गिद्ध प्रकृतिको कूचीकार हो । शिकारी चरा समूहमा पर्ने गिद्ध मांसहारी पक्षी हो । यिनले मरेका जनावरको सिनो तथा मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वातावरणलाई प्रदूषित, दुर्गन्धित हुनबाट जोगाउने र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । गिद्धले हानिकारक कीटाणुहरू भएका सडेगलेका सिनो खाएर पचाइदिन्छ । यसले जैविक विविधताको स्वस्थतामा ठूलो टेवा पुगेको छ । गिद्ध नहुने हो भने कैंयन सिनो यसै सड्नेछन् । सिनो सडेर दुर्गन्ध हुँदै वातावरण प्रदूषित तथा रोग फैलने त छँदैछ, त्यस सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा र झिंगाको सङ्ख्या वृद्धि हुन्छ । फलस्वरूप मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखाला, बान्ता आदिलगायतका घातक सरुवा रोगहरू फैलिन सक्छन् । यसले पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस, क्षयरोगलगायतका सङ्क्रामक रोगको महामारी फैलन सक्छ । गिद्ध पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्वको पक्षी पनि हो । हिन्दू धर्ममा गिद्धलाई शनि देवताको वहानको रूपमा पुजिन्छ । त्यसैगरी, मुलुकको हिमाली क्षेत्रमा लामा समुदायले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुराउने दूतका रूपमा पुज्ने गर्छ ।
वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणकर्ता, धार्मिक र सांस्कृतिक आस्थाको धरोहरका अलावा आज्ञाकारी, स्वामीभक्त पक्षीको रूपमा पनि गिद्धको पहिचान छ । जल तथा समुद्र क्षेत्रका आदिवासी समुदायले गिद्ध पालेर माछाको शिकार गरिरहेका छन् । चीनको हिमाली क्षेत्रका बासिन्दाले जङ्गली जनावरको शिकारमा गिद्धको प्रयोग गरेको पाइन्छ । कतिपय मुलुकमा सौखिन व्यक्तिहरूले गिद्ध पाल्ने गरेका छन् । संसारभर २३ प्रजातिका गिद्ध फेला परेका छन् । सोमध्ये हाम्रो मुलुकमा नौ प्रजातिका गिद्ध पाइएका छन् । मानिसभन्दा आठ गुणा टाढासम्म देख्न सक्ने गिद्ध सिनोको खोजीमा दैनिक तीन सय किमी टाढासम्म उड्छ । चरा पर्यटनका लागि गिद्ध आकर्षणको केन्द्र हो । हाम्रो मुलुकमा बाहिरबाट आउने कुल पर्यटकमध्ये आठ प्रतिशत चरा पर्यटक छन् । अन्य पर्यटकले भन्दा चरा पर्यटकले छ गुणासम्म बढी खर्च गर्ने गरेको पाइएको छ । गिद्धलगायतका पक्षीले मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण टेवा पुर्याइरहेको छ ।
आजभन्दा तीन दशक पहिलेसम्म दक्षिण एशियामा करोडौं र नेपालमा लाखौंका सङ्ख्यामा गिद्ध पाइन्थ्यो । यो सङ्ख्या ९५ प्रतिशतले घटेर आज केही हजारमा सीमित हुन पुगेको छ । हाल नेपालमा सबै प्रजातिका गिद्धको कुल सङ्ख्या २० हजारको हाराहारी रहेको अनुमान छ । पछिल्लोपटक गिद्ध संरक्षणमा मुलुकले सफलता हासिल गरिरहेको र नाम उँचो पारिरहेको बेला लगातार अप्रिय घटनाहरू भइरहेका छन् । बितेको वर्ष विष खुवाएर मारिएको कुकुरको सिनो खाएर नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा ६४ वटा गिद्ध मरेका थिए । यस वर्ष पनि पूर्वी नवलपरासीको कावासोतीमा विष खाई मरेको स्यालको सिनो खाएर छवटा गिद्ध मरिसकेका छन् । अन्यको उपचार चलिरहेको छ । गिद्ध लोप हुनुको प्रमुख कारण नै औषधि खुवाइएको सिनो हो । चौपायालाई खुवाउने डाइक्लोफेनेक औषधिले गिद्धको अस्तित्व धरापमा पु¥याइरहेको अवस्थामा विषादी खाएको सिनो डरलाग्दो कुरा हो । घटनाले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको शिर निहुरिने काम भएको छ । यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ र सत्यतथ्य छानबीन गरी दोषीमाथि कडा कानूनी कारबाई हुनुपर्छ ।