प्रस, सेढवा २७ फागुन/

पर्साको थरुहट क्षेत्रमा सामाजिक उत्तरदायित्व पूरा गर्ने तथा एकअर्कालाई सहयोग गर्ने क्रियाकलाप बढेको छ । यस क्षेत्रका थारू समुदाय तथा अन्य समुदायमा एकअर्कालाई आर्थिक तथा सामाजिक सहयोग गर्ने वातावरणको राम्रो विकास भएको छ ।

सङ्कटमा परेका तथा दुःख परेका बेला एकापसमा सहयोग लिनुदिनुका साथै सामाजिक रीतिरिवाजका भोजभतेर तथा अन्य कार्यक्रममा समेत सहयोग आदानप्रदान गर्ने गरिन्छ ।

जीराभवानी गाउँपालिका वडा नं २ का अध्यक्ष महादेव महतो थारूका अनुसार विशेषगरी थारू समुदायमा वैवाहिक कार्यक्रम तथा काजकिरियाका लागि २० देखि ३० परिवारको एउटा समूह नै बनाइएको छ । समूहका सदस्यहरूले वैवाहिक कार्यक्रम तथा काजकिरियामा  खानाको व्यवस्थापन, निम्तो बाँड्नेलगायतका अन्य काममा सहयोग गर्ने नियम बनाएका छन् र परिधिभित्र रही सम्पूर्ण सदस्यले कार्य गर्नुपर्ने वडाध्यक्ष थारूले बताए । आयोजित कार्यक्रम सफल बनाउन आलोपालो गरी कामका जिम्मेवारीसमेत तोकिएका हुन्छन्, वडाध्यक्ष थारूले भने । कार्यक्रममा आउने पाहुनाहरूलाई खाने, बस्ने व्यवस्थापनका लागि समूहका सम्पूर्ण सदस्यको अनिवार्य उपस्थिति हुनुपर्ने नियम बनाइएको वडाध्यक्ष थारूले बताए ।

यस क्षेत्रका परिवारको  सुख तथा दुःखमा आयोजना हुने भोजभतेरमा समुदायको बराबरी सहभागिता रहने गर्छ । भोजभतेरका लागि खाद्यान्न, रकमलगायत अन्य आवश्यकताका सामान पनि समाजबाट सजिलै पूर्ति हुने गर्छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नं ४ का प्रमोद चौधरीले हुँदा खाने परिवारका सदस्यको विवाहमा समुदायबाट हरेक सामानको व्यवस्थापन गरी बिहे गराउने चलन रहेका बताए । बिहेमा आवश्यक चामल, दाल, तरकारी, मसला, नून, तेल, भाँडाबर्तन, माछा, मासुका लागि खसीसमेत दिएर सहयोग गर्ने गरेका वडाध्यक्ष चौधरीले बताए । दाइजोस्वरूप दुलहा पक्षलाई प्रदान गरिने  पङ्खा, दराज, फर्निचर, टेलिभिजन, वाशिङ मेशिन, सुनको सिक्री तथा औंठीसमेत दिएर सहयोग गर्ने गरिएको चौधरीले बताए । सोबापत सहयोग गर्नेको घरमा बिहेबारी वा मरणहरण परेमा उसले जजसलाई जे सहयोग गरेको छ, उनीहरूले पनि सोही सहयोग गर्ने नियम रहेको वडाध्यक्ष चौधरीले बताए ।

यसरी एकापसमा सहयोग आदानप्रदान गर्दा कुनै एक परिवारमा हुन लागेको कार्यक्रममा समुदायका अन्य  परिवारमा समेत आर्थिक चाप बढेको पाइएको छ ।

आफूले पाएको सहयोग समुदायको कुनै एक परिवारको कार्यक्रममा उसले सहयोग गरेको जत्तिकै परिमाणमा जति वर्ष बिते पनि फिर्ता गर्ने चलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here