प्रस, वीरगंज, ५ चैत/
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगंजका आरिफ शेख र आशिफ शेख दाजुभाइलाई आइतवार वीरगंज महानगरले स्वागत गरेको छ ।
नेपालले एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेपछि गृहनगर वीरगंज आएका शेख दाजुभाइलाई आइतवार नगरप्रमुख राजेशमान सिंहले दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा उनले नेपाललाई विश्वकप छनोटमा पुर्याउन विशेष भूमिका निर्वाह गरेका दुवै खेलाडीलाई वीरगंज महानगरले यही चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरे ।
सोही अभिनन्दन समारोहमा महानगरले घोषणा गरेको एक/एक थान मोटरसाइकल खेलाडीद्वय शेख दाजुभाइलाई हस्तान्तरण गरिने नगरप्रमुख सिंहले बताए । उनले नागरिक अभिनन्दन समारोहमा महानगरवासीलाई सहभागी भएर खेलाडीको हौसला बढाउन आग्रह पनि गरे । उनले खेलको माध्यमबाट शेख दाजुभाइले वीरगंजको साथै देशकै नाम उचाइमा पुर्याएको बताए । खेलाडीद्वय शेख दाजुभाइले महानगरको सम्मानबाट आफ्नो हौसला बढेको र खुशीले गद्गद् भएको बताए । उनीहरूले आगामी दिनमा पनि राम्रो प्रदर्शनका लागि हौसला मिलेको प्रतिक्रिया दिए ।
उनीहरूका बुबा शेख सलामले पनि छोराहरूका कारण आफू निकै उत्साही भएको बताए । उनले दुवै छोरालाई देशको नाम अझ उचाइमा पुर्याउन आशीर्वाद दिए ।
कार्यक्रममा वडाध्यक्षहरू बैजुलाल स्वर्णकार, जगतसाह कानू, प्रदीप चौरसिया, सुरेश गुप्ता, वीरगंज महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलगायतको सहभागिता थियो । यसअघि आज सिमरा विमानस्थलमा क्रिकेटरद्वय शेख दाजुभाइलाई परिवारजन, शुभचिन्तक, क्रिकेटप्रेमी र स्थानीयहरूले भव्य स्वागत गरेका थिए ।