- विश्वराज अधिकारी
पटलक
अमेरिकी चलन ‘पटलक’ (उयतगिअप) को अर्थ हो, साझा खाना खाने व्यवस्था । यो व्यवस्था अनुसार विभिन्न व्यक्तिहरू एक तोकिएको स्थान (निवास, पिकनिक स्थल, सार्वजनिक स्थान आदि)मा दिउँसो वा साँझको खाना खान जम्मा हुन्छन् । यसरी जम्मा हुने व्यक्ति वा परिवार प्रत्येकले, आफूले केही खानेकुरा (पकाएर वा तयारी अवस्थाको) जम्मा हुने स्थलमा लग्ने गर्छन् र सबै मिलेर, सबैको घरबाट ल्याइएका अनेक किसिमका खानेकुराहरू खान्छन् । सबैले मिलेर रमाइलो गर्छन् तर त्यो रमाइलोको आर्थिक बोझ उपस्थित सबैले बाँड्ने उद्देश्य राख्छन् । किनभने त्यस्तो भोज वा पटलकमा उपस्थित हुने सबैले अनिवार्यरूपमा केही खानेकुरा अवश्य लग्ने गर्छन् । एकजना व्यक्ति वा परिवारले सबैको खानाको खर्च बेहोर्नुपर्ने स्थिति हुँदैन ।
कुनै एक व्यक्ति वा परिवारले उपस्थित सबैको खाना खर्च बेहोर्नु नपर्ने र उपस्थित सबैले खर्च एक आपसमा बाँड्नुपर्ने भएकोले यस्तो भोज व्यवस्था सहज त हुन्छ नै, ज्यादै खर्चिलो पनि हुँदैन । उपस्थित सबैलाई एक व्यक्ति वा परिवारले ख्वाउनुपर्ने स्थितिमा त्यस्तो गर्ने व्यक्ति वा परिवारको खाना पकाउन समय र पैसा बढी खर्च हुने स्थिति पटलकमा हुँदैन । आर्थिक बोझको हिसाबले र लागत कुशल भएकोले अमरिकी पटलक चलन अहिले अमेरिकामा मात्र नभएर संसारका अनेक मुलुकमा पुगेको छ । नेपालमा पनि यो चलनलाई विभिन्न व्यक्ति वा परिवारले प्रयोगमा ल्याएको पाइन्छ ।
केवल एक व्यक्ति वा परिवारले नै भोजमा उपस्थित सबैलाई ख्वाउनुपर्ने व्यवस्था भएमा उपस्थित सबैले एकै किसिमको खाना खानुपर्ने हुन्छ किनभने खाना ख्वाउनेले सबैको लागि केवल एक किसिमका वा एकै स्वादका र एकै किसिमको सीप प्रयोग गरेर खानेकुराहरू तयार पारेको हुन्छ । स्वादमा अनेकता वा विविधता हुँदैन । तर पटलकमा उपस्थिति हुने सबैले आआफ्नो सीप अनुसार खाना तयार पार्ने हुनाले खानामा विविधता त हुन्छ नै, खानाको स्वादमा पनि विविधता हुन्छ । उदहारणका लागि यदि कुनै पटलकमा तीसजना सहभागी हुने व्यवस्था मिलाइएको छ भने उपस्थित सबैले तीस किसिमको सीप प्रयोग गरेर खाना तयार पार्छन् । र यसरी तीस किसिमको खाने खान पाउने अवस्था सृजना हुन्छ ।
पटलकमा उपस्थित हुनेहरू परस्पर छलफल गरेर वा कुनै एकजनालाई पटलक–आयोजक वा सहजकर्ता तोकिदिएर सो आयोजकको निर्देशन अनुसार कसले के खाने कुरा पकाउने भनी निर्धारण गर्छन् । प्रायः एकजना सहभागीलाई एक किसिमको खाना तोकिएको हुन्छ । र सोही अनुसार खानेकुराको परिमाण पनि मोटामोटी तोकिएको हुन्छ ।
पटलक भोज समाप्त भएपछि, बाँकी रहेको खानाको व्यवस्थापन कसरी गर्ने भन्ने तरीका पनि रोचक छ । पटलकमा उपस्थित हुने प्रत्येक व्यक्तिले वा खाना ल्याउने व्यक्तिले आफूले ल्याएको खाना सबैले खाएर उब्रिएको छ भने सो उब्रिएको खाना जसले ल्याएको हो उसैले आफ्नो घर फिर्ता लग्ने चलन छ । अरूले ल्याएको खाने कुरा उब्रिएको छ र अन्य कसैलाई लग्न मन छ भने त्यसरी मन गर्ने व्यक्तिले जसले खाना ल्याएको हो उसको अनुमति लिएर खाना आफ्नो घर लग्न सक्छ । खाना सँगै खाएर भोज स्थल पनि सबै मिलेर सफा सुग्घर गर्ने गरिन्छ ।
पटलक अङ्ग्रेजी परम्परा भए पनि सन् १९३० पछि यो परम्पराको प्रयोग अमेरिकामा व्यापकरूपमा भयो । पटलक अहिले अमेरिकी संस्कृतिको एक अभिन्न अङ्ग हुन पुगेको छ ।
पैसा, श्रम र साधन सबै मिलेर खर्च गर्दै, केवल एजनालाई मात्र दुःख नहोस् भन्ने उद्देश्य राखी विभिन्न व्यक्ति उत्साहपूर्वक सहभागी भई गरिने पटलक भोज आफैंमा एउटा प्रगतिशील चलन हुन पुगेको छ ।