प्रस, वीरगंज, ४ चैत/
नेपालको लोकतन्त्रको लडाइँमा शिक्षकहरूले खेलेको भूमिका सराहनीय रहेको कुरा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद रमेश रिजालले बताएका छन् ।
वीरगंजमा आयोजित ९ औं नेपाल शिक्षक सङ्घ पर्साको जिल्ला अधिवेशन उद्घाटन गर्दै सांसद रिजालले पर्सामा शिक्षकहरूले पटकपटकको आन्दोलनमा देखाएको परिणामस्वरूप देशमा परिवर्तन आएको बताए । लोकतन्त्रलाई स्थायित्व दिंदै अब शिक्षामा सुधारका लागि अभियान चलाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
पर्साका शिक्षकहरू आपसमा मिलीजुली शिक्षा सुधारको कार्यक्रम ल्याए सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षत्रीले पर्सामा शिक्षाको स्तर खस्किंदो अवस्थामा रहेको र त्यसमा सुधार गर्नु आवश्यक भएको बताए । स्थानीय तहमा शिक्षा आएपछि शिक्षाको स्तर कमजोर बन्दै गएकोले सुधारमा जोड दिनुपर्ने बताए । आफू वा प्रदेश सरकारबाट हुने सहयोग वा नीति नियमको लागि सक्दो पहल गर्ने बताए ।
‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, पेशागत हितका लागि नेपाल शिक्षक सङ्घमा आबद्धता’ मूल नाराका साथ सम्पन्न भेलाको सभापतित्व नेपाल शिक्षक सङ्घ पर्साका अध्यक्ष प्रदिप कुमार जैसवालले गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद शङ्करप्रसाद चौधरी, नेका जिल्ला उपाध्यक्ष रामनारायण कुर्मी, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली काङ्ग्रेसका नेता अशोक गुप्ता, सहसचिव नवीन सिंह, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, जीराभवानीका अनोज चौधरी, पटेर्वासुगौली गापाध्यक्ष दिनेश चौधरी, युवा नेता महम्मद साहबुद्दिनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका पालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक सङ्घका जिल्ला उपाध्यक्ष कोपिला कडेल चौरसिया तथा सञ्चालन अशोककुमार साहले गरेका थिए ।