हेग, ४ कात्तिक/एएफपी
यहाँस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनीरूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।
आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रूसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी भएको बताएको छ । आइसिसी सदस्य देशका सरकारको सहयोगविना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकोले पुटिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।
मस्कोले आइसिसीको आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रूसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति भएका छन् ।
रूस आइसिसीको पक्ष राष्ट्र नभएकोले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा असर पर्न सक्छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएर विश्वका १२३ सदस्य राष्ट्रमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिने छ । आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् ।
युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकोमा स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलाई ऐतिहासिक निर्णय भन्दै स्वागत गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिड्ढो आगामी साता हुने मस्को भ्रमण तथा रूसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आइसिसीको आदेशले अन्तर्राष्ट्रिय जगतमा तरङ्ग पैदा गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रूसी समकक्षी पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकोमा स्वागत गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपतिले ‘न्यायसङ्गत’ भनेका छन् । अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट आफ्नो डेलावरस्थित निजी निवासतर्फ प्रस्थान गर्नु अघि उनले रूसी राष्ट्रपति पुटिनले ‘स्पष्टरूपमा युद्ध अपराध गरेको’ पत्रकारहरूलाई बताए ।
गत महीना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रूसले मानवताविरुद्ध अपराध गरेको आरोप लगाउँदै उसलाई दण्ड दिनुपर्ने बताएकी थिइन् । रूसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमणको आलोचना गर्दै उनले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकोमा रूसको निन्दा गरेकी थिइन् ।
त्यस अघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसँग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्ने कुरामा जोड दिंदै आएको थियो । रासस