८ मार्चको दिन नारी दिवस मनाइयो । समाजका विभिन्न क्षेत्र तथा तह र तप्कामा नारी दिवसलाई विशेष प्राथमिकता दिइयो । ८ मार्चको दिनलाई विश्व नारी दिवस मानिए पनि यस उपलक्ष्यमा मार्च महीनाभरि नै विभिन्न कार्यक्रम सम्पन्न गरिने अन्तर्राष्ट्रिय चलन बनेको छ । यस वर्ष ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । यस उपलक्ष्यमा वीरगंज महानगरपालिकालगायत प्रदेश राजधानी जनकपुर र अन्य जिल्लाहरूमा पनि विभिन्न कार्यक्रम सम्पन्न भए । विश्वमा महिला हकअधिकारको माग गर्दै भएको आन्दोलन तथा महिला हकअधिकारको सङ्घर्षको दिनको रूपमा ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवस अर्थात् विश्व नारी दिवसको रूपमा मनाउने गरिएको हो । अमेरिकास्थित शिकागो शहरको एउटा कारखानामा महिला र पुरुष मजदूरबीच ज्यालामा विभेद रहेको विषयलाई लिएर भएको महिला आन्दोलन, सङ्गठित महिला आन्दोलनको ऐतिहासिक दिन थियो । महिलाउपर हुने असमानता तथा विभेद हटाइ ज्याला समान हुनुपर्छ भन्ने मागबाट आन्दोलन शुरू भएको थियो । सन् १९०८ मार्च ८ को दिन शिकागो शहरमा महिला मजदूरहरूको विशाल जुलुससहित समानताको आन्दोलन शुरू भएको हो । महिला अधिकारको सम्बन्धमा यसले विश्वव्यापीरूपमा हलचल पैदा गर्यो ।
सन् १९१० मा कोपेहेगनमा सम्पन्न महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनीका माक्र्सवादी नेत्री क्लारा जेटकिनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउनुपर्ने प्रस्ताव राखिन् । सो प्रस्ताव पारित भएपछि सन् १९११ देखि ८ मार्चलाई विश्वभरिका महिलाहरूले दिवसको रूपमा मनाउन थालेका हुन् । आज यो दिवस संसारभरका पूँजीवादी महिलाहरूले समेत मनाउने गरेका छन् । यस दिनलाई महिला अधिकार, सशक्तीकरण र समानताको विशेष दिनको रूपमा लिइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि पारित गर्यो । उक्त महासन्धिले लिङ्गको आधारमा सबै प्रकारको भेदभावलाई दण्डनीय भनी स्वीकार गरेको छ । त्यस्तै, सन् १९९५ को सेप्टेम्बरमा चीनको राजधानी बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनले महिला अधिकारका १२ बुँदे रणनीति सार्वजनिक गर्यो । हाम्रो मुलुक नेपाल महासन्धि र १२ बुँदे रणनीतिको पक्ष राष्ट्र हो ।
हाम्रो मुलुकमा पनि विभिन्न कालखण्डमा महिला मुक्तिका आन्दोलन चलेका छन् । यति हुँदाहुँदै पनि अझै हाम्रो समाजमा महिला उत्पीडन भयावह अवस्थामा छ । संविधान र नियम कानूनले महिला र पुरुष बराबर भने पनि भूगोल, सामाजिक परम्परा, सांस्कृतिकलगायत धेरै प्रकारका भेदभाव र असमानता कायमै छन् । बालिकादेखि वृद्धासम्म बलात्कृत भएका र घरेलु हिंसाको शिकार हुनुपरेका समाचारहरू प्रायः आइरहेकै छन् । घाँस, दाउरा र चुल्होचौकोमा सीमित गराइँदै विभिन्न खाले थिचोमिचो र सामाजिक असुरक्षाको गुनासो पनि हटेको छैन । त्यसैगरी, बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने, किशोरीहरूमाथि तेजाब हाल्नेजस्ता जघन्य अपराधका घटना हाम्रैसामु छन् । राष्ट्रपतिको ओहोदासम्म महिला पुगिसक्दा पनि नेपाली महिलाको अवस्थामा परिवर्तन आएको छैन । यसर्थ दिवसका लागि मात्र दिवस मनाउने होइन, समस्या पहिचान, निराकरण, नीति निर्माण र कार्यान्वयन गर्ने महीनाको रूपमा मार्च महीनालाई स्मरणीय बनाउनुपर्छ ।