प्रस, परवानीपुर, २१ फागुन/
देशमा आर्थिक तरलता रहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय, पर्साको बक्यौता हरेक वर्ष बढ्दै गएको छ । चालू आव २०७९/८० मा आन्तरिक राजस्व कार्यालय, पर्साको बक्यौता दुई अर्ब ११ करोड रहेको कार्यालयकी निमित्त प्रमुख पुनीता झाले बताइन् ।
कार्यालयले आयकरतर्फ एक अर्ब ६५ करोड उठाउन बाँकी छ भने मूल्य अभिवृद्धि करतर्फ ६६ करोड बक्यौता रहेको उनले जानकारी गराइन् । आयकरतर्फ ८१९ जना करदाताबाट एक अर्ब ६५ करोड र मूअकरतर्फ ४४९ जना करदाताबाट ६६ करोड गरी दुई अर्ब ११ करोड बक्यौता उठाउन बाँकी रहेको उनले बताइन् ।
हरेक वर्ष आयकरतर्फ १५ प्रतिशत तथा मूअकरतर्फ थप दस्तुर १० प्रतिशत र ब्याज १५ प्रतिशत गरी २५ प्रतिशतले वृद्धि हुँदै गएपछि हरेक वर्ष बक्यौता रकम करोडौंले वृद्धि हुँदै गएको पनि उनले बताइन् । आयकरतर्फ माघ मसान्ततर्फ पान नम्बरविनाको बक्यौता ३० करोड, उठ्न नसक्ने जटिल प्रकृतिको कर २४ करोड र मुद्दा चलिरहेको ५८ करोड बाँकी रहेको उनले खुलाइन् ।
पान नम्बरविनाको बक्यौता भनेको २०५८ सालपहिले आन्तरिक राजस्व कार्यालयमा दर्ता मात्र भएर सञ्चालन भएका व्यावसायिक फर्महरूको ३० करोड बाँकी रहेको तथा चिनीमिल, कृषि औजार एवं नेपाली नागरिकको नाममा फर्म दर्ता गरेर फरार भएका भारतीयहरूको करलाई उठ्न नसक्ने गरी जटिल प्रकृतिको २४ करोड बक्यौता रहेको उनले प्रस्ट पारिन् ।
बक्यौता उठाउन आन्तरिक राजस्व कार्यालयले पछिल्लो समय पत्र काटेर ताकेता गरिरहेको उनले बताउँदै चालू आवमा मूअकरतर्फ ३५ र आयकरतर्फ २१ गरी कुल ५६ जना करदातालाई पत्राचार गरिएको उनले बताइन् । मूअकरतर्फ पाँच लाखसम्म र आयकरतर्फ एक लाखसम्म बक्यौता राखेका करदातालाई उनले पत्र काटेको बताउँदै मूअकरतर्फ तीन करोड ६१ लाख र आयकरतर्फ २२ करोड १६ लाख कुल २५ करोड ७७ लाख बक्यौता उठाउन चालू आवमा ताकेता गरिएको बताइन् । यी फर्महरू विगतमा कारबाईमा नपरेका र खाता रोक्का नभएका व्यवसायी फर्महरू भएका उनले जानकारी गराइन् ।
देशमा आर्थिक तरलताका कारण करचुक्ता नगर्ने व्यवसायीहरूको सङ्ख्यामा वृद्धि भइरहेको आन्तरिक राजस्व कार्यालयको अध्ययनले देखाएको उनले जिकिर गरिन् ।