प्रस, वीरगंज, ५ चैत/
वीरगंज महानगरपालिका कार्यालयले चालू आवको आठ महीनामा २८ करोड ४७ लाख ५१ हजार २३४ रुपैयाँ राजस्व सङ्कलन गरेको महानगरका राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताएका छन् ।
चालू आव २०७९/८० को असारदेखि फागुन मसान्तसम्म महानगरले सबैभन्दा बढी सम्पत्तिकरबाट रु ११ करोड १२ लाख ३१ हजार १५० सङ्कलन गरेको प्रमुख कर्णले बताए ।
यसैगरी, घरबहाल करबाट रु चार करोड ५९ लाख २८ हजार ९९५, अखेटोपहरमा लाग्ने करबाट रु दुई करोड ३३ लाख ९० हजार ५४५, नक्शापास दस्तुरबाट रु दुई करोड १८ लाख ९६ हजार ४५२, सिफारिश दस्तुरबाट रु एक करोड सात लाख ११ हजार १५, अन्य सेवा शुल्कबाट रु एक करोड ७७ लाख ७९ हजार ९६५, सरकारी बहालबाट रु एक करोड २७ लाख ९० हजार ६६४, भूमिकर/मालपोतबाट ६२ लाख ६६ हजार ८१०, साना सवारीकरबाट रु १८ लाख ६६ हजार १३०, परीक्षा शुल्कबाट नौ लाख ५९ हजार १३०, प्रशासनिक दण्ड जरिवानाबाट रु २१ लाख आठ हजार ८४८, स्रोत बाँडफाँडबाट रु ३६ लाख २५ हजार ५००, पार्किङ शुल्कबाट एक लाख ९४ हजार ६६०, व्यक्तिगत घटना दस्तुरबाट रु २० लाख ३१ हजार ७२० र बेरुजू रु सात लाख १७ हजार ८३३ गरी चालू आवको आठ महीनामा महानगरले रु २८ करोड ४६ लाख ५१ हजार २६४ सङ्कलन गरेको उनले बताए । चालू आवमा महानगरले शुरूमा रु ४८ करोड आन्तरिक राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । भर्खर सम्पन्न नगरसभाले राजस्व सङ्कलनको लक्ष्यमा केही थप गरेको महाशाखा प्रमुख कर्णले बताए । उनले नगरसभाबाट बढेको थप राजस्वको जानकारी आइनसके पनि चालू आवमा लक्ष्य पूरा गर्नेगरी राजस्व सङ्कलन भइरहेको र सम्भवतः लक्ष्य पूरा गरिने दाबी गरे ।