १९१३ मा फोर्डले कार उत्पादनमा पहिलोपटक एसेम्ब्ली लाइनको प्रयोग गरे अनि सस्तोमा कार उत्पादन गर्न सक्षम पनि भए । सन् १९१३ पछि अमेरिकामा सामान्य आम्दानी भएका व्यक्तिहरूले पनि खरीद गर्न सक्ने उद्देश्यका साथ ठूलो सङ्ख्यामा कार उत्पादन हुन प्रारम्भ भयो । कारको व्यापक व्यवसायीकरण भयो ।

ठूलो सङ्ख्यामा कार उत्पादन गर्दा प्रतिकार उत्पादन लागत सस्तो हुन्छ । कम आय भएका अमेरिकीहरूले पनि कार खरीद गरेर प्रयोग गर्न सक्छन् । यस्तो उद्देश्य हेनरी फोर्डले राखेका थिए । र उनी आफ्नो त्यो उद्देश्य प्राप्त गर्न सफल पनि भए । अहिले पनि अमेरिकामा विश्वभरमा नै सस्तोमा (आम्दानीको तुलनामा) कार खरीद गर्न पाइन्छ । कार उत्पादन सस्तो पार्न हेनरी फोर्डले कार उत्पादन प्रणालीमा ‘एसेम्ब्ली लाइन’को प्रयोग त गरे नै साथै सबै कारको रङ्ग केवल कालो पनि पारे । विभिन्न रङ्गमा कार उत्पादन गर्दा कार उत्पादन लागत बढी पर्न जान्छ र खरीदकर्ताको लागि कार महँगो पर्न जान्छ भन्ने विचार फोर्डको थियो । र उत्पादन लागत बचत गरेर सस्तोमा कार उपलब्ध गराउने उद्देश्यका साथ फोर्डले त्यस बेला केवल सेतो रङ्गको कार मात्र उत्पादन गरे । अर्थात् कारहरूलाई केवल सेतो रङ्गले रङ्गे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here