प्रस, वीरगंज, ९ चैत/
ठाकुर राम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी बिहीवार सहमतिमा खुलेको छ ।
क्याम्पसप्रमुख डा उमेश चौरसियाको अध्यक्षतामा तालाबन्दी गरेका विद्यार्थीहरूसँगको छलफल भएको र यही चैत मसान्तमा स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयसँग पहल गर्ने सहमतिमा ताला खुलेको हो ।
तालाबन्दी गरेका विद्यार्थीहरूले यही चैत मसान्तमा स्ववियुको निर्वाचन गर्नुपर्ने माग राखेका थिए । चैत ५ गते घोषित स्ववियुको निर्वाचन ठाराब क्याम्पसमा विवादका कारण चैत ८ गते सारिएको थियो र सो मितिसम्म विवाद मत्थर नभएपछि प्रजिअ हीरालाल रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले जेठ १३ गते स्ववियु निर्वाचनको मिति तोकेको थियो । जेठ १३ गते स्थानीय प्रशासनको पहलमा स्ववियु निर्वाचनको मिति तोकिएको विरोधमा नेविसङ्घको एउटा समूहले क्याम्पसमा तालाबन्दी गरेको थियो ।
यही चैत १२ गतेदेखि क्याम्पसमा स्नातक चौथो वर्षको परीक्षा हुन गइरहेकोले क्याम्पस प्रशासनको पहलमा शुरू भएको वार्ताले आज सार्थकता पाएको र तालाबन्दी खुलेको हो । आजको सहमतिलाई कार्यान्वयन गराउनका लागि क्याम्पस प्रशासनले त्रिविविलाई चैत मसान्तमा स्ववियु निर्वाचनको लागि सिफारिश गर्ने भएको छ । तर त्रिविविले सो सिफारिश कार्यान्वयन गराउने आशा भने क्षीण रहेको स्रोतले जनाएको छ ।
यसैबीच, नेविसङ्घ, पर्साका अध्यक्ष रमेश यादवले आज विज्ञप्ति जारी गर्दै यसअघि जेठ १३ गते तोकिएको समयमैं स्ववियु निर्वाचन गराउन माग गरेका छन् । उनले नेविसङ्घको आवरणमा परीक्षाको मुखमा क्याम्पसमा गरिएको तालाबन्दीको भत्र्सना पनि गरेका छन् । तालाबन्दीमा नेविसङ्घको संलग्नता नरहेको प्रस्ट्याउँदै अध्यक्ष यादवले जेठ १३ गते नै निर्वाचन गराउन माग गरेका छन् ।