प्रस, वीरगंज, २ चैत/
परवानीपुर गाउँपालिका–५ निवासी जनता समाजवादी पार्टी, बाराका अध्यक्ष अजय पटेललाई बारा प्रहरीले किर्ते गरेको भनेर झूटो मुद्दामा पक्राउ गरेको उनका परिवारजनले बताएका छन् ।
साबिक बारा, बहुअरी गाविस–६ कित्ता नं ४१ को पाँच बिघा ११ कट्ठा १५ धुर जग्गा पुस्तौंदेखि खनजोत गर्दै आएको र त्यसको कुत बाली पनि भूमिसुधार कार्यालय, बारामा तिर्दै आएको अवस्थामा अहिले सो जग्गामा मोही नभएको, किर्ते गरी मोही बनेको जस्ता आरोपमा अजय पटेललाई बारा प्रहरीले पक्राउ गरेकोमा अजयका दाइ भरत पटेलले आपत्ति जनाएका छन् ।
उनले काठमाडौं निवासी काशीनाथ आचार्य दीक्षितका छोरा विजय आचार्य दीक्षित जग्गाधनी भएको र सोबाहेक पनि वीरगंजमा दीक्षित परिवारको नाममा सयौं बिघा जग्गा रहेको उनले बताए । सोही जग्गामा अहिले भाटभटेनी निर्माण भइरहेको पटेलले बताए । उनले भाटभटेनी निर्माण भइरहेको जग्गामा आफ्नो पनि मोही रहेको बताएका छन् ।
उनले धेरै पहिलेदेखि बुबा मदनप्रसाद कुर्मीले मोहीबाट अंश पाएको जग्गा सिपर्दीलाई बिक्री गरेको र सोही जग्गामा सिपर्दीको शोरूम बनेको बताए । उनले अहिले भाटभटेनी निर्माण भइरहेको जग्गामा जमदार राउत, राधा राउत, रामऔतार यादवले मोहीबापतको नगद रकम लिएर मोही कट्टा भएर जग्गा फुकुवा भएर पास भएको भरत पटेलले बताए । उनले पुस्तौंदेखि आफूलगायत गाउँका धेरै व्यक्तिको मोही दीक्षित परिवारको जग्गामा रहेको तर अहिले आएर किर्ते गरेको कसूरमा भाइ अजयमाथि मात्र मुद्दा लगाइएकोमा राजनीतिक प्रतिशोध साँध्ने कार्य भएको आरोप लगाएका छन् ।
विवादको मुख्य कारण
जग्गाधनी विजयमणि आचार्य दीक्षितका दुई छोरा अभयमणि दीक्षित र अरुणमणि दीक्षितमध्ये जेठा अभयलाई अंश नदिएर अलग गरिएको थियो । पटेल तथा दीक्षित परिवारबीच वर्षौंदेखि पारिवारिक सम्बन्ध भएको र दीक्षित परिवारले अभयलाई अलग बनाएपछि पटेल परिवारले पुरानो सम्बन्धका कारण अभयलाई साथ दिएको थियो ।
यसैक्रममा दीक्षित परिवारले अभयलाई वीरगंजमा रहेको जग्गामध्ये तीन बिघा जग्गा अंशबापत दिएको थियो । त्यसै बखतदेखि दीक्षित र पटेल परिवारबीच विवाद चुलिएको बताइन्छ । विवाद बढेसँगै दीक्षित परिवारले मोहीबापतको कुत बुझ्न नमानेको र पटेल परिवारले २०७० सालदेखि भूमिसुधार कार्यालय, बारामा कुत बुझाउँदै आएको भरत पटेलले बताए । उनले कुत बुझाएको रसिद पनि देखाए । दीक्षित र पटेल परिवारबीच विवाद शुरू भएपछि यो जग्गा बिक्रीका लागि वीरगंजका दीपकमान श्रेष्ठसँग जग्गा बिक्रीको प्रक्रिया शुरू भएको थियो ।
तत्कालीन अवस्थामा प्रतिकट्ठा नौ लाख ५० हजारको दरले ११ बिघा जग्गाको रु २० करोडमा सम्झौता भएको र श्रेष्ठले दीक्षित परिवारलाई सोबापत पेश्की रकम पनि दिएको बताइन्छ । अहिलेसम्म श्रेष्ठबाट दीक्षित परिवारले रु तीन करोड ४५ लाख बैंकमार्फत लिइसकेको स्रोतले जनाएको छ । अहिले यो घटनामा अजय पटेल मात्र पक्राउ परेकोमा उनका परिवारजनले आपत्ति जनाएका छन् । मोही जग्गामा अजय पटेलसँगै चारै दाजुभाइको अंश रहेको तर त्यसको नेतृत्व अजयले गरेका कारण उनलाई मात्र पक्राउ गर्नु कानूनसम्मत नभएको दाइ भरतको जिकिर छ ।
जसपा बाराको पनि विरोध
जनता समाजवादी पार्टी, बाराले बिहीवार यस सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । जसपा बाराका निवर्तमान अध्यक्ष रामबाबू यादवले प्रहरीले अजय पटेलमाथि लगाएको किर्तेसम्बन्धी झूटो मुद्दा खारेजीको माग गरेका छन् ।
सो पार्टीले कसैको उक्साहटमा पार्टीका जिम्मेवार नेतामाथि झूटो आरोप लगाएर पक्राउ गर्नु कानूनविरुद्ध कार्य भएको बताउँदै मुद्दा खारेज गर्न माग गरे ।