प्रस, गरुडा, ४ चैत/

नेपालको मधेस प्रदेशमा इतिहास कायम गर्दै रौतहटमा लघुकथा कृति सार्वजनिक भएको छ । नेपालको इतिहासमा मधेस प्रदेशमा पहिलो लघुकथा कृति शनिवार सार्वजनिक भएको छ ।

लघुकथा समाज नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य गोपाल अश्कले रौतहटका लघुकथा नामक कृतिको लोकार्पण गरेका छन् । सिर्जना साहित्य समाज, रौतहटद्वारा प्रकाशित रौतहटका लघुकथा कृतिलाई अश्कले एक समारोहबीच शनिवार लोकार्पण गरेका हुन् ।

रौतहटको गरुडास्थित रेडियो मधेस मसला एफएमको प्रेक्षालयमा आयोजित कृति लोकार्पण समारोहमा कृति लोकार्पण गर्दै अश्कले लोकार्पित कृति रौतहटका लघुकथालाई मधेस प्रदेशको पहिलो लघुकथा कृतिको रूपमा बताएका छन् ।

नेपालमा लघुकथाको सैद्धान्तिक परिचय तथा इतिहास नै पहिलोपटक लेखेका अश्कले मधेस प्रदेशको पहिलो लघुकथा कृतिलाई सार्वजनिक गर्न पाउँदा आफूलाई हर्ष लागेको बताएका छन् । नेपाली लघुकथाले निकै फडको मारेको बताउँदै अश्कले नेपालको आख्यानमा द्वन्द्वको कमी रहेको स्पष्ट पार्दै लघुकथालाई चुटकिला हुनबाट जोगाउन  आग्रह गरे । नेपाली साहित्यमा मधेस प्रदेशको अत्यन्त ठूलो योगदान रहेको बताउँदै अश्कले लघुकथाको इतिहासको पनि अब शुरूआत भएको बताएका थिए ।

लघुकथा समाज नेपालका मधेस प्रदेश अध्यक्ष तथा समालोचक डा. विश्वम्भर शर्माले आयामको सङ्क्षिप्ततामा आरम्भ, उत्कर्ष र कलात्मक निष्कर्ष दिन सक्नु लघुकथाको चमत्कार भएको बताएका थिए । डा. शर्माले पनि मधेस प्रदेशको पहिलो लघुकथा कृतिको लोकार्पण गर्न पाएकोमा हर्ष व्यक्त गर्दै लघुकथाको क्षेत्रमा नयाँ इतिहास रौतहटबाट प्रारम्भ भएको बताए ।

लघुकथा दिवस मनाइरहँदा कार्यक्रममा लघुकथा वाचन गर्ने कथाकारहरूले पाँच–पाँच लघुकथा समेटेर सिर्जना साहित्य समाजमार्फत कृति प्रकाशित गरेका हुन् । रौतहटका लघुकथा नामक कृतिमा किशुनदयाल श्रीकृष्ण, केदार यादव, धनदेव जोशी, रेणु गुप्ता, सञ्जय साह ‘मित्र’ र जिसी हरिका लघुकथा सङ्कलित छन् ।

प्रत्येक लघुकथाकारका पाँच गरी तीस लघुकथा सङ्कलित कृतिको विमोचन कार्यक्रममा लघुकथाबारे राम्रै चर्चा चलेको थियो ।

सिर्जना साहित्य समाज, रौतहट र बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा पर्सा, बारा, रौतहट र सर्लाहीका साहित्यकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बालदेवप्रसाद साह, बिन्दा सहनी, बृजकिशोर यादव, शिवचन्द साह, विपिनबिहारी सिंह, मनमोहन सिंह मनोहर, सञ्जय सुदामा, रूबी गुप्ता, घनश्याम पन्त, कुमार चन्दन, गोपालशर्मा पौडेल, विजय यादव, राजेश महतो, सिकन्दर साह, विन्दुलाल राउत, कुन्दन यादव, शङ्कर यादव, धनदेव जोशी, किशुनदयाल श्रीकृष्ण, उपेन्द्र मिश्र, राजेन्द्र साह, सञ्जय साह मित्रले रचना र मन्तव्य व्यक्त गरेका थिए ।

साहित्यकार लम्बोदर काफ्लेले स्वागत गरेको कार्यक्रमको अध्यक्षता रेणु गुप्ताले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here