प्रस, निजगढ, २७ फागुन/

डिभिजन वन कार्यालय, बाराले कोल्हवी नगरपालिका वडा नंं ५ का अध्यक्ष नन्दकिशोर चौधरीलाई शनिवार पक्राउ गरेको छ । सोही वडाको रामवनस्थित राष्ट्रिय वन क्षेत्रको साढे पाँच हेक्टर वन क्षेत्रमा तारबार गरी लगाइएको टिक, मसलालगायत अन्य प्रजातिका करीब नौ हजार बोटबिरुवा, लाथ्रा काटी र तारबारलाई भाँची क्षति पुर्याउने कार्यमा संलग्नता रहेको भन्दै वडाध्यक्ष चौधरीलाई रामवनस्थित घटनास्थलबाट बिहान १० बजे पक्राउ गरी सिमरास्थित डिभिजन वन कार्यालय लगिएको छ ।

आज बिहान रामवनस्थित वृक्षारोपण हानिनोक्सानी गरिएको क्षेत्रको स्थलगत निरीक्षणमा बाराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला वन सुरक्षा समन्वयका अध्यक्ष नवराज सापकोटा नेतृत्वको टोली गएको हो । टोलीमा मधेस प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवाल, डिभिजन वन कार्यालय, बाराका प्रमुख एवं डिएफओ विनोद सिंह, कोल्हवी नपाका प्रमुख रामप्रसाद चौधरी, बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुरुषोत्तम पाण्डे, सशस्त्र प्रहरी सुरक्षा गण प्रमुख तोपबहादुर डाङ्गी, राष्ट्रिय अनुसन्धान कार्यालय, बाराका प्रमुख अभिनय सिंह, मातहतका कार्यालयका प्रमुख एवं प्रतिनिधि, सशस्त्र वनरक्षक, वनरक्षक, वन कर्मचारी सहभागी थिए ।

घटनास्थलको निरीक्षण गरी वन क्षेत्रमा हानिनोक्सानी गर्ने कार्यमा जोकोही संलग्न भएको पाइएमा तुरुन्तै पक्राउ गरी कानूनी कारबाही अघि बढाउने जिल्लास्थित सुरक्षा निकाय र सम्बन्धित कार्यालयलाई प्रजिअ सापकोटाले घटनास्थलमैं निर्देशन दिएका थिए । उनले वन क्षेत्र अतिक्रमण गरी घर, टहरा, खनजोत, खेतीपाती गरेर बसेकाहरूको नामावली, अतिक्रमित वनको जमीनको रेकर्ड केही दिनमैं उपलब्ध गराउनसमेत डिभिजन वन कार्यालय, बारालाई निर्देशन दिए ।

वडाध्यक्ष चौधरीलाई घटनास्थलमा आउन बारम्बार सम्पर्क गर्दा उनले वन कर्मचारीलाई वडा कार्यालयमैं आउन जवाफ फर्काएका थिए । प्रजिअ नै घटनास्थलमा आएको जानकारी पाएपछि उनी अबेर गरी आएका थिए । स्थानीयलाई उक्साइ वृक्षारोपण क्षेत्रमा हानिनोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको भन्दै वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका प्रमुख सिंहले बताए ।     

वन क्षेत्रको बोटबिरुवा र लाथ्रा काटी, तारबार भाँची क्षति पुर्याउने कार्य सार्है निन्दनीय भएकोले संलग्नको पहिचान गरी यथाशीघ्र पक्राउ गरी कानूनी कारबाही गर्न निर्देशन दिएको मधेस प्रदेश वन निर्देशक जयसवालले बताए ।

बारामा वन अतिक्रमणको अवस्था निकै भयावह रहेको बताउँदै जोसुकैको संलग्नता भेटिए वन ऐन अनुसार तुरुन्तै पक्राउ गरी कानूनी कारबाही गर्ने वन प्रमुख सिंहले सञ्चारकर्मीहरूलाई बताए ।

वडाध्यक्ष चौधरीको संलग्नता देखिएकोले उनलाई पक्राउ पुर्जीसमेत जारी गरिएको वन कार्यालयले जनाएको छ । विगतका वर्षमा अतिक्रमण गरिएका राष्ट्रिय वन क्षेत्रलाई तीन वर्षअघि पुनः वन क्षेत्रमा नै फर्काइ साढे पाँच हेक्टर वन क्षेत्रमा वन कार्यालयले वृक्षारोपण गरेको थियो । उक्त घटना यही फागुन २३ गते मङ्गलवार राति भएको थियो । सो घटनामा संलग्न अन्यलाई चाँडै पक्राउ गर्ने पनि वन कार्यालय, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here