मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । यसअघि एक कार्यकाल नेपाली काङ्ग्रेसको तर्फबाट रामवरण यादव र दुई कार्यकाल एमालेको तर्फबाट विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका छन् । राष्ट्रपति पदमा पुग्ने हालसम्मका नेताहरूमध्ये पौडेल अनुभवी र पाका मानिन्छन् । ७८ वर्षीय पौडेल छ दशकभन्दा लामो अवधिदेखि राजनीतिमा सक्रिय छन् । पटक–पटक गरी १५ वर्ष जेलजीवन बिताइसकेका उनले सरकारको मन्त्री, उपप्रधानमन्त्री र सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् भने पार्टी सङ्गठनमा नेपाली काङ्ग्रेसको उपसभापति र कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका छन् । नेपाली साहित्यमा एमए र संस्कृत साहित्यमा शास्त्री गरेका पौडेल राम्रा लेखक पनि हुन् । पार्टीको लागि उनी १७ पटकसम्म चुनाव हार्न तयार भएका थिए । त्यस बेलाको संवैधानिक व्यवस्था र अङ्कगणित अनुसार तत्कालीन एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्रीमा जित्ने स्पष्ट थियो । फेरि पनि पौडेल पार्टीको तर्फबाट उम्मेदवार बनिरहे । त्यति बेला काङ्ग्रेसले एमालेलाई स्वतः समर्थन गरेर मुलुकलाई प्रतिपक्षीविहीन बनाउनुभन्दा कडा प्रतिस्पर्धाका साथ प्रतिपक्षमा बस्नु धर्म ठानेको थियो ।

संविधानतः मुलुकको राष्ट्रपति पद सबैभन्दा गरिमामय सर्वोच्च ओहोदा र अभिभावकीय जिम्मेवारीको पद हो । चर्चित गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले राष्ट्रपतिको चुनाव लडेका थिए । जनान्दोलन २०४६ का कमान्डर स्व गणेशमान सिंहको पनि राष्ट्रपति बन्ने चाहना थियो । त्यसैगरी, माओवादीसँग भएको १२ बुँदे सहमतिताका गिरिजाप्रसाद कोइरालाको राष्ट्रपतिमा चाह देखिएकै हो । छापामार युद्ध लडेर आएका प्रचण्डलाई राष्ट्रपतिको रूपमा चुनावी पर्चामा समेत उतारिएको हो । उनी राष्ट्रपति बन्नु नबन्नुका कारणहरू आआफ्नै ठाउँमा छन् । जेहोस्, संविधानको संरक्षक नै राष्ट्रपति हुने भएकोले कानूनी शासन, संविधानवाद साथै नागरिकप्रति जवाफदेह सरकारको लागि राष्ट्रपतिको भूमिका महत्वपूर्ण छ र हुनु पनि पर्छ ।

राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्छ भन्ने दोधारमा मुलुक छ । कार्यकारी राष्ट्रपति र सेरेमोनियल राष्ट्रपति दुई धार पहिलेदेखि चल्दै आएको हो । संविधानले सेरेमोनियल राष्ट्रपतिको व्यवस्था गरेपछि पनि सेरोमोनियल राष्ट्रपतिको भूमिका कस्तो हुने भन्नेमा विवाद छ । राष्ट्रपति सरकारको रबर स्टाम्पको रूपमा मात्रै रहने कि, त्यसभन्दा ठूलो जिम्मेवारी पनि छ ? यही कुराले मुलुकका राष्ट्रपतिहरू विवादमा पर्ने गरेका छन् । प्रथम राष्ट्रपति डा रामवरण यादव प्रधानसेनापति बर्खास्तसम्बन्धी तत्कालीन प्रधानमन्त्री प्रचण्डको निर्णय रोकेर विवादमा परे । दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी संसद् विघटन र मध्यावधि निर्वाचनसम्बन्धी केपी ओली नेतृत्व सरकारको निर्णय सदर गरेर विवादमा परिन् । त्यसपछि देउवा सरकारको नागरिकता विधेयक रोकेर झन् विवादमा तानिइन् । नरोकेको भएपनि अझ विवाद निश्चित थियो । राष्ट्रपतिले गर्नुपर्ने चाहिं के हो ? रबर स्टाम्प कि संविधानको संरक्षण ? सबैभन्दा पहिले यो मुलुकका राजनीतिक दलहरू स्पष्ट हुनु जरुरी छ । अन्यथा नयाँ राष्ट्रपति पनि राजनीतिक विवादमा पर्ने आशङ्का विद्यमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here